+
+

छठ पर्वमा नभई नहुने ठेकुवामा कस्तो पोषण पाइन्छ, कसरी बनाइन्छ ?

रेणु त्वानाबासु रेणु त्वानाबासु
२०८० मंसिर ३ गते १४:३२
फाइल तस्वीर

काठमाडौं । दशैंमा मासु, तिहारमा सेलरोटी भनेजस्तै छठको खास खानेकुरा हो ठेकुवा । बुट्टा कुँदेर बनाइएको काठको साँचोले ठोकेर बनाइने भएकाले यसलाई ठेकुवा भनिएको बताइन्छ ।

छठ पर्व सूर्यको उपासना गरी छठीमाईको आराधना गरी मनाइने शुद्धता, पवित्रता र आपसी भाइचाराको पर्व हो । चार दिनसम्म मनाइने छठको मुख्य दिनमा अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ भने भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको विधिवत् समापन हुन्छ ।

यसबेला ठेकुवा नभई नहुने खानेकुरा हुन्छ । पूजामा चढाउनका साथै प्रसादको रुपमा यो अनिवार्य मानिन्छ ।

कसरी बनाइन्छ ठेकुवा ?

संस्कृतिविद् भोगेन्द्र झा घरमै उत्पादित गहुँको पिठो, सख्खर, तोरीको तेल र घिउबाट ठेकुवा बनाइने र जुन शरीरका लागि सुपाच्य हुने बताउँछन् । ‘तर आजभोलि मैदा, चिनी, सुकुमेलको धुलो, नरिवलको धुलो, दूधलगायत विभिन्न साम्रगी मिसाएर बनाउने गरेको पनि पाइन्छ,’ उनी भन्छन् ।

चोखो गहुँको पिठो घिउमा मुछेर छठको दिन ठेकुवा बनाइन्छ । अर्घमा चढाइने प्रसाद भएकाले पूजा कोठामै पिठो मुछेर ठेकुवा बनाउने चलन छ । घिउमा पिठो मुछेर बनाइएको ठेकुवा घिउमै डिप फ्राइ गरी कुरुमकुरुम हुने गरी बनाइन्छ । परम्परागत रुपमा त्यसरी बनाइएको ठेकुवा षष्ठीको साँझ अस्ताउँदो सूर्यलाई दिइने अर्घमा चढाइन्छ भने भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिइसकेपछि व्रत समापन गर्ने बेला त्यसलाई खाइन्छ ।

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने महान् छठ पर्व चार दिनसम्म मनाइन्छ । छठको तेस्रो दिन षष्ठीको दिन बिहानदेखि यो परिकार बनाउन सुरु गरिन्छ । किनकि यस दिन बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिएर प्रसादको रुपमा प्रयोग गरिने संस्कृतिविद् डा. राजेन्द्र विमल बताउँछन् ।

कहाँ बनाइन्छ ठेकुवा ?

डा. विमलका अनुसार ठेकुवा बनाउन लागि छुट्टै माटोको चुलो बनाइन्छ । चुलो बनाउने ठाउँमा माटो र गोबर मिसाएर लिपिन्छ । उपवास बसेकाले माटोको चुलो बनाएर त्यसमा दाउरा बालेर ठेकुवा बनाइन्छ । चुलो आवश्यकता अनुसार एकमुखे वा दुईमुखी बनाउन सकिन्छ ।

बनाउने विधि  

-गहुँको पिठोमा घिउ राखी मोल्ने, त्यसपछि सख्खर वा चिनी, किसमिस हालेर अलिअलि पानी वा दूध छर्किंदै पिठोलाई मुछ्ने ।

-मुछेको पिठोलाई सानासाना डल्ला बनाएर धेरै पातलो नबनाई बेल्ने ।

-बेलिएको पिठो गिलासको घेराले काटेर सानो रोटीजस्तो आकारमा निकाल्ने । काठको साँचो प्रयोग गरी बुट्टा निकालेर आकर्षक बनाउने ।

-त्यसपछि प्यान वा कराहीमा घिउ तताएर गोलाकार बनाएर राखेको ठेकुवा फ्राइ गर्ने ।

-खैरो हुन्जेल फ्राइ गरेपछि ठेकुवा तयार हुन्छ । यसलाई एक हप्तासम्म राखेर मज्जाले खान सकिन्छ ।

ठेकुवामा कस्तो पोषक तत्व पाइन्छ ?

छठको समयमा निराहार व्रत बस्ने भएकाले गहुँ, सख्खर, घिउलगायत विभिन्न पौष्टिक आहार मिसिएको ठेकुवा खाँदा त्यसले शरीरमा ऊर्जा पनि मिल्ने डा. विमल बताउँछन् । ‘यो स्वास्थ्यवर्द्धक र सुपाच्य पनि हुन्छ । किनकि छठपर्व जाडोयाम सुरु हुने बेलामा हुन्छ । यसबेला पानीमा डुबुल्की लगाउँदा शरीर चिसो हुने भएकाले शरीरमा तातो प्रदान गर्न ठेकुवा उपयोगी हुन्छ,’ उनी भन्छन् ।

लेखकको बारेमा
रेणु त्वानाबासु

अनलाइनखबरकी संवाददाता त्वानाबासु समाज र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?