+
+

पर्यटनमन्त्रीसँग व्यवसायीको गुनासो : पर्यटक आगमन बढेपनि होटलका कोठाहरू खाली नै भए

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ५ गते १७:४०

५ कात्तिक, काठमाडौं । ठूला होटल संरचना सञ्चालनमा आउँदा मागको तुलनामा आपूर्ति बढी भएको होटल व्यवसायीले बताएका छन् । यसले एक तिहाइ मात्र अकुपेन्सीमा होटलहरु चलिरहेको व्यवसायीको भनाइ छ ।

मंगलबार होटल संघ नेपालका अध्यक्ष विनायक शाह तथा पदाधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसँग भेट गरी मुलुकको पर्यटन गतिविधिका बारेमा छलफल गरेका छन् ।

सो अवसरमा अध्यक्ष शाहले मुलुकमा पर्यटन आगमन वृद्धि भएपनि पछिल्लो समय धेरै ठूला होटल संरचना सञ्चालनमा आउने क्रम बढेकोले माग भन्दा आपूर्ति बढी भएको बताए । यसले क्षमताको एक तिहाइ अकुपेन्सीमा होटल सञ्चालनमा आउँदा सञ्चालन घाटामा रहेको उनको भनाइ छ ।

अध्यक्ष शाहले विदेशी पर्यटक नेपाल भ्रमणका लागि ललायित र सोधपुछहरु बढ्दै गएको परिप्रेक्ष्यमा पूर्वाधार जस्तै राजमार्गका सडक, हवाई सञ्जाल र यातायातमा रहेको कठिनाइका कारणले नेपाल आउने पर्यटकहरु अन्यत्रै जाने गरेको बताए ।

उनले पोखरा र भैरहवा विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन सके मुलुक पर्यटनबाट छिट्टै फड्को मार्न सक्ने बताए । यसतर्फ राज्यको ध्यान जानुपर्ने व्यवसायीको माग छ । उनले विकसित छिमेकी मुलुक चीन र भारत जोड्ने सडक सञ्जालमात्र तयार गर्न सके पनि मुलुकमा पर्यटन आगमनको चाप बढ्ने बताउँदै यस तर्फ राज्यको ध्यान जानुपर्ने बताए ।

अध्यक्ष शाहले नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवालाई सशक्त एवम् प्रभावकारी ढंगबाट अन्तर्राष्ट्रिय जगतमा मुलुकको पर्यटन प्रवर्द्धनमा सक्रिय रहन जोड दिए । शाहले पर्यटन बोर्ड सम्बन्धमा सार्वजनिक निजी साझेदारीको संरचनाका लागि गठित कार्यदलले प्रतिवेदन समेत बुझाएको हुँदा यसको कार्यान्वयनका लागि समेत आग्रह गरे । उनले मुलुकको पर्यटनसम्बन्धी नीति नियमलाई सहजीकरण गर्दै लगानी एवम् पर्यटनमैत्री वातावरण बनाउन आग्रह गर्दै संशोधन हुन लागेको संघीय पर्यटन ऐनले यसलाई सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

प्रनिधिमिण्डलले बन्दै गरेको क्यासिनो नियमावलीलाई व्यवस्थित र प्रभावकारी बनाइ क्यासिनो सञ्चालनमा सहजीकरण गरिनुपर्ने बारेमा छलफल भएको हानले बताएको छ । उक्त अवसरमा मुलुकको पर्यटकीय केन्द्रमा सञ्चालनमा रहेका होमस्टे र एयर बी एण्डबीलाई राज्यको दायरामा राखी दर्ता, नविकरण र राज्यलाई राजस्व समेत बुझाउने गरी नियमनकारी भूमिका खेल्नुपर्ने बताइयो ।

कोभिड-१९ महामारी, रुस–युक्रेन युद्ध र मध्यपूर्वी मुलुकमा भएका युद्धबाट धरासायी बन्दै गएको पर्यटन तथा होटल उद्योगलाई राष्ट्रिय बजेट र मौद्रिक नीतिबाट सम्बोधन हुन नसकी बैंकलाई बुझाउनुपर्ने सावाँ व्याज समयमा बुझाउन नसकेको हुँदा सावाँ ब्याज बुझाउने समयावधि थप गरिनुपर्नेमा अध्यक्ष शाहले जोड दिए ।

उनले पर्यटन क्षेत्रमा कार्यरत दर्जनभन्दा बढी राष्ट्रिय छाता संगठनहरुले पर्यटनसँग सँगसँगै (टुगेदर फर टुरिजम) भन्ने पर्यटन सञ्जाल गठन भएको जानकारी गराउँदै जाजरकोट भूकम्प पीडितका लागि संकलन भएको राहत रकम छिट्टै वितरण गरिने जानकारी दिए ।

उक्त सञ्जालले समग्र मुलुकको पर्यटन विकास र विस्तारका लागि सरकारसँग छलफल गर्ने समेत जानकारी गराउँदै प्रधानमन्त्रीले प्रारम्भ गरेको सरकार र निजी क्षेत्रसँगको आर्थिक गतिविधि बढाउने उपायहरुमा होटल र पर्यटन क्षेत्रको मौजुदा समस्याहरुको निराकरणमा यथेष्ट ध्यान जाने विश्वास व्यक्त गरे ।

उक्त अवसरमा अध्यक्ष शाहले मुलुकको पर्यटनलाई बढावा दिने उद्देश्यले होटल संघ नेपालले संघको स्थापना दिवसका अवसरमा आउँदो जनवरी १५ मा नेपाल आतिथ्यता दिवस मनाउन लागेको जानकारी गराउँदै यस कार्यक्रमबाट पनि राज्यले घोषणा गरेको पर्यटन दशकलाई मद्धत पुग्ने बताए ।

उक्त अवसरमा मन्त्री किरातीले पर्यटक आगमन सन्तोषजनक भएको र आउँदा दिनमा अन्तर्राष्ट्रिय जगतमा राम्रो सन्देश प्रवाह भएको भन्दै मुलुकलाई समृद्ध बनाउन पर्यटनलाई चलायमान बनाउनु पर्ने बताए ।

मन्त्री किरातीले पूर्वाधार समयमै सम्पन्न गरी हवाई सञ्जाल समेत विस्तार गरिने र यसबारेमा सम्बन्धित निकायमा पहल कदमी भइरहेको बताए । उनले मुलुकको अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीको नेतृत्वमा समिति गठन भई छलफल भइरहेको हुँदा यस पर्यटनसँग सम्बन्धित जल्दाबल्दा सुझावहरुले महत्व राख्ने भन्दै पर्यटन दशकका लागि गृहकार्य सुरु भइसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?