+
+

हमास–इजरायल युद्धविराम, विपिन जोशी रिहाइको अपेक्षा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ६ गते १३:२७
इजरायलबाट हमासले कब्जामा लिएका नेपाली नागरिक विपिन जोशी

६ मंसिर, काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले ७ अक्टोबरमा आक्रमण गरेपछि सुरु भएको इजरायलसँगको युद्ध चार दिनका लागि रोक्ने सहमति भएको छ ।

युद्धबिराम सुरु भएसँगै हमास समूहले इजरायली क्षेत्रबाट कब्जामा लिएर बन्धक बनाएका करिब २०० मध्ये ५० जनालाई रिहा गर्ने सहमति भएको छ । यस्तै इजरायलले पनि बन्धक बनाएका १५० जना प्यालेस्टिनी नागरिकलाई रिहा गर्ने छ ।

इजरायली र अन्य विदेशी नागरिकसँगै हमासले कब्जामा लिएर बन्धक बनाएको भनिएका नेपाली विद्यार्थी विपिन जोशी पनि रिहा हुने अपेक्षा गरिएको छ । तर इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले अहिलेसम्म पनि इजरायल सरकारबाट विपिनको रिहाबारे स्पष्ट जानकारी नआएको बताइन् ।

‘सरकारले हामीलाई औपचारिक हिसाबले यस विषयमा जानकारी दिएको छैन । तर हाम्रो अनौपचारिक संवादमा को–को रिहा हुनेछन् भन्ने बारेमा इजरायल सरकारलाई पनि जानकारी छैन, संख्या मात्रै तय भएको भनिएको छ’, राजदूत रिजालले भनिन्, ‘हामीले सुरुदेखि गरिरहेको पहललाई निरन्तरता दिइरहेका छौं । हाम्रो अपेक्षा विपिनलाई पनि यही चरणमा रिहा गरियोस् भन्ने हो ।’

इजरायली अधिकारीहरूले यो चरणमा रिहा हुनेमा बालबालिका र महिलाहरू हुनेछन् भन्ने बाहेक अरु जानकारी नदिएको राजदूत रिजालले बताइन् ।

नेपालले आफ्ना नागरिकको रिहाका लागि इजरायलसँगै हमास समूहसँग संवादमा रहेका अन्य कूटनीतिक सम्बन्ध रहेका देशहरूसँग पनि आग्रह गरिरहेको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेशमन्त्री मोहम्मद बिन अब्दुल रहमान बिन जस्सिम अल थानीसँग पनि निरन्तर संवाद गरिररहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसपटक हमास–इजरायल युद्धबिरामका लागि कतार, इजिप्ट र अमेरिकाको प्रयासले सहमति जुटेको जनाइएको छ । यस कारणले विपिनको रिहाको सम्भावना रहेको अपेक्षा गरिएको छ ।

परराष्ट्र मन्त्रालयले विपिन हमासको नियन्त्रणमा रहेको र उनी सुरक्षित रहेको बताएको थियो । यद्यपि, उनको अवस्था अझै यकिन हुन नसकेको इजरायलस्थित नेपाली दूतावासले आइतबार विज्ञप्तिमार्फत जानकारी दिएको छ । सोही दिन परराष्ट्रमन्त्री साउदले कञ्चनपुरस्थित विपिनको परिवारलाई भेटेर उनी हमासको नियन्त्रणमा सुरक्षित रहेको र रिहाका लागि पहल भइरहेको जनाएका थिए ।

यहीबीचमा इजरालयी रक्षा बल (आईडीएफ) ले पनि हमासले एक नेपाली र एक थाई नागरिकलाई बन्धक बनाएको भन्दै एउटा भिडियो सार्वजनिक गरेको थियो । गत २० असोज अर्थात, ७ अक्टोबरमा इजरायली भूमिबाट विपिन हमास समूहको कब्जामा परेका थिए ।

इजरायलमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने ४ जना विद्यार्थी घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?