+
+

१ खर्ब ४३ अर्बमा किनेको एनसेलको सेयर साढे ६ अर्बमा बेचेर बाहिरियो आजियाटा

एनसेलको ८० प्रतिशत सेयर आजियाटाले बेलायतको स्पेक्ट्रलाइट यूकेलाई बेच्यो

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १५ गते १८:२२

१५ मंसिर, काठमाडौं । मलेसियाको टेलिकम जायन्ट आजियाटाले नेपालको एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गर्ने भएको छ ।

आजिआटाले आफ्नो सेयर ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६६ करोडमा स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बेचेको उल्लेख गरेको छ ।

तर, सन् २०२९ सम्म एनसेलले पाउने लाभांश भने आजिआटाले नै पाउने सेयर खरिद सम्झौतामा उल्लेख भएको आजिआटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्पेक्ट्रलाइट यूके लिमिटेड बेलायतमा दर्ता भएको कम्पनी हो । यसको सञ्चालकमा सतिशलाल आचार्य छन् । आचार्य एनसेलमा २० प्रतिशत हिस्सा भएको सुनिभेरा क्यापिटल भेन्चर्सका सञ्चालक पनि हुन् । अब एनसेलमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आचार्य समूहकै शतप्रतिशत शेयर स्वामित्य कायम हुने भएको छ ।

आजिआटाले आफ्नो शतप्रतिशत सेयर रहेको रेनोल्डस् होल्डिङ लमिटेड बेलायती कम्पनीलाई बिक्री गरेको विज्ञप्तिमा उल्लेख छ । आजियाटाले सात वर्षअघि स्विडेनको टेलियासोनेरासँग रेनोल्ड होल्डिङ खरिद गरेको थियो । एनसेलमा रेनोल्डको शतप्रतिशत सेयर छ ।

आजिआटा सन् २०१६ मा नेपालमा भित्रिएको थियो । त्यसबेला १ अर्ब ३६ करोड अमेरिकी डलर अर्थात् त्यसबेलाको विनियमदरअनुसार १ खर्ब ४३ अर्ब रुपैयाँमा एनसेलको सेयर उसले किनेको थियो ।

तर, त्यसको साढे सात वर्षपछि कम्पनी त्यसको तुलनामा अत्यन्तै काम मूल्यमा सेयर बिक्री गरी नेपालबाट बाहिरिने निर्णय गरेको छ ।

एनसेलले गत आर्थिक वर्षमा मात्रै ३९ अर्ब ८१ करोड आम्दानी गरेको थियो भने ५ अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । सन् २०२३ को तेस्रो त्रैमाससम्ममा एनसेलले २८ अर्ब २७ करोड आम्दानी गरिसकेको छ ।

यति ठूलो कारोबार र नाफा रहेको कम्पनीको ८० प्रतिशत शेयर साढे ६ अर्ब रुपैयाँमा विक्री हुनु अस्वाभाविक रहेको एक चार्टर्ड एकाउन्टेन्टले बताए । ‘२०२९ सम्मको लाभांश आजियाटाले पाउने भनिएको छ तर कम्पनीको नियन्त्रण कसको रहने भनिएको छैन । यस हिसाबले यो कारोबार त्यति स्वाभाविक देखिँदैन,’ उनले भने ।

एनसेलको लाइसेन्स सन् २०२९ सम्म छ । विद्यमान कानूनअनुसार त्यसपछि त्यो लाइसेन्स सरकारको नाममा आउनेछ । त्यसो हुँदा लाइसेन्सको अवधिभरको डिभिडेन्ड आजियाटाले लिने, त्यसबीचमा आकस्मिक लाभ केही भयो भने त्यो पनि आजिआटाकै हुने गरी स्पेक्ट्रलाइट युकेसँग सम्झौता भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

सन् २०२९ सम्मको व्यवसाय तथा दायित्वको जिम्मवारी एनसेलले लिने र विद्यमान र भविष्यमा पनि एनसेललाई सरकारले कुनै कर दाबी गर्‍यो भने त्यो खरिदकर्ता अर्थात् स्पेक्ट्रलाइट युकेले बेहोर्ने गरी सम्झौता भएको पनि उसले उल्लेख गरेको छ ।

एनसेललाई राज्यले दोहोरो कर लगाएका कारण सिर्जित वातारवण एवम् सन् २०२९ मा कम्पनीको मोबाइल लाइसेन्सको अवधि सकिँदै गएको अवस्थामा त्यो जोखिमलाई पनि ध्यान दिएर नेपालबाट बाहिरिने निर्णय गरेको उसले उल्लेख गरेको छ ।

