+
+

घरपालुवा जनावरमा अनिवार्य राख्नुपर्ने भनिएको माइक्रो चिप्स के हो ?

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १८ गते १६:१३
एआई सिर्जित तस्वीर

काठमाडौं । केही दिनअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै घरपालुवा कुकुर र बिरालोलाई माइक्रो चिप्स जडान गर्ने प्रक्रिया अघि बढिरहेको जानकारी दिए । उनले लेखेका थिए, ‘घरपालुवा कुकुर र बिरालोलाई ‘माइक्रो चिप्स’ जडान प्रक्रियामा छौं । त्यसपछि अनिवार्य रूपमा घरपालुवा जनावर पाल्ने घरधनी सबैले उक्त चिप्स राख्नुपर्नेछ । यसबाट संख्या यकिन किन भई संख्या र अवस्था व्यवस्थापन गर्न सहज हुनेछ ।’

महानगरले कुकुर र बिरालोमा राख्ने भनेको माइक्रो चिप्स राख्न किन जरुरी छ ? कति खर्च लाग्छ ? यसमा के-के समावेश हुन्छ ? लगायत विषयमा काठमाडौं महानगरका पशु व्यवस्थापन विभागका प्रमुख डा. अवधेशकुमार झासँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानी :

घरपालुवा कुकुर र बिरालोमा जडान गरिने भनिएको माइक्रो चिप्स किन राख्न लागिएको हो ?

घरपालुवा जनावरमा माइक्रो चिप्स जडान गर्ने प्रणाली विकसित मुलुकहरूमा पहिलेदेखि नै प्रयोगमा आइरहेको छ, नेपालमा भने यो नयाँ हो । माइक्रो चिप्स राख्नुको विभिन्न उद्देश्य छन् । पहिलो, घरपालुवा जनावर हरायो वा चोरी भएको खण्डमा सहजै भेट्न सकिन्छ । दोस्रो, पहिले रहरले कुकुर बिरालो पाल्ने अनि केही कारणवश तिनीहरू बिरामी भए वा बुढो भएर पाल्न गाह्रो भयो भने सडकमा छोडिदिने चलन पनि छ । त्यसलाई नियन्त्रण गर्न सकियोस् ।

घरपालुवा जनावरलाई नेपालबाट अन्य देशमा लैजान सहज होस् यी तीन मुख्य उद्देश्यले माइक्रो चिप्स राख्न लागिएको हो । साथै, जनावरको संख्या र अवस्था व्यवस्थापन गर्न पनि यसले सहयोग गर्छ ।

माइक्रो चिप्स कहाँ कसरी राखिन्छ ?

माइक्रो चिप्स भातको सिता जत्रो आकारको हुन्छ  । जसलाई सुईको मार्फत कुकुरको अगाडिको खुट्टाको माथि ढाडको भागमा जडान गरिन्छ ।

यसमा केके हुन्छ ?

माइक्रो चिप्समा एउटा नम्बर हुन्छ । मोबाइल नम्बर जस्तै खालको आईएसओ सर्टिफाइड नम्बर हुन्छ । जुन एउटा चिप्सको नम्बर अर्कोसँग मिल्दैन । त्यो नम्बरलाई पढ्ने एउटा माइक्रो चिप्स स्क्यानर हुन्छ । स्क्यानरले चिप्स राखेको ठाउँमा स्क्यान गर्दा त्यो नम्बर देखिन्छ । त्यो नम्बरलाई सफ्टवेयरमा राखिन्छ । सफ्टवेयरमा जनावरको बारेमा सबै विवरण हुन्छ । जस्तो, कुकुर कुन जातको हो, भाले पोथी के हो, उसको घरधनी को हो,  घरधनीको नाम, नम्बर, नागरिकता नम्बर, ठेगाना सबै  विवरण राखिएको हुन्छ ।

यो कुनकुन घरपालुवा जनावरमा राख्नुपर्ने हुन्छ ?

नेपालमा विशेषगरी घरपालुवा जनावरको रूपमा कुकुर र बिरालो पाल्ने गरिन्छ । त्यसैले कुकुर र बिरालोलाई मात्र यो राख्नुपर्ने हुन्छ ।

माइक्रो चिप्स राख्न कति खर्च लाग्छ ?

माइक्रो चिप्स राख्न एक हजारदेखि दुई हजार रुपैयाँसम्म पर्न सक्छ । यो राख्नको लागि महानगरले सहजीकरण गरिदिन्छ  । महानगरले तोकेको स्थानमा नै जनावर लगेर माइक्रो चिप्स राख्दा एक हजार रुपैयाँ पर्‍यो भने मेरो घरमै आएर माइक्रो चिप्स राख्दिनुपर्‍यो भन्दा एक हजार ५०० पर्न सक्ला ।

यस्तो नराख्नेलाई के कारबाही हुन सक्छ ?

यही आर्थिक वर्षमा यसको प्रक्रिया सुरु गर्ने तयारी छ । महानगरको घरपालुवा जनावरमा अनिवार्य रूपमा माइक्रो चिप्स राख्नुपर्छ । यो अनिवार्य हो नराख्ने भन्न पाइँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?