
काठमाडौं । राजन कठेत र सुनिर पाण्डे निर्देशित ‘नो विन्टर होलिडेज’ले नेपाल मानवअधिकार फिल्म फेस्टिभलमा उत्कृष्ट फिचर–डकुमेन्ट्री विधामा अवार्ड जितेको छ ।
मंगलबार काठमाडौंमा सम्पन्न फेस्टिभलको ११औं संस्करणमा उक्त डकुमेन्ट्रीको नेपाल प्रिमियर गरिएको थियो । छोटो फिल्मको विधातर्फ आकांक्षा कार्कीको ‘सनाई’ले ‘बेष्ट न्यारेटिभ’ अवार्ड पाएको छ ।
सर्ट डकुमेन्ट्री विधामा चाहिँ नेपालका एलएसएम र सहयोगराज अधिकारीको ‘यात्रा’ उत्कृष्ट बन्यो ।
उत्कृष्ट सर्ट डकुमेन्ट्री इन्टरनेसनलतर्फको अवार्ड भने स्पेनका जुलेन जुबिटको ‘अ माउण्टेन अफ मेमोरिज’ले हात पारेको छ ।
महोत्सवमा उत्कृष्ट नेपाली महिला निर्देशकको अवार्ड ‘एज अफ लर्निङ’बाट शुभांगी खड्काले पाएकी छिन । छोटो कथानक अन्तर्राष्ट्रियतर्फ जर्मनीका जवाहिन जेनिटारको ‘अन माई फादर ग्रेभ’ उत्कृष्ट बन्यो ।
उत्कृष्ट कथानकका लागि बेलायतको एल्हम एहसासको सर्ट फिल्म ‘येल्लो’लाई र फिचर डकुमेन्ट्रीतर्फ सौरभ कान्ति दत्तको ‘फतिमा’लाई जुरी मेन्सन अवार्ड प्रदान गरियो ।
महोत्सवमा विश्वभरबाट खुल्ला आवेदनबाट संकलन गरिएका कथानक, वृत्तचित्र, एनिमेसन लगायत २७ देशका ५४ फिल्म स्क्रिनिङ गरिएको थियो । जुरी सदस्यमा बेलायतका माइकल ब्राउन, भारतकी अनुपमा बोस र नेपालकी पशुपति राई थिए ।
पर्यटन बोर्ड र चलचित्र विकास बोर्डमा चार दिनसम्म चलेको महोत्सवमा ‘सिनेमा विकासको लागि राजनीतिक प्रतिवद्धता’ र ‘सामूहिका अधिकार : अन्तर्राष्ट्रिय प्रतिवद्धता, अभ्यास र राज्यको दायित्व’ विषयमा राजनीतिकर्मी, अधिकारकर्मी र चलचित्रकर्मीबीच छलफल समेत चल्यो ।
महोत्सवमा मानव अधिकारसँग सम्बन्धित फोटो प्रदर्शनी पनि राखिएको थियो ।
प्रतिक्रिया 4