+
+

बढ्दो छ रोजगारीका लागि युरोप जाने नेपाली

खाडीमा स्थिर, मलेसियामा घट्दै

पछिल्लो समय श्रम स्वीकृति लिएर युरोप जाने नेपालीको संख्या बढ्दा मलेसिया जानेको संख्या भने निरन्तर ओरालो लाग्ने क्रममा छ । खाडी मुलुकमा जानेको संख्या भने केही स्थिर देखिन्छ ।

अच्युत पुरी अच्युत पुरी
२०८० मंसिर ६ गते २०:१५

६ मंसिर, काठमाडौं । श्रम स्वीकृति लिएर युरोप जाने नेपालीको संख्या बढ्न थालेको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष (आव) को पहिलो चार महिना (साउन–कात्तिक)मा विदेश जाने नेपालीको संख्या निरन्तर ओरालो लाग्ने क्रममा छ । तर, यसै अवधिमा युरोप छिर्ने नेपालीको संख्या भने निरन्तर बढ्दो क्रममा देखिन्छ ।

विभागका अनुसार चालु आवको कात्तिकसम्म कुल २ लाख ६ हजार ३१६ जना नेपालीले श्रम स्वीकृति लिएका छन् । यो आर्थिक वर्ष २०७९/८० को कात्तिक मसान्तसम्मको तुलनामा ७४ हजार २०५ ले कम हो । सो आवको कात्तिकसम्म २ लाख ८० हजार ५२१ जना नेपालीले श्रम स्वीकृति लिएका थिए ।

चालु आवको कात्तिक महिनामा ४३ हजार ६२२ जनाले मात्र श्रम स्वीकृति लिएका छन् । गत वर्ष कात्तिकमा यो संख्या ७८ हजार ३७० थियो । यसरी घट्दो क्रममा रहेको ग्राफका बीचमा पनि युरोपेली मुलुकमा श्रम स्वीकृति लिएर जाने नेपालीको संख्या भने निरन्तर बढ्दै गएको तथ्यांकमा देखिएको छ ।

विभागको तथ्यांक अनुसार यस वर्ष साउनमा क्रोएसियाका लागि १६ सय ४९ जनाले श्रम स्वीकृति लिएका छन् । गत वर्ष साउनमा यो संख्या मात्र ११ सय ८८ रहेको थियो । क्रोएसियामा यस वर्ष भदौ, असोज र कात्तिकमा क्रमशः ८९२, ९७० र १ हजार १६३ जनाले श्रम स्वीकृति लिएका छन् । गत वर्ष यो संख्या क्रमशः ६०४, ५३७ र ३९६ रहेको थियो । साइप्रस, माल्टा, मौरिसस, रोमानिया, बेलायत जाने नेपालीको संख्या समेत क्रमशः बढ्दै गएको देखिन्छ ।

मलेसिसामा निरन्तर ओरालो, खाडीमा स्थिर

गत वर्षको तुलनामा यस आवमा मलेसियामा सबैभन्दा ठूलो गिरावट आएको तथ्यांकले देखाएको छ । चालु आवको कात्तिकमा मलेसियामा ५ हजार ५५२ वटा श्रम स्वीकृति जारी भएको छ । गत आवको कात्तिकमा यो संख्या ३० हजार ५४० थियो ।

यूएईमा कात्तिकमा मात्र १२ हजार ४८५ श्रम स्वीकृति जारी भएको छ । २०७९ कात्तिकमा ११ हजार ६ सय जनाले श्रम स्वीकृति लिएका थिए ।

यस वर्ष कात्तिकमा साउदी अरेबियामा ८ हजार १४ जनाले श्रम स्वीकृति लिएका छन् । गत आवको यस महिनामा साउदी जाने ११ हजार २७७ थिए ।

कतारमा यस वर्षको कात्तिकमा ८ हजार ४६२ जनाले श्रम स्वीकृति लिएका छन् । गत वर्ष कात्तिकमा कतार जाने ९ हजार ७१८ जना रहेको छ ।

तथ्यांक अनुसार घट्दो संख्याका बावजुत खाडी मुलुकमा जाने नेपालीको संख्या भने केही स्थिर देखिन्छ ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार मलेसिया र गल्फ मुलुकबाट नयाँ डिमान्ड कम आइरहेको छ । यसले समग्र रुपमा गिरावट आएको देखिन्छ । अर्कोतर्फ नेपालीहरुले राम्रो आम्दानीको खोजीमा पछिल्लो समय युरोपलाई गन्तव्य बनाउन सुरु गरेका छन् । यसो हुनुमा खाडी मुलुकमा सिकेको सीप युरोपमा उपयोग हुनु मुख्य कारण रहेको व्यवसायीहरुको भनाइ छ ।

‘उस्तै कामका लागि गल्फ जानु भन्दा युरोप जाऔं न त भन्नेहरु बढेको देखिन्छ,’ भण्डारी भन्छन् । मलेसियाबाट डिमान्ड कम आउनुमा भने सो मुलुकले कोभिड–१९ महामारी लगत्तै ठूलो संख्यामा माग बढाएको भए पनि अहिले कामदारको माग नै कम आइरहेको व्यवसायीको भनाइ छ ।

द्वन्द्वपछि पनि इजरायल जाने नेपाली घटेनन्

द्वन्द्वग्रस्त मुलुक इजरायलमा कात्तिक महिनामा मात्र १ सय वटा श्रम स्वीकृति भएको वैदेशिक रोजगार विभागले जनाएको छ । जसमध्ये ३१ पुरुष र ६९ जना महिला छन् ।

विभागका अनुसार सो मुलुकका लागि सबै जनाले नयाँ नभई पुनः श्रम स्वीकृति लिएका हुन् । इजरायलका लागि असोजमा ४९, भदौमा ५१ र साउनमा ३८ जनाले श्रम स्वीकृति लिएका थिए । यो मुलुकमा द्वन्द्वपछि पनि नेपाली जाने क्रम भने नघटेको पाइएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?