+
+

सार्क बडापत्र दिवसको सन्देशमा भारत र पाकिस्तानबीच घोचपेच

भारत र पाकिस्तानबीच जारी मनमुटावका कारण नौ वर्षदेखि रोकिएको सार्क शिखर सम्मेलन कहिले हुने हो अझै यकिन छैन । जबकि सार्क बडापत्र दिवसको सन्देशमा समेत भारत र पाकिस्तानबीच घोचपेच जारी छ ।

दिपेश शाही दिपेश शाही
२०८० मंसिर २४ गते २१:०१
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री अन्वार उल हक ककर ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को बडापत्र जारी भएको ३९औं वर्षगाँठका अवसरमा अफगानिस्तान बाहेकका सदस्य राष्ट्रका प्रमुखहरूले सन्देश जारी गरेका छन् । तर, सदस्य राष्ट्रहरू भारत र पाकिस्तानबीच जारी मनमुटावका कारण विगत नौ वर्षदेखि रोकिएको सार्क शिखर सम्मेलन हुनेमा भने फेरि पनि थप अनिश्चितता बढेको छ ।

शिखर सम्मेलन रोकिनुका मुख्य कारक राष्ट्रहरू भारत र पकिस्तानले सार्कको ‘३९औं चार्टर्ड डे’ का अवसरमा जारी सन्देशमा समेत एकअर्कालाई घोचपेच गरे पनि संगठनको आवश्यकता भने औंल्याउन छाडेका छैनन् ।

जारी सन्देशमा भारतले सार्कको बडापत्रमा उल्लेख भए अनुसार सहकार्य गर्न ‘शान्ति र सुरक्षाको वातावरणमा मात्रै सम्भव हुने उल्लेख गरेको छ भने पाकिस्तानले भने ‘सार्वभौम समानता र पारस्परिक सम्मान हुनुपर्ने’ उल्लेख गरेको छ ।

भारत र पाकिस्तानबीच जारी तनावका मुख्य विषय नै दुवै देशका सरकार प्रमुखहरूले काठमाडौंस्थित सार्क सचिवालयलाई पठाएको सार्क बडापत्र दिवसको सन्देशमा उल्लेख गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा जारी सन्देशमा भनिएको छ, ‘दक्षिण एसियाली क्षेत्रका जनताको हितमा मिलेर काम गर्ने सार्कको स्थापनाको उद्देश्य प्राप्त गर्न शान्ति र सुरक्षाको वातावरणमा मात्र सम्भव छ । भारत यो उद्देश्य हासिल गर्न प्रतिबद्ध छ । साथै, यस सम्बन्धमा सहयोगी र सकारात्मक दृष्टिकोण अपनाउनेछ ।’

यस्तै उनले अगाडि उल्लेख गरेका छन्, ‘सार्क बडापत्र दिवसको वार्षिकोत्सव मनाउने क्रममा शान्तिपूर्ण र समृद्ध दक्षिणएसियाको साझा दृष्टिकोणलाई साकार पार्न मिलेर काम गर्ने संकल्प गरौं ।’

यो सन्देशमा भारतले सधैं पाकिस्तान बारे सार्वजनिक गर्दै आएको आतंकवाद प्रवद्र्धनको आरोपलाई परोक्ष हिसाबले दोहोर्‍याएको छ ।

यस्तै पाकिस्तानले आफ्नो सार्वभौमिकताको सम्मान भारतले नगरेको आरोप लगाउँदै आएको छ । यही कारण कतिपय सन्दर्भमा दुई मुलुकका सुरक्षा संयन्त्रबीच भिडन्त समेत हुने गरेको छ ।

सार्क बडापत्र दिवसको सन्दर्भमा जारी सन्देशमा पाकिस्तानी प्रधानमन्त्री अन्वार उल हक ककरले पनि सो विषयलाई उठाएका छन् ।

‘पाकिस्तान क्षेत्रीय र राष्ट्रिय विकासका लागि क्षेत्रीय सहकार्यको शक्ति र क्षमतामा दृढ विश्वास गर्दछ’ पाकिस्तानी प्रधानमन्त्री ककरले सन्देशमा उल्लेख गरेका छन्, ‘साथै, सार्क बडापत्रमा उल्लेख भए जस्तै पारस्परिक सम्मान र सार्वभौमसत्ताको मूल सिद्धान्तको पालना गरेर मात्र यसलाई हासिल गर्न सकिन्छ भन्नेमा पनि उत्तिकै दृढ छ ।’

