+
+

नेपालगञ्ज म्याराथनमा गोपी र सन्तोषी च्याम्पियन

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ९ गते २०:११

९ मंसिर, बाँके । नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्कीले नवौं नेपालगञ्ज म्याराथनको उपाधि जितेका छन् । यसअघि छैटौं संस्करणको उपाधि जितेका पार्कीले शनिबार २ घण्टा २१ मिनेट ३८ सेकेन्डमा दौड पूरा गरेर दोस्रो पक नेपालगञ्ज म्याराथनको उपाधि जितेका हुन् ।

डिफेन्डिङ च्याम्पियन नेपाली सेनाका खडकबहादुर खड्का भने २ घण्टा २२ मिनेट एक सेकेन्डमा दुरी पार गरेर दोस्रो भए । खड्काले गत वर्ष २ घण्टा २० मिनेट २८ सेकेन्डमा दुरी पार गरेर उपाधि जितेका थिए ।

सातौं संस्करणका च्याम्पियन एपीएफका किरणसिंह बोगटी २ घण्टा २५ मिनेट ४३ सेकेन्डमा दुरी पार गरेर तेस्रो भ एभने सन्तोषविक्रम विष्ट चौथो, मोहनदेव जोशी पाँचौ, प्रेमबहादुर बस्नेत छैठौ, शेरबहादुर बुढा सातौ र अजय विके आठौं भए ।

उपाधि जितेका पार्कीले दुई लाख, दोस्रो भएका खड्काले एक लाख, तेस्रो भएका बोगटीले ५० हजार पाएका छन् । चौथो भएका विष्टले २५ हजार, पाँचौ भएका जोशीले १५ हजार, छैठौ भएका बस्नेतले १० हजार, सातौ भएका बुढा र आठौ भएका विकेले ५/५ हजार पुरस्कार पाएका छन् ।

महिलाहरुको हाफ म्याराथनमा धादिङकी सन्तोषी श्रेष्ठले ह्याट्रिक गरेकी छन् । लगातार तेस्रो पटक उपाधि जित्ने क्रममा शनिबार उनले निर्धारित दूरी एक घण्टा २० मिनेट ५१ सेकेन्डमा पार गरिन् । आठौंमा उनले एक घण्टा १६ मिनेट ४८ सेकेन्डमा दुरी पार गरेकी थिइन् ।

त्यस्तै फूलमती राना एक घण्टा २१ मिनेट एक सेकेन्डमा दुरी पार गर्दै दोस्रो भइन् र ५० हजार रुपैयाँ पाइन् । छैठौं संस्करणमा उपाधि जितेकी पुष्पा भण्डारी एक घण्टा २३ मिनेट ३६ सेकेन्डमा दुरी पार गरेर तेस्रो भइन् र २५ हजार रुपैयाँ पाइन् । चौथो भएकी विन्द्राधान्के श्रेष्ठले १५ हजार, पाँचौ भएकी राज्यलक्ष्मी रावलले १० हजार, छैठौं भएकी गणना भण्डारीले ५ हजार पुरस्कार पाएकी छन् ।

१० किलोमिटर दौडमा पुरुषतर्फ दुर्गाबहादुर बुढा पहिलो, नरेन्द्रसिंह रावल दोस्रो र धर्म महर्जन तेस्रो भए । १० किलोमिटर महिलातर्फ राममाया बुढा पहिलो, आशा रावत दोस्रो र मनसरा बुढा तेस्रो भएका छन् । १० किलोमिटर दौडको महिला र पुरुष दुवैका विजेताले ३० हजार, १५ हजार र १० हजार रुपैया पुरस्कार पाएका छन् ।

स्कुलस्तरीय ५ किलोमिटर दौडमा छात्रतर्फ दीपेन्द्र बोहरा पहिलो, अजय पाण्डे दोस्रो र सरोज सिंह तेस्रो भएका छन् । छात्रातर्फ कल्पना बुढा पहिलो, विमला कार्की दोस्रो र मोतीकला डाँगी तेस्रो भएका छन् । उनीहरुले क्रमशः ५ हजार, तीन हजार र दुई हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

५ किलोमिटर ह्वीलचियर दौडमा पुरुषतर्फ यज्ञबहादुर खत्री पहिलो, रोहितकुमार तमोली दोस्रो र शमशेर अली बेहना तेस्रो भएका छन् । उनीहरुले ५ हजार, तीन हजार र दुई हजार पुरस्कार पाएका छन् ।

५ किलोमिटर ह्वीलचियर दौडको महिलातर्फ देउकुमारी थारु पहिलो, र श्यामकली थारु दोस्रो भएका छन् । उनीहरुले पाँच हजार र तीन हजार पुरस्कार पाएका छन् ।
किड्स रनमा छात्रतर्फ अभिशेष खड्का पहिलो, आयुश रावल दोस्रो र प्रवीण राना तेस्रो, छात्रातर्फ कृति परियार पहिलो र हिमानी बटाला दोस्रो भएका छन् । ५ किलोमिटर कर्पोरेट रनमा योगेश मल्ल पहिलो भए ।

म्याराथनका विजेताहरुलाई नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्य, लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराई, नेपालगञ्ज म्याराथनका संस्थापकका अध्यक्ष टीएस ठकुरी, केएल दुगड ग्रुपका सिइओ प्रदीप छाजेड, डाइरेक्टर सौरभ दुगडलगायतले पुरस्कार वितरण गरे ।

एशोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स) बाट मान्यता पाएको नेपालगञ्ज म्याराथन बिजेताले लण्डन म्याराथनमा अवसर पाउने आयोजकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?