+
+

बटेश्वरका जनप्रतिनिधिको समृद्ध पालिका बनाउने प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २ गते ८:०२

२ मंसिर, जनकपुरधाम । जनताको चाहना र आवश्यक्ता अनुसार विकासको काम गरेर बटेश्वर गाउँपालिका समृद्ध बनाउने जनप्रतिनिधिहरुले प्रतिबद्धता गरेका छन् ।

बटेश्वर युवा संजालले शुक्रबार आयोजना गरेको ‘बटेश्वर मन्थन’ कार्यक्रममा सवाल जवाफमा पालिका अध्यक्षलगायत जनप्रतिनिधिले पालिका समृद्धिको लागि कृषि, शिक्षा, स्वास्थ्यलाई विशेष जोड दिने प्रतिबद्धता गरेका हुन् ।

पालिका अध्यक्ष रामअशिष महतोले सामुदायिक विद्यालयहरुमा शिक्षक अभाव तथा अपरादर्शिताको कारण धारासायी भएकाले त्यतातर्फ काम गरिरहेको बताए ।

‘दरबन्दी अनुसार शिक्षक नहुँदा र मनपरी तरिकाले शिक्षक भर्नाको राजनीतिले पठनपाठन भद्रगोल थियो । स्कुलहरुले पालिकालाई हिसाब दिन मानेको छैनन् । अब दरबन्दी अनुसारको शिक्षकको पदपूर्ति गरेर सुधार गर्छौ’ उनले भने ।

स्वास्थ्य चौकीमा नागरिकले निःशुल्क पाउनुपर्ने औषधी सकेसम्म उपलब्ध गराउने गरेको उनको दाबी छ । कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन सिँचाइ तथा विद्युतीकरणको काम गरिरहेको बताउँदै उनले अगामी तीन वर्षमा शिक्षा र कृषिमा देखिएका समस्या निदान गर्ने उनले प्रतिबद्धता गरे ।

वडा नं. १ का वडाध्यक्ष अशोककुमार महतोले कृषि क्षेत्रमा जंगली जानवरको आतंकले हुने क्षति नियन्त्रण गर्न उपायको खोजीमा रहेको बताए ।

आगामी दिनमा कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामै राखेर बजेट विनियोजन गरी काम गर्ने उनले प्रतिबद्धता जनाए ।

वडा नं. २ का वडाध्यक्ष विजयकुमार महतोले पछिल्लो समय लागुऔषध सेवनमा लागेर कुलतमा फस्ने युवाहरुको संख्या बढ्नु चिन्ताको विषय रहेको बताए ।

रोकथामको लागि सचेतनामूलक कार्यक्रम विद्यालयदेखि समुदायसम्म गर्नुपर्ने योजना बनाउने उनको भनाइ थियो ।

वडा नं. ३ का वडाध्यक्ष राममणि कुशवाहाले पालिकालाई समृद्ध बनाउन सबैभन्दा पहिले जनप्रतिनिधि इमान्दार हुनु पर्ने धारणा राखे ।

वडा नं. ४ का वडाध्यक्ष निरज कार्कीले शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गरे ।

विगतमा आफ्नो वडामा देखिएका शिक्षा क्षेत्रको व्यतिथि आगामी दिनमा निराकरण गर्दै अघि बढ्ने उनले प्रतिबद्धता जनाए ।

वडा नं. ५ का वडाध्यक्ष शिवकरण यादवले आफ्नो वडामा सबभन्दा बढी सीमान्तकृत तथा दलित समुदायको बसोबास रहेकाले उनीहरुको जीवनस्तर उकास्ने तर्फ लाग्ने बताए ।

बालबालिका पढाइ छाड्दा अभिभावकले वास्ता नगरेकाले सचेतनामूलक कार्यक्रम गरी जागरुक बनाउने उनको भनाइ छ ।

पालिकाका वुद्धिजीवी नागरिकसंग सहकार्य गरेर गुरु योजना बनाए मात्रै पालिका समृद्ध हुने उनले बताए ।

बटेश्वर मन्थन कार्यक्रममा छुट्टा छुट्टै तीनवटा सत्रमा जनप्रतिनिधि तथा एउटा सत्रमा पालिका भित्रकै शिक्षा, स्वास्थ्य र राजनीतिक क्षेत्रका वुद्धिजिवीसंग बहस गरिएको थियो । कार्यक्रममा सहभागी नागरिकहरुले आफ्ना जनप्रतिनिधिसित सवालजवाफ गरेका थिए ।

दीपावली तथा छठपर्वको अवसरमा संजालले आयोजन गरेको बटेश्वर मन्थनका साथै रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, रगत समूह परीक्षणसमेत आयोजन गरेको थियो ।

संजालका संयोजक सारोजकुमार महतोका अनुसार ४२ जनाले रक्तदान गरेका छन् । निःशुल्क स्वास्थय शिविरमा ९५ जनाले स्वास्थय लाभ लिएको संजालका सल्लाहकार रामवरण महतोले जानकारी दिए । यस्तै १०५ जनाले रक्तसमूह परीक्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?