सरकारले पटकपटक निर्धारण गरेको कर रकम सम्पूर्ण भुक्तानी गर्दा दोहोरो कर परेको र आफूले खरिद गरेको मूल्यको ६२ दशमलव ७ प्रतिशत कर तिर्नुपर्ने अवस्था सृजना भएको आजियाटाले दाबी गरेको छ ।

सन् २०२९ पछि एनसेलमा रहेको आफ्नो स्वामित्व नेपाल सरकारमा जाने जोखिम रहेको तथा नेपालमा विदेशी लगानीको संरक्षणको वातावरण नरहेकाले समेत कम्पनीले नेपाल छोड्ने निर्णय गरेको उसले जनाएको छ ।

दुई कम्पनीबीच भएको सेयर खरिद सम्झौतामा आजिआटाले ‘स्थिर प्रतिफल’ र ‘सशर्त प्रतिफल’ को व्यवस्था गरिएको छ । आजियाटाले एनसेलको ८० प्रतिशत सेयर बेचेबापत ५ करोड अमेरिकी डलर स्थिर प्रतिफलका रुपमा पाउनेछन् । त्यसमध्ये ५० लाख अमेरिकी डलर आजियाटाले ६ महिनाभित्र खरिदकर्ताबाट प्राप्त गर्ने र बाँकी रकम चार वर्षभित्र खरिदकर्ताले तिर्ने सम्झौता भएको छ ।

त्यस्तै, सशर्त प्रतिफलका रुपमा सन् २०२९ सम्म एनसेलले व्यवसायको प्रदर्शनका आधारमा वितरण गर्ने खुद लाभांश र तथा कुनै अप्रत्यासित लाभ रहेको पनि सम्झौतामा उल्लेख छ ।

एनसेलले नेपालको आर्थिक सामाजिक विकासमा ठूलो योगदान गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । एनसेलले गत आर्थिक वर्षसम्म कुल २ अर्ब ८३ अर्ब रुपैयाँ कर तिरेको दाबी पनि विज्ञप्तिमा गरिएको छ ।

एनसेलले प्रत्यक्ष र अप्रत्यक्ष गरी २५ हजार रोजगारी सृजना गरेको र १ करोड ७० लाख ग्राहकलाई सेवा दिएको पनि जनाएको छ ।

एउटा कारोबारमा ६३ प्रतिशत कर तिर्नुपर्ने अवस्था बन्योः आजिआटा

आजियाटाले सन् २०१६ मा १ अर्ब ३६ करोड ५० लाख अमेरिकी डलरमा एनसेलको ८० प्रतिशत सेयर किनेको थियो । सेयर किन्ने बित्तिकै यो कर विवादमा फस्यो । हालसम्म एनसेलले पुँजीगत लाभकरबापत ४७ अर्ब रुपैयाँ तिरिसकेको दाबी गरेको छ । नेपालको कानूनबमोजिम थप कर तिर्न बाँकी नरहेको उसको दाबी छ ।

तर, ठूला करदाता कार्यालयले उसलाई थप ५७ अर्ब ९० करोड रुपैयाँ कर निर्धारण गरेको छ । यसको विरुद्धमा एनसेलले सर्वोच्चमा रिट दायर गरेको छ तर फैसला हुन बाँकी नै छ । विक्रीकर्ताले तिर्नुपर्ने कर पनि एनसेललाई नै थोपरिएको भन्दै कम्पनीले गुनासो गरेको छ ।

विश्वबैंक अन्तर्गतको इक्सिडले मध्यस्थतामार्फत दोहोरो कर नलगाउन आदेश दिए पनि ठूला करदाता कार्यालयले पछिल्लो कर निर्धारणलाई फिर्ता नलिएको उसको भनाइ छ । ‘सन् २०२१ को कर निर्धारणबापतको रकम पनि तिर्नुप¥यो भने १ अर्ब ३६ करोड डलरको खरिदविक्रीमा कुल ८५ करोड ५५ लाख कर तिर्नुुपर्छ, जुन कारोबार रकमको ६२ दशमलव ७ प्रतिशत हो,’ आजियाटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो लेनदेनले आजियाटालाई जिम्मेवार ढंगले नेपालबाट बाहिरिन अनुमति दिएको शहरिल रिड्जा रिड्जुआनले बताए ।

‘नेपालबाट हाम्रो बाहिरिने प्रक्रिया पूरा हुनुले हामीलाई आफ्ना रणनीतिक प्राथमिकताहरूमा ध्यान केन्द्रित गर्न र मूल्य सृजनाको यात्रा जारी राख्न सक्षम बनाउँछ’, उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?