२३ मंसिर, काठमाडौं । कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टीकापुर र गरुडा नगरपालिका विजयी भएका छन् । समूह ‘बी’ बाट युथ अफ टीकापुरले सेमिफाइनलमा स्थानसमेत पक्का गरेको छ।
शनिबार सम्पन्न पहिलो खेलमा युथ अफ टीकापुरले कैलाली मल्टिपल क्याम्पसलाई पराजित गर्दै समूह चरणका तीनवटै जितको साथ सेमिफाइनलमा स्थान सुरक्षित गर्यो ।
युथ अफ टीकापुरले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा निर्धारित ११ ओभरमा कैलालीले ७ विकेट गुमाएर ७९ रन मात्र बनाउन सक्यो ।
कैलालीको ब्याटिङमा कप्तान दीपक कँडेलले सर्वाधिक ३८ रन र पारस रोकायाले १२ रन योगदान दिए । युथ अफ टीकापुरका सुमित महर्जनले २ विकेट लिँदा मोहम्मद हुसेन, हरि चौहान, गौतम केसी र प्रकाश जैसीले १/१ विकेट लिए ।
खराब मौसमका कारण ११ ओभरमा घटाइएको खेलमा टस जितेर ब्याटिङ गर्दै युथ अफ टीकापुरले ७ विकेट गुमाएर ९४ रन बनायो।
टीकापुरको लागि प्लेयर अफ द म्याच घोषित गौतम केसी तथा प्रकाश जैसीले समान ३४ रनको योगदान दिए । केसीले २७ बलमा १ चौका र ३ छक्का हानेका थिए भने जैसीले २२ बलमा ३ चौका र १ छक्का प्रहार गरे । ३८ रनमा ४ विकेट गुमेको अवस्थामा केसी र जैसीले छैठौं विकेटको लागि ५५ रनको साझेदारी गरेका थिए ।
कैलालीको बलिङमा अभिषेक कुँवर र सुशील विष्टले २/२ तथा लोकेन्द्र खनाल र पारस रोकायाले १/१ विकेट लिए।
शनिबार भएको दोस्रो खेलमा गरुडा नगरपालिकाले विजयी सुरुवात गर्ने क्रममा सुदूरपश्चिमाञ्चल एकेडेमीलाई ९८ रनले पराजित गर्यो । गरुडाले दिएको १७४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमाञ्चल एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ७५ रन मात्र बनाउन सक्यो ।
सुदूरपश्चिमाञ्चल एकेडेमीको लागि निसान रेग्मीले १८ तथा सौर्य श्रेष्ठले १४ रन बनाए । गरुडाका बलर धर्मेन्द्र साहले ४ विकेट लिए जुन क्रममा उनले ४ ओभरमा १२ रन मात्र खर्चिए । नरेश शाह, रुपेश सिंह र नितेश यादवले १/१ विकेट लिए ।
टस जितेर ब्याटिङ गरेको गरुडाले २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनायो ।
गरुडाको लागि रुपेश सिंहले आक्रामक ब्याटिङ गर्दै ६० रन योगदान दिए जुन क्रममा उनले २९ बलमा ५ चौका र ५ छक्का प्रहार गरे । निश्चल बिक्रमले अविजित ४३ रन बनाए जुन क्रममा २३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । ७६ रनमा ६ विकेट गुमेको अवस्थामा रुपेश र निश्चलले ७४ रनको साझेदारी गरे ।
सुदूरपश्चिमाञ्चलको बलिङमा पारस सुनार र सन्दीप विष्टले २/२ विकेट लिए । प्रकाश जोशी, वीरेन्द्र चन्द, सौर्य श्रेष्ठ र सागर साउदले १/१ विकेट लिए।
प्रतियोगिता अन्तर्गत शनिबार पनि दुई खेल हुनेछन् । पहिलो खेल विहान ९ बजे घोडाघोडी क्रिकेट एकेडेमी र गरुडा नगरपालिकाबीच तथा दोस्रो खेल दिउँसो १ बजे सत्यवती एकेडेमी र लिटल एन्जल्सबीच हुनेछ।
लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो । प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टिमको सहभागिता रहेको छ।
 
                    










 २०८० मंसिर  २३ गते १८:०४
                        २०८० मंसिर  २३ गते १८:०४                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4