उनले सार्कप्रति पाकिस्तानको प्रतिबद्धता दोहो¥याउँदै अहिले देखिएका बाधाहरू संगठनको सहजताका लागि फुकाइने र सार्क सदस्य राष्ट्रहरूलाई अगाडि बढ्न सक्षम बनाउनका लागि पारस्परिक लाभको बाटोबाट अघि बढाइने विश्वास समेत उनले व्यक्त गरेका छन् ।

सार्कलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

सार्क बडापत्रको ३९औं वर्षगाँठको अवसरमा सदस्य राष्ट्रका सरकार प्रमुख र केही परराष्ट्र मन्त्रालय समेतले जारी गरेका सन्देशमा सार्कलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

सार्कको अध्यक्ष राष्ट्र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्क गठन भएको सन् १९८० को दशक आर्थिक, सामाजिक, सांस्कृतिक, वैज्ञानिक र प्राविधिक क्षेत्रमा क्षेत्रीय एकता र विकासको नयाँ बाटो तय गर्न यस क्षेत्रका नेताहरूले गरेको प्रयासलाई स्मरण गरेका छन् ।

‘बडापत्रमा उल्लिखित आदर्श र ठोस प्रतिबद्धताहरू प्रभावकारी सामूहिक कार्यबाट मेल खाने विकास र सहयोगका लागि अपार सम्भावनाहरू सार्क गठन हुँदाको बेलामा जस्तै आशाजनक छन्’, प्रचण्डले सन्देशमा उल्लेख गरेका छन्, ‘गरिबी, कुपोषण जस्ता पुराना चुनौती र जलवायु परिवर्तन, साइबर सुरक्षा र प्रतिकूल जलवायुले बढाएको प्राकृतिक प्रकोप जस्ता नयाँ र उदीयमान चुनौतीलाई ध्यानमा राखेर भविष्यमा सहकार्यको आवश्यकता झनै बढेको छ ।’

उनले समझदारी, विश्वास, एकताको मूल्यहरूलाई सुदृढ गर्दै साझा प्रयास र सामञ्जस्यपूर्ण कार्यशैली मार्फत सार्क बडापत्रमा उल्लेख गरिएको प्रक्रियालाई थप जीवन्त, प्रभावकारी र परिणाममुखी बनाउन नेपाल सार्कको संस्थापक सदस्य र अध्यक्षको हैसियतमा आफ्नो भूमिका पूरा गर्न प्रतिबद्ध रहेको समेत उल्लेख गरेका छन् ।

बंगलादेशका प्रधानमन्त्री सेख हसिनाले पछिल्लो समय विश्वमा देखिएका विभिन्न परिघटनाले पनि सार्कको महत्व देखिएको उल्लेख गरेकी छन् । ‘सार्कको संस्थापकमध्येको एक देशका हिसाबले बंगलादेश यस क्षेत्रका जनताको सामाजिक, आर्थिक विकासका लागि विशेषगरी व्यापार, लगानी, ऊर्जा र कनेक्टिभिटी मार्फत सामूहिक सहकार्य गरी सार्कको उद्देश्य पूरा गर्न सकिन्छ’ हसिनाले उल्लेख गरेकी छन्, ‘विगत चार दशकमा सार्क बडापत्रले यस क्षेत्रका नागरिक र यहाँको जीवनशैलीमा परिवर्तन ल्याउन समृद्धिको मार्गदर्शन सिद्धान्त बनेको छ । सार्क अहिले पनि तमाम चुनौती सामना गरिरहेको छ । हाम्रो संयुक्त योगदानले परिणाममुखी काम गर्न सकिन्छ भन्ने विश्वास छ ।’

उनले सन्देशमा सार्क गठन हुनुमा बंगलादेशका सार्क पिता भनेर चिनिने बंगबन्धु सेख मुजिबुर रहमानको भूमिकालाई समेत स्मरण गरेकी छन् । भुटान सरकारका प्रमुख सल्लाहकार चोग्याल दागो रिग्जिनले प्राकृतिक स्रोत र मानव साधनको प्रयोग गरी समृद्धिको आकांक्षा हासिल गर्न सकिने उल्लेख गरेका छन् ।

‘विशाल प्राकृतिक स्रोत र मानव पूँजीले सम्पन्न तथा समृद्ध सांस्कृतिक विविधताले सजिएको हाम्रो क्षेत्रको क्षेत्रीय विकास र समृद्धिको साझा आकांक्षा पूरा गर्ने क्षमता र शक्ति छ’ उनले सन्देशमा उल्लेख गरेका छन्, ‘भुटान सार्क प्रक्रियालाई थप सुदृढ गर्न र यस क्षेत्रमा शान्ति र समृद्धिको साझा उद्देश्य पूरा गर्न सदस्य राष्ट्रहरूसँग मिलेर काम गर्न तयार छ ।’

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइजुले क्षेत्रीय चुनौतीलाई सम्बोधन गर्न र साझा लक्ष्यहरू अगाडि बढाउन सार्कले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् । ‘यो दिन मनाउने क्रममा बडापत्रका सिद्धान्तहरूमा आफूलाई पुनः प्रतिबद्ध गरौं र अझ लचिलो र अन्तरसम्बन्धित दक्षिणएसिया निर्माणमा सहयोग सुदृढ गर्ने दिशामा काम गरौं’, राष्ट्रपति मुइजुले उल्लेख गरेका छन् ।

उनले सार्कका साझा लक्ष्यहरू हासिल गर्न माल्दिभ्स प्रतिबद्ध रहेको भन्दै यस क्षेत्रका नागरिकका लागि दिगो शान्ति र समृद्धि सिर्जना गर्न सक्षम हुने आशा व्यक्त गरेका छन् ।

श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले यस क्षेत्रको आर्थिक समृद्धि, सामाजिक प्रगति, सांस्कृतिक विकास र नागरिकका हित प्रवद्र्धन गर्न मित्रता, विश्वास र समझदारीमा सामूहिक समाधानका लागि निरन्तर काम गरिरहेको भन्दै सार्कको महत्व उल्लेख गरेका छन् ।

‘विगत केही वर्षहरू दक्षिण एसियाली क्षेत्रका लागि चुनौतीपूर्ण समय रहे पनि हामीले नागरिकको समृद्धि हासिल गर्ने साझा उद्देश्यमा सन्तोषजनक यात्रा गरेका छौं’ विक्रमासिंघेले उल्लेख गरेका छन्, ‘एक संस्थापक सदस्यका रूपमा श्रीलंका यो सार्कका अपार सम्भावनालाई सदुपयोग गर्न प्रतिबद्ध छ ।’

बंगलादेशको राजधानी ढाकामा २३ मंसिर २०४२ (८ डिसेम्बर १९८५) मा आयोजित पहिलो सार्क शिखर सम्मेलनले यसको बडापत्र जारी गरेको थियो । बडापत्रमा नेपालका तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाह, भारतका प्रधानमन्त्री राजीव गान्धी, बंगलादेशका राष्ट्रपति हुसेन मुहम्मद एरसद, भुटानका राजा जिग्मे सिग्मे वाङ्चुक, माल्दिभ्सका राष्ट्रपति मौमुन अब्दुल गयुम, पाकिस्तानका राष्ट्रपति जिया उल हक र श्रीलंकाका राष्ट्रपति जुनियुस रिचार्ड जयवद्र्धनेले हस्ताक्षर गरेका थिए ।

बडापत्र घोषणाको ३९औं वर्षगाँठका अवसरमा सार्कका सदस्य राष्ट्रहरूले यसको आवश्यकता औंल्याए पनि सक्रिय बनाउनेमा प्रतिबद्धता सार्वजनिक गर्न सकेका छैनन् ।

भारत–पाकिस्तान तनावले अनिश्चित शिखर सम्मेलन

सार्क गठन भएर बडापत्र घोषणा भएको ३९ वर्षमा सार्कका १८ वटा शिखर सम्मेलन सम्पन्न भएका छन् । पछिल्लो १८औं शिखर सम्मेलन २०१४ को नोभेम्बर २६–२७ मा काठमाडौंमा सम्पन्न भएको थियो । सोही सम्मेलनदेखि नेपाल सार्कको अध्यक्ष छ । यही सम्मेलनले १९ शिखर सम्मेलन आयोजनाको जिम्मा पाकिस्तानलाई दिएको थियो ।

नेपालले सम्मेलन आयोजनाको जिम्मा दिएपछि सन् २०१६ मा पाकिस्तानलाई अध्यक्षता पनि हस्तान्तरण गर्नुपर्ने थियो । तर १५ देखि १९ नोभेम्बरमा २०१६ मा पाकिस्तानले इस्लामावादमा आयोजना गरेको १९औं शिखर सम्मेलनमा भारतले सहभागी नहुने जनाएपछि अध्यक्ष राष्ट्रका हैसियतमा नेपालले सम्मेलन स्थगित गरेको थियो ।

भारतले पाकिस्तानमा हुने सम्मेलनमा सहभागिता नजनाउने अडान लिनुका पछाडि सम्मेलनको मितिभन्दा दुई महिना अगाडि जम्मु काश्मिर क्षेत्रमा भएको आक्रमण थियो ।

जम्मु काश्मिर राज्यको उरीमा भारतीय सुरक्षा बेसक्याम्पमा १८ सेप्टेम्बर आक्रमण भएपछि भारतले पाकिस्तानमाथि त्यसको आरोप लगायो । त्यसबाहेक सो समयमा काश्मिरमा सन् २०१६ मा भड्किएको हिंसामा पनि भारतले पाकिस्तानमाथि आरोप लगाउँदै आएको छ ।

आक्रमणपछि भारतीय विदेश मन्त्रालयले नेपाललाई सीमा क्षेत्रमा आतंकवादी आक्रमण भएको र आफ्नो आन्तरिक मामिलामा सदस्यको हस्तक्षेप बढ्दै गएको भन्दै पाकिस्तानमा आयोजना हुन लागेको १९औं शिखर सम्मेलनमा सहभागी नहुने पत्र लेखेको थियो ।

भारतले सम्मेलनमा सहभागी नहुने जनाएपछि अफगानिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटानले पनि सम्मेलनमा सहभागी नहुने जनाएका थिए । तर कारण भने फरक–फरक दिएका थिए ।

बंगलादेशले आफ्नो आन्तरिक मामिलामा पाकिस्तानको बढ्दो हस्तक्षेपलाई कारण देखाएको थियो ।

अफगानिस्तानले आन्तरिक मामिलालाई कारण देखाएको थियो । त्यतिबेला अफगानिस्तानमा हिंसा बढेको र सेनाका कमाण्डर इन चिफको हैसियतमा रहेका राष्ट्रपति असरफ घानी सम्मेलनमा सहभागी हुन नसक्ने जनाएको थियो ।

भुटानले यस क्षेत्रमा बढेको आतंकवादी गतिविधिले सम्मेलन सफल हुन नसक्ने भन्दै सहभागिता नजनाउने बताएको थियो भने श्रीलंकाले सार्क क्षेत्रको तत्कालीन परिस्थितिले सम्मेलन सफल हुन नसक्ने भन्दै स्थगित गर्न प्रस्ताव गरेको थियो ।

माल्दिभ्सले पनि सुरुमा सम्मेलनका लागि वातावरण बनाउन जोड दिइरहेको थियो भने पछि आएर सहभागी नहुने जानकारी नेपाललाई पठाएको थियो ।

त्यसपछि कोभिड महामारी सुरु भएका कारण केही समय सार्क सम्मेलनको विषय सेलाएको थियो । यद्यपि, महामारीको बेलामा पनि सार्कको भूमिकाको खोजी भने भएको थियो । सोही बेला भारतीय प्रधानमन्त्री मोदीको प्रयासमा १८औं सार्क शिखर सम्मेलन भएको ६ वर्षपछि १६ मार्च २०२० (३ चैत २०७६) मा सार्कका शीर्ष नेताबीच भिडियो कन्फरेन्स भएको थियो । त्यसयता यो स्तरमा सार्कका कुनै गतिविधि हुनसकेका छैनन् ।

पछिल्लो समय काठमाडौंमा रहेको सार्कको सचिवालय नै रिक्त हुने अवस्थामा पुगेको थियो । तर नेपालको कूटनीतिक प्रयासमा बंगलादेशका कूटनीतिज्ञ गोलाम सरवर सार्क महासचिव नियुक्त भएका छन् । उनले गत कात्तिकदेखि सार्क सचिवालयको जिम्मेवारी सम्हालेका हुन् ।

वर्णानुक्रम अनुसार सार्क सचिवालयको नेतृत्व गर्ने पालो अफगानिस्तानको थियो । तर त्यतिबेला भर्खरै तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेको सदस्य राष्ट्रले त्यसलाई मान्यता दिइनसकेको हुँदा बंगलादेशले उक्त अवसर पाएको हो ।

अहिले सार्क सचिवालय रिक्त हुनबाट जोगिए पनि शिखर सम्मेलनका विषयमा भने पर्याप्त पहल र चासो लिएको देखिंदैन ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?