२६ मंसिर, काठमाडौं । सात दशक लामो इतिहास बोकेको नेपाली हक्की फेरि जुर्मुराउने तयारीमा रहेको छ ।
नेपाल हक्की संघले मंगलबार आफ्नो वार्षिक कार्यक्रक सार्वजनिक गर्दै यस वर्ष विभिन्न ७ प्रतियोगिता गर्ने जनाएको छ ।
डेभलपमेन्ट अफ नेशनल स्पोर्ट्स सिस्टम-डीएनएसएस लेभल टु कोर्सको समापन कार्यक्रमको अवसरमा संघले वार्षिक कार्यक्रम पनि सार्वजनिक गरेको हो ।
जसमध्ये पहिलो कार्यक्रम अन्तर्गत रहेको हक्की कोचेज ट्रेनिङ डीएनएसएस लेभल टु कