+
+

योगेश भट्टराईको गाडीमा आक्रमणको जिम्मा लिनबाट पन्छिए पहिचान पक्षधर अभियन्ता

हरि अधिकारी हरि अधिकारी
२०८० मंसिर १० गते २०:१६

१०  मंसिर,  विराटनगर । आइतबार दिनभर पहिचान पक्षधर समूहले एमाले सचिव योगेश भट्टराईको उपस्थीतिमा  भएको कार्यक्रम स्थल बाहिर विरोध गरेको थियो । भट्टराईको घर  अगाडि पनि पहिचान पक्षधरले प्रदर्शन गरेका थिए ।

केही समय पहिचान पक्षधर समूहका कार्यक्रम र एमाले कार्यकर्ताबीच विवाद पनि भएको थियो । सचिव भट्टराई विरुद्ध  उत्रिएको समूहले सवारीमाथि आक्रमण गरेको एमालेको दाबी छ । तर पहिचान पक्षधरले सवारी तोडफोड घटनाको जिम्मा नलिने बताएका छन् ।

पहिचानको आन्दोलन नेतृत्वकर्ता मध्येको एक किरात याक्थुङ चुम्लुङकी संघिय महासचिव निरन्ती तुम्बापोले तोडफोडको जिम्मेवारी पहिचान पक्षधरले नलिने बताइन् ।

‘कोशीको पक्षमा बोलेका कारण उहाँको(योगेश भट्टराई)को विरोध गरिरहेका छौं,योगेश भट्टराई पूर्व मन्त्री तिलकुमार मेन्याङ्बो  र सांसद  उर्मिला थेबेको उपस्थीतिमा आज कार्यक्रम गर्ने भनेपछि हामीले त्यो समयमा विरोध गर्छाै भनेर जानकारी दिएर विज्ञप्ति जारी गरेका थियौं,’ उनले भनिन्, ‘तर आन्दोलनलाई व्यवस्था गरेर कार्यक्रमका लागि जोडबल गर्दा शान्तिपूर्ण तरिकाले कोणसभा र नाराबाजी गरेको हो, नाराबाजी  गर्दा  सामान्य घम्साघम्सी भयो ।’

भट्टराई सवार गाडीमाथि पहिचान पक्षधरले आक्रमण नगरेको उनको दाबी छ । तुम्बापोले भनिन्, ‘उहाँले आरोप लगाउन सक्नुहुन्छ आन्दोलनकारीहरुलाई तर हाम्रो पक्षबाट तोडफोड भएको होइन ।’

पहिचान पक्षधरलाई बदनाम गर्न एमालेबाटै घुसपैठ गरी तोडफोड गरेको हुनसक्ने दाबी गर्दै उनले भनिन्, ‘हामी आन्दोलनकारीले जिम्मेवारी लिदैनौं, हामी आन्दोलनकारी पक्षले गरेको होइन पनि ।’

तर ताप्लेजुङ प्रहरीले भने पहिचान पक्षधर समूहले नै भटटराई चढेको गाडीमा आक्रमण भएको पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले आक्रमणकारीको खोजी भइरहेको समेत जानकारी दिएको छ ।

प्रहरी निरीक्षक  कमल लुङ्गेलीका  अनुसार ५–७  जनाको समूहले ताप्लेजुङबाट फर्कने क्रममा बाटोमा आक्रमण गरेको हो ।

एमालेको आपत्ति

नेकपा एमालेले पार्टी सचिव भट्टराई सवार गाडीमाथि भएको  आक्रमणको  भर्त्सना गर्दै घटनामा संलग्नलाई कारवाही गर्न माग गरेको छ । ‘यो गैरजिम्मेवार कार्य हो, आपत्तिजनक  छ,’ एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले भने, ‘यो गलत कार्य हो, ढुंगा  हान्ने अपराधिक काम गर्नेलाई सरकारले अबिलम्ब कारवाही गर्नुपर्छ ।’

एमाले सांसद तथा कोशी  प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिचानको  नाममा अराजकता प्रदर्शन भएको बताए । ‘यो कुनै पहिचानको कुरा होइन अराजकता हो, गुण्डागर्र्दी हो,’ उनले भने,‘ लोकतान्त्रिक शासन व्यवस्था रक्षाका लागि लाग्दा एमालेमाथि सबै तिरबाट आक्रमण भइरहेको छ, यो आक्रमणको एमालेले जमेर सामना गर्छ ।’

कानुन हातमा लिएर आक्रमण गर्नेमाथि कारवाही गर्न उनले माग गरे । ‘माग गर्दा सरकारले कारवाही गर्दैन भने हामी  आफै त्यसको सामना गर्छौं,’ उनले भने, ‘यो पहिचानको कुरै होइन, संविधान र कानुन हातमा लिएर गुण्डागर्दी गर्ने काम  हो ।’

नेकपा एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य  योगेश भट्टराई सवार गाडीमाथि ताप्लेजुङमा आक्रमण भएको छ । आइतबार एमालेले आयोजना गरेको कार्यक्रममा पुगेर फर्कने क्रममा भट्टराई सवार गाडीमाथि आक्रमण भएको हो ।

फुङलिङ नगरपालिका-४ बसपार्क नजिकै भएको  आक्रमणबाट आइतबार भट्टराई सवार गाडीको सिसा फुटेको थियो ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?