
नेपाली समाजको संरचना र विकास यहाँ आदिमकालदेखि बसोवास गरिआएका जाति तथा उत्तर र दक्षिणतिरबाट आएका विविध जातिका संगालोबाट समष्टिगत रूपमा भएको स्पष्ट इतिहास छ । भौगोलिक, जातीय, भाषिक, सांस्कृतिक, धार्मिक र सामाजिक विविधता नै नेपाली समाजको विशेषता हो। २०७८ सालको जनगणना अनुसार नेपालमा १४५ वटा जातजाति तथा १२७ वटा भाषिकहरू प्रचलनमा रहेको पाइन्छ।
सबै जातजातिको आ-आफ्नै किसिमका परम्परा र संस्कृतिहरू छन्। संस्कृति तथा सभ्यताका धनी मानिने आदिवासी थारुको पनि आफ्नो अलग्गै किसिमको परम्परा र संस्कृतिहरू रहेका छन्, जसमा ‘समा चकेवा’ पनि एक हो।
तिहार सकिएसँगै यतिवेला तराईका आदिवासी थारु समुदायका दिदीबहिनीले दाजुभाइको दीर्घायूको कामना गर्दै र तराई-मधेशमा बसोबास गर्ने अन्य समुदायले पनि दिदीभाइको पर्व समाचकेवालाई उत्साहका साथ मनाइरहका छन् । त्यहाँका घरगाउँ/टोलमा समाचकेवाको लोकगीत गुञ्जिरहेको छ ।
यो पर्वमा बाँसको नाङ्लोमा काँचो माटोबाट विभिन्न आकारका मूर्तिहरू बनाइन्छन् । जसमा समाचकेवा, चुगला, बिरदाबनी, मौहौतिया/मालिन, कुत्ता, नाह खैबैया, तितिर (समाको साथी), नटुवा, न्याक्दी भलाजी, ढोलकिया/झाइल बजिया र भमरा राखेर समाचकेवा खेलिरहेका छन् ।
यो पर्व कार्तिक द्वितियादेखि प्रारम्भ भएर शुक्ल पक्ष पूर्णिमासम्म मनाउने परम्परा रहिआएको छ। यो खास किसिमको व्रत, उपवास र चाड पर्व मात्र होइन। यसलाई एउटा परम्परा, चलन तथा सखी बहैनपा सहित मनोरञ्जन माध्यमको रूपमा पनि मनाउने गरिन्छ ।

यसलाई विशुद्ध सामाजिक र परिवारिक आत्मीयतापूर्ण जमघटको रूपमा मनाइन्छ जसले स्नेहपूर्ण पारिवारिक सम्बन्ध मजबुत बनाउँछ । स्थानीय बुढापाका र विभिन्न दस्तावेज अनुसार यस परम्पराको सुरुवात २००० वर्ष पहिले भएको पाइन्छ । त्यस्ताका प्रयाग राज्यको गर्भदेश (हालको इलहावाद)मा सेन वंशीय ‘स्थवीर’ थारुहरूको राज्य थियो। यी सेन वंशीय राजाहरु मध्ये किसनभुषन सेन नामका प्रतापी र धर्मात्मा राजा रहेका थिए । रानी आदम वतीबाट दुई सन्तान जन्मिएका थिए। राजकुमारी समा थिइन् भने राजकुमारको नाम साम्ब थियो। यी दुई भाइबहिनीबीच घनिष्ठ स्नेह र ममतामय सम्बन्ध थियो।
राजकुमारी समाको विवाह सानै उमेरमा मगध देशको राजा सालिकको जेठो छोरा चक्रवाकसँग भइसकेको थियो। सानै उमेरमा विवाह भए पनि थारु संस्कृति अनुसार युवती जवान भएपछि मात्रै माइतीबाट घर जाने परम्परा थियो। सोही अनुसार राजकुमारी ‘समा’ सानो हुँदा बुवा-आमाकै घरमा बस्थिन्।राजकुमारी ‘समा’ रुपवती, शिलवती र असल स्वभावकी भएकोले उनीमाथि सबैको नजर पर्थ्यो। समालाई दरबारमा सबैले माया गर्थे। जोसुकैलाई पनि उसको रुपले मोहित पार्न सक्थ्यो।
तर दरबारमा राजा किसन-भुसन सेनले विश्वासिलो भारदारको रूपमा दरबारियामा ‘चुरठ’ नाम गरेको व्यक्तिलाई राखेका थिए। ‘चुरोठ’को कुदृष्टि राजकुमारी समामाथि पर्न गयो। समय बित्दै थियो। चुरठ (कुरौटे)ले एक दिन मौका छोपी राजकुमारी समासँग प्रेमको प्रस्ताव राख्यो। जसलाई राजकुमारीले ठाडै अस्वीकार गरिन्।
असल स्वभावकी राजकुमारीले यो कुरा दरबारमा वा अरुलाई बताउँदा बुवाआमा समेतको बदनाम हुने डरले कसैलाई भनिनन्। यता, चुरठले आफ्नो प्रस्ताव राजकुमारी समाले अस्वीकार गरेपछि उनीमाथि विभिन्न किसिमको षड्यन्त्र रच्न थाल्यो। चुरठले राजकुमारी समासँग बदला लिन समाको चरित्रमाथि अनेक प्रश्न खडा गरी कपोकल्पित लाञ्छना, जालझेल, छलछाम, षड्यन्त्र र कुरौटे नीति बनाएर राजाको कान फुक्ने काम गर्यो ।
रिसाएका राजाले यथार्थ नबुझी चुरठको विश्वासमा परी छोरी समालाई सजायको घोषणा गर्दै वनवास पठाउने आदेश दिए । यो खबरले दरबारमा तरङ्ग उत्पन्न गर्यो। बुवाले सुनाएको सजायबारे कुनै प्रतिक्रिया नदिई समा वनवास जान तयार भइन्।
यो खबरले रानी आदम्बती स्तब्ध भइन्, राजासँग रोइकराइ गर्दै सजाय रोक्न अनेक प्रयास गरिन् तर कुनै उपायले काम गरेन। राजाले एकपटक दिइसकेको आदेश फिर्ता हुँदैन्थ्यो। किनकि त्यतिवेलाका राजाहरु वचनको पक्का थिए। अहिले पनि थारु समाज वचनको पक्का मानेर काम गर्दै आएका छन्। छोरा-छोरीले गल्ती गरेमा अहिले पनि थारु समाजमा घरमुलीले भनिदिन्छन्, ‘जाऊ तिमीलाई वनवास भयो।’
त्यतिबेला राजा किसन-भुसन र रानी आदमबती अदम्बत्तीबीच भएको कारुणिक संवादको गीत थारु समाजले आफ्नो मातृभाषामा अहिले पनि जोगाएर राखेका छन्।
रानी आदमबती:
केहेन तोहर गौरव हे गरभा राजा,
सगरे भेलौ उपहास
चुगलाके चुगली मे पैरके हे राजा,
बेटीके देला वनवास।
अर्थात्
(कस्तो गौरव थियो तिम्रो है गरभा राजा
सबै ठाउँ भयो तिम्रो उपहास
कुरौटेको कुरामा परेर
छोरीलाई दियौ वनवास)
राजा किसन भुसन सेन:
चुरठ के जिन दोष हे रानी, जिन दोष मोर रिस
विधि के लिखल हे रानी, समा के साथ यैसन अनरित। विधि के ॥ss॥
अर्थात्
चुरोठ(कुरौटे/चुगला)को जति दोष छ,
मेरो पनि उत्तिकै दोष छ
विधिले यस्तै लेखिदियो आज
कि समा छोरीसँग ठूलो
अन्याय भयो
रानी:
जिन तु समझ बुझ हे रजा
जिन कैल खोज विचार
तोहरो विचार मे लागल मधुवा,
समा बेटी के छुटल सब से हित। चुगलाके ॥SS॥
अर्थात्
नबनुझीकनै अरुको बोली सुन्यौ है राज
तिमीलाई नै भयो उपास
समाको आमा-बुवा छुट्यो
छोरीलाई माइतीसँग टुट्यो आस
राजा:
साँठी देहु आहे रानी झाझी रे कुतुवा,
साँठी देहु भमरा रञ्जित
छानी-छानी पठाव हे
रानी सकले समान
जैसे हेतै समा बेटी आपन हित। जैसे हेतै ॥ss॥
अर्थात्
वनवासमा पठाइ दिनू
छोरी समासँगै झाझी कुकुर
पठाइ दिनू भमराको भुनभुन संगीत
छानी-छानी पठाइ दिनू हे रानी
ज-जसले राख्न सक्छ समा छोरीको हित
रानी:
कौने विधि बेटी बसिहे रजा
कौने विधि काटतै समय साल
सब सुविधा जोरी देहु हे रजा
ने त समय विततै बड जञ्जाल। चुगलाके ॥ss॥
अर्थात्
कुन तरिकाले बस्छे छोरी ?
कुन उपायले काट्छे त्यो साल ?
सबै सुविधा मिलाइ देऊ है राजा
नत्र छोरीको जीवन बित्छ जञ्जाल
राजा:
अलख जगाबे पठाब हे रानी
एक गिरोह काली नृत्य
हृदयानन्द हेतै हे रानी,
खुस हेतै समा वेटी के चित। हृदयानन्द हेत ॥ss॥
अर्थात्
अलख जगाउने पठाउनु हे रानी
एउटा समूह कालीको नृत्य र गीत
हृदयानन्द हुनेछ हे रानी
खुसी हुनेछ छोरीको चित्त
यी सबै खबर राजकुमार साम्बले थाहा पाएर समालाई वनवास जानबाट रोक्न सक्दो प्रयास गर्छन्। तर समा भाइ ‘साम्ब’को कुरा मान्दिनन्। भाइले बिहनीसँग अनेक किसिमको विलौना र प्राण त्याग गर्ने कुरा गर्दा पनि समाले भाइ साम्बलाई सम्झाइ-बुझाइ गरी आफू जसरी पनि वनवास जाने कुरामा दृढसंकल्पित हुन्छिन्।
बहिनीको आँखाबाट अनवरत रूपमा बगिरहेको आँसुलाई भाइ ‘साम्ब’ले रोक्ने प्रयास गर्दा पनि त्यो व्यर्थ भएर जान्छ। जसलाई अहिले पनि थारु समुदायमा गाउँघरका बुढापाकाहरुले गुन्गुनाउने प्रचलित गीतले पुष्टि गरेको छ। राजकुमारी समा र राजकुमार साम्ब बीच थारु भाषामा भएको गीतिक संवाद (नेपालीमा पनि अनुवाद)
भाइ राज कुमार साम्ब:
कथिले कानै चिही हे समा बैहिनी,
कथिले टुटलौ लहिरा से आस
घर घुरी चलु हे समा बैहिनी,
बाँटी देबो अधहा राज।
अर्थात्
किन रुँदैछौ समा बहिनी ?
किन टुट्यो माइतीबाट आस?
जाऔं, घर फर्कौ हे बहिनी
बाडि दिन्छु मेरो आधा राज्य
बैहिनी राजकुमारी समा
बाबा के सम्पतिया हे भैया
भतिजवा के आस
हम पर गोतनी हे भैया
मोटरिया के आस
अर्थात्
बुवोको यो सम्पत्ति है दाजु
पछि भतिजको हुनेछ आस
म त पराई घरकी चेली हुँ दाजै
मलाई पोका-पन्तुराको मात्रै छ आस
भाइ साम्ब:
घर लौटी चल हे समा बैहिनी
बाबा के देबै हम ज्ञान
तुहु जिन घुरव हे समा बैहिनी
मोही तेजव आपन प्राण।
अर्थात्,
घर फर्कि जाऔन है बहिनी
बुवालाई दिन्छ म ज्ञान
तिमी यदि घर गएनौ भने
म पनि यही त्यागी दिन्छु प्राण
बैहिनी समा:
जिन यैसन करहु हे साम्ब भैया
बाबा के हेतै बहौत बदनाम
करम के खोट हे भैया
विधि मोरा भेलै बाम
अर्थात्,
किन यस्तो गर्छौ है साम्ब दाजै
बुवाको हुन्छ त्यहाँ बद्नाम
कर्म मेरै खोटो रहेछ
विधिले यस्तै लेखिदियो मेरो नाम
भाइ साम्ब:
कैसन के हम जिबै हे समा बैहिनी,
कैसन के फेरव हम सास
जिन तुहु घुरव हे समा बैहिनी
जगत मे भाई के हेतै बहौत उपहास ।।
अर्थात्,
कसरी म बाँच्नु अब समा बहिनी ?
कसरी फेर्नु म यो सास ?
जब तिमी पर्किएनौ भने
जगतमा दाजु-भाईको
हुनेछ धेरै उपहास्
बैहिनी समा:
जनि कानु जनि खिजु
जनि हेवु निराश
दोसर जन्मुवा मे हम सब
फेरो एके कोखी लेबै अवतार
अर्थात्,
चाहे रुनुस् या चाहे हास्नुस्
चाहे जति नै हुनुस् निराश
बरु अर्को जन्ममा
हामी दुवैको एउटै
कोखमा हुनेछ बास !
यसरी गीत मार्फत बहिनी राजकुमारी समाले भाइ राजकुमार साम्बलाई सम्झाउँछिन् धेरै हदसम्म। उता, राजकुमार अर्थात् समाको श्रीमान् ‘चक्रवाक’ले पनि यो कुराको जानकारी पाइसकेपछि आफ्नो श्रीमती समालाई वनवास नजानको लागि आग्रह गर्छ्। उनले जस्तोसुकै कदम र त्याग गर्न तयार भए पनि राजकुमारी समाले श्रीमान्लाई समेत सम्झाइ-बुझाइ गरी अर्को जन्ममा सँगै बस्ने वचन दिइ बुवाको आदेश पालन गर्न ‘वनवास’ आफ्नो पाइला चाल्छिन्।
यस्तो करुणिक दृश्यलाई राजकुमारीले असहज रूपमा नलिइ भाइ साम्बलाई अर्को जन्ममा फेरि सँगै भाइ-बहिनी र र श्रीमान् चक्रबातलाई पुन: श्रीमान्-श्रीमतीको (चखेवाको जोडी) रूपमा जन्म लिने वाचा गर्छिन्। यसका साथै समाले आफू कार्तिक शुक्ल पक्ष ‘इजौरिया’ अर्थात पूर्णिमासम्म थारु गाउँघरमै चकेवा-चकेवीको रूपमा युगौ युगसम्म आइरहने वचन दिन्छिन्।
त्यहीबेलादेखि सोही वचनलाई थारु समुदायले थारु समाजमा भाइ-बहिनीको प्रेमको प्रतीकको रुपमा समाचकेवा प्रत्येक वर्ष कार्तिक शुल्क द्वितियाको दिनदेखि पूर्णिमासम्म समाचकेवाको गीत, कीर्तन गाउँदै र पूज्दै आएका छन्।
उता रानीले राजाको आज्ञा अनुसार छोरीलाई वृन्दावनमा कुनै पनि किसिमको दु:ख, कष्ट नहोस् नहोस् भनेर सबै व्यवस्था मिलाई एक समूह नृत्य टोली ढोलकिया, नटुवा, सुरक्षा टोली कुकुर, तितिर, नदी वा तलाउ तर्न नाह खेबैया, मधुर संगीत दिन भुनभनु भमरा लगायत राजकुमारीलाई मनपर्ने सम्पूर्ण चिजबिजहरु साथ लगाएर विदाइ गर्छिन्।
राजकुमारी समा वनमा गएर तपस्या गर्न थाल्छिन्। समय बित्दै जान्छ। वनमा भीषण आगलागी हुन्छ जसलाई भाइ साम्बले आफ्नो तपस्या र सैनिक बलसहित आगो निभाउन सफल हुन्छ। राजकुमारी तपस्याबाट सिद्धी प्राप्त गरी अर्को जन्ममा चकेवाको रूपमा जन्मिन्छन्। उक्त चकेवाले दुई अण्डा पार्छन्। त्यसबा चकेवा र चकेवीको जन्म हुन्छ। ती भाले र पोथी ठूला भई जवान भएपछि राजकुमारी समा र राजकुमार चक्रवाकको प्रतीक श्रीमान्–श्रीमती भई जीवन बिताउँछन्।
उनीहरू भाइ साम्ब र बहिनी समाको प्रतीक एक-अर्कालाई अगाध माया र स्नेह पनि बाँड्छन्। उनी जता जाँदा पनि सँगै जोडी भएर जान्छन्। त्यसैले थारु गाउँसमाजमा अझै पनि विवाह हुनु पहिले थाकवंश (गोत्र) हेरेर मात्रै विवाह गर्ने परम्परा कायमै छ भने नेपाली समाजमा पनि यही उखान चलिआएको पाइन्छ, ‘कस्तो चखेवाको जोडी जस्तै?’
उक्त समा-चखेवाको जोडी चरा अहिले पनि नेपालको तराइका नदीहरूमा सँगै उडेको, घुमेर आहारा खोजिरहेको भेट्न सकिन्छ। थारु समुदायमा अहिले पनि चखेवाको जोडीलाई शुभ मानिन्छ।
कार्तिक शुक्लपक्ष द्वितीया तिथिदेखि पूर्णिमाको राति र त्यसको भोलि पल्ट दिउँसोसम्म समा–चकेवाको सम्झना स्वरुप माटोले बनाएको बिभिन्न स्वरुपलाई रंग रोगनसहित तयार गरेर डालीमा राखेर प्रत्येक साँझ टोलको मुखिया, माइन्जन, जेवारलगायतको घर आँगन र दरबजा (आगन बाहिरको खाली ठाउँ)मा जम्मा भइ आ-आफ्नो डालामा बत्ती/टुकी बाली गीतसहित एक घरबाट अर्को घरमा समाखेल्न जान्छन्। त्यहाँ गएर सबैजना बसेर दाजुभाइको लागि आशिर्वाद र बहिनीको लागि स्नेह र माया माग्ने गरिन्छ। त्यसपछि आ-आफ्नो समालाई ढेक (जोतेको खेतको माटोको डल्ला) खुवाउँछन् र थारु भसामा भन्छन् :
सामचे सामचके (आबिहे हो)-२
जोतला खेतमे (बैठिए हो)-२
सब रङ पटिया (ओछाइहियै हो)२
तै पटियामे (के-के सुते)
छोटे बरहे (लादहैन सुते)
अर्थात
समाचकेवा सधैं (आउनु है)२
जोतेको खेतमा (बस्नु है)२
सबै रङको गुन्द्री (ओछ्याउनु है)२
त्यो गुन्द्रीमा (को को सुत्ने?)-२
सानोदेखि ठूलो (सबै भाई सुत्ने)
त्यसपछि फर्केर आँगनमा आइ चुरठ अर्थात ‘चुगला’ (कुरौटे)लाई गलत काम गरे बापतको गलत आशिष दिइन्छ। उसको कामको परिणाम स्वरुप गाली गर्दै तीन चोटी ‘चुगला’को जुँगा डढाउँछन् र गाली गर्दै भन्छन्
‘अगरके काठी डगर के गुँह,
घोइर-घोइर देबौ चुगलाके मुँह
अर्थात,
अगरठको काठ, गोरेटोको दिसा
घोली-घोली पिलाउँछु
यही हो तिम्रो हिसा (अंश)
त्यसपछि सप्रिनेछ तिम्रो मुख
अनि मात्र पाउँनेछौ तिमीले सुख
त्यसपछि उपस्थित सबैजना खित्का छोडेर हाँस्छन्। त्यसपछि जंगलको प्रतीको रुपमा बनाइएको बनाइएको हुन्छ। जतिबेला समा जंगलमा तपस्या गर्दा आगो लागेपछि भाईसम्बा गएर निभाएका थिए। त्यसैको सम्झनामा वृन्दावनी पनि तीन पटक डढाउने र निभाउने गर्छन् अनि भाइहरुको लागि आशिष माग्दै भन्छन्।
वृन्दावनी वृन्दावनीमे आइग लागलै
के-के बुताबे, के के बुताबे ?
सात भाइ, भाइको नाम ‘सेहा बुताबे’।
अर्थात,
वृन्दावनमा आगो लाग्यो क-कस्ले निभाउने?
सात भाइ फलानो (आ-आफ्नो भाइको नाम लिँदै)
उसैले निभाउने-उसैले निभाउने
यसपछि सबैजना आ-आफ्नो घर जान्छन्। यस किसिमले प्रत्येक साँझ महिला दिदबहिनीहरु समाचकेवाको यो खेल खेल्ने गर्छन् र कार्तिक शुक्ल पक्ष पूर्णिमाको रात भने डगर अर्थात पूरा गाँउ डुल्ने गर्छन् र दाजुभाइको लागि आशिर्वाद माग्ने गर्छन्। त्यसको भोलोपल्ट विहान समा-चकेवा साथमा लिएर गीत गाउँदै टोलभरि घर-घरमा गइ विदा माग्ने गर्छन्।
अन्त्यमा,
त्यसपछि नजिकको पोखरी, नदी, तलाउ इत्यादिमा पूजा अर्चना गरी तेल, सिन्दुरसहित दही-च्युरा, शखर अन्य समालाई कोसेलीहरु साथै दिइ पानीमा सेलाउने गरिन्छ। त्यसअघि मिल्ने छोरीहरु बैहैनपा( मितनी), छोराहरुले बगैरिया/भाइजी/गोदिया (मित) लगाउने थारु समाजमा अहिले पनि चलन छ।यसले थारु समुदायमा समाचकेवाको जस्तै मीतिनी वा मीतको मर्यादा कायम हरन्छ भन्ने किंवदन्ती छ।
यसपछि पानीमाथि तैरि रहनको लागि पालकी ‘डोली’ बास वा सन्ठी (गाउँघरमा पाइने जुट)बाट तयार गरिएको मन्दिर बनाएर त्यसमा आ-आफ्नो समा-चकेवालाई राखेर मध्य भागको पानीमा छाड्ने गरिन्छ। यसका साथै त्यहाँ उपस्थित सबैलाई प्रसाद स्वरुप दही-च्युरा बाँड्छन्। सबैजना आ-आफ्नो घर फर्किन्छ। यसरी एक वर्षको लागि समा–चकेवा खेल्ने चलनको अन्त हुन्छ ।
यस किसिमले समा–चकेवा महिलाहरुले खेलेर मनोरञ्जन गरिने एक किसिमको परम्परागत संस्कृति हो। यो संस्कृतिसँग थारुहरुको पुर्खौली सम्बन्ध रहेको छ। अहिले पनि थारुहरुको थाक(गोत्र)वंश, कुलदेवता इत्यादि पुर्खाहरुकै नामबाट रही आएकोले यसबाट यो संस्कृतिसँग थारुहरुको वंशाणुगत सम्बन्ध रहेको प्रतिक हुन्छ।
पर्वले सन्देश के दिन्छ ?
यो पर्वबाट हरबर अर्थात हतारमा गरेको निर्णयले जहिले पनि पछताउनु बाहेक केही दिँदैन, बाँकी रहदैन पनि भन्ने ज्ञान दिन्छ भने बुवा आमाको आदेश जस्तो भए पनि त्यसलाई शिरोधार्य गर्नु छोरा-छोरीको कर्तव्य हो भन्ने बोध समेत गराउँछ। यसका साथै बुवा आमाले पनि छोरा-छोरीमाथि जथाभावी सोधिखोजी नगरीकनै निर्णय लिँदा परिवारमा अप्ठ्यारो पर्न सक्छ भनेर हतारमा निर्णय सुनाउन नहुने सन्देश दिन्छ।
समाजमा चुरठ/चुगला अर्थात कुरा लगाउने कुरौटे जस्तो कुपात्र पनि हुन्छन्। यस्ता पात्रहरुबाट सधैं सतर्क रहन समाचकेवाले सजग गराउछ भने बहिनीको लागि भाइ आजीवन रक्षको रुपमा उभिएको हुन्छ। उसलाई आइपर्ने कुनै पनि समस्याबाट जोगाउन भाइ हरपल/हरदम तयार रहन्छ भने सन्देश पनि प्रवाह गर्छ।
सस्कृतिमाथि सद्भाव कायम
नेपालको इतिहास हेर्दा तराइमा बसोवास गर्ने थुप्रै जात-जातिहरुले विभिन्न काल खण्डमा आइ आ-आफ्नो अस्तित्वलाई स्थापित गरे पनि एकले अर्कालाई विस्थापित गर्ने र अर्काको धर्म संस्कृति परम्परालाई नकारात्मक व्यवहार गरेको पाइँदैन। फलस्वरुप अहिले पनि तराईमा थारु समुदाय मात्रै नभइ थारु समुदायसँग विभिन्न समयमा आएका अन्य जाति समुदायहरुले पनि यस परम्परालाई स्वीकार गरी धुमधामको साथ समाचकेवा मनाउने गर्छन्।
हाल यो संस्कृति संघीय राजधानी काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा महोत्सवको रुपमा समेत मनाइरहेका छन् थारु लगायत अन्य समुदायहरु पनि हर्षोल्लासका साथ। काठमाडौं उपत्यकामा भने यो पर्व थारु महिला समाजले पहिलो पटक वि.सं.२०६१ सालदेखि मनाउन थाले पनि हाल थारु बाहुल्य क्षेत्र टीकाथली, कुपण्डोल, बल्खु लगायत अन्य टोलहरुमा प्रत्येक वर्ष विभिन्न समूह बनाइ यो पर्व मनाउने गरेको पाइन्छ।
त्यसकारण, यो थारुहरुको पुर्खौली परम्परा भए पनि सम्पूर्ण हाल आएर तराईबासीहरुको साझा संस्कृतिको रुपमा सद्भावको पर्व बन्दै गएको छ। यो पर्वले सम्पूर्ण नेपालीहरुको राष्ट्रियतालाई बोकेको छ भने विस्तारै अन्य समुदायमा पनि रुपान्तरण र हस्तान्तरण भइरहेको छ। यसलाई कतिपय समुदायले हिन्दु र मैथिली संस्कृतिको रुपमा चित्रण गर्ने प्रयास गरे पनि यथार्थमा यो पर्वको इतिहास र परम्परा थारु समुदायबाट भएको हो। पछि यसलाई हिन्दु धर्मालम्बीहरु र मैथिली समाजले पनि ग्रहण गरेको पाइन्छ।
(लेखक अधिवक्ता एवं थारु भसा साहित्य केन्द्र नेपालका केन्द्रीय उपाध्यक्ष हुन्।)
प्रतिक्रिया 4