
३ मंसिर, अहमदावाद । भारत र अस्ट्रेलिया विश्वकप क्रिकेट २०२३ को फाइनलमा आइतबार भिड्दै छन् । प्रतियोगिताकै दुई उत्कृष्ट टिम हुन्, उनीहरू । जहाँ भारत तेस्रो पल्ट विश्वकप जित्न चाहन्छ, त्यहीं अस्ट्रेलिया कीर्तिमान छैटौं पल्ट विश्वकप जित्न चाहन्छ ।
यो दुई उत्कृष्ट टिमबीचको उत्तिकै अब्बल दर्जाको खेल हुने निश्चित छ । ठ्याक्कै भन्दा ‘ब्लकबस्टर’ खेल । यही खेलमा त्यस्ता तीन मोड पनि हुनेछन्, जसले सम्भावित विजेताको छिनोफानो हुनेछ । यी सम्भावित मोड हुन्–
१. आक्रामक प्रस्तुति
भारतीय कप्तान रोहित शर्माले आफ्नो टिमलाई खुबै आक्रमक बनाएका छन् र त्यसको सुरुआत आफैले गरिरहेका छन्, ओपनरका रूपमा । विराट कोहली र श्रेयस अय्यर पनि धेरै पछाडि छैनन् । दुवैले न्युजिल्यान्डविरुद्ध आ-आफ्नो शतक पूरा गरे । सबैभन्दा पहिले न्युजिल्यान्डलाई दबाबमा राख्ने काम भने रोहितले नै गरे, २९ बलमा ४७ रन ।
त्यसमै टिकेर त हो, भारतले मजबुत स्कोर बनाएको । बलिङमा पनि भारतको प्रवृति त्यही छ । जुसप्रित बुमराह र मोहम्मद सिराजले सुरुमा सटिक आक्रमण बुन्छन् र त्यसपछि मोहम्मद सामी घातक रूपमा प्रस्तुत हुन्छन् । भारत यी दुवै प्रवृतिमा सफल रह्यो भने फाइनलमा जित उसकै हो ।
अस्ट्रेलियाको सुरुआत बलिङ र ब्याटिङ भने पछिल्लो समय मिल्न थालेको देखिन्छ । जोस हेजलउड र मिचेल स्टार्कले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई सुरुमै चार विकेट लिएर २४ रनमा रोके । कम स्कोरको त्यस खेलमा ओपरन ट्रेभिस हेडले ६२ रन बनाए । अस्ट्रेलियाले समातेको यो लय भारतविरुद्ध गुमाउनु हुन्न ।
२. सटिक फिल्डिङ
क्रिकेटमा ‘क्याचेज विन द म्याचेज’ पनि भनिन्छ । अस्ट्रेलियाको फिल्डिङ अन्य टिमको तुलनामा धेरै माथि छ । अस्ट्रेलियाली खेलाडीले गज्जबका क्याच मात्र लिएका छैनन्, प्रत्येक रन बचाउन ज्यान फ्यालेर लागिरहेका छन् ।
भारतको फिल्डिङ अधिकांश अवसरका कमजोर नै हुने गर्छ, यसपल्ट पनि केही हदसम्म यस्तै देखिएको छ ।
तर, अहिलेको भारतीय टिममा विश्वस्तरीय फिल्डर नभएका पनि होइनन् । जस्तो रवीन्द्र जडेजा । यी अलराउन्डरले ब्याकवार्ड प्वाइन्ट र डिपमा केही उत्कृष्ट क्याच लिएका छन् । केएल राहुल भारतका लागि स्टम्प पछाडि सबल देखिएका छन् । फाइनलमा कसको फिल्डिङ राम्रो हुनेछ त ? जसको राम्रो जित हारको समीकरण उसकै पक्षमा मोडिनेछ ।
३. दबाब झेल्ने क्षमता
अस्ट्रेलिया त्यस्तो टिम रहेको छ, जसले अन्तिम क्षणसम्म पनि हार मान्दैन् । जबसम्म खेलमा पूर्ण विराम लाग्दैन्, अस्ट्रेलिया अब त हार्यो भन्न मिल्दैन् । अफगानिस्तानविरुद्ध त यसको राम्रो उदाहरण पनि आयो । एक समय सात विकेट गुमाएर ९१ रन बनाएको अस्ट्रेलियाले अन्ततः दुई सय ९२ रनको लक्ष्य पनि पछ्याएको थियो ।
त्यसमा ग्लेन म्याक्सवेलले नटआउट रहेर दोहोरो शतक पनि बनाए । खासमा अस्ट्रेलिया चर्को न चर्को दबाबमा खेल्न माहिर छ । भारत त त्यसै पनि दबाबमा रहेर खेल्नु पर्ने टिम हो, किनभने उसको पछाडि अरबौं समर्थक छन् । सन् २०१३ यता भारतले कुनै ठूलो उपाधि जित्न सकेको छैन् । यस्तोमा दबाबको स्थितिमा कुनै टिम खह्रो उत्रने हो त ? जित्ने त दबाबमा राम्रो खेल्ने टिम नै त हो ।
प्रतिक्रिया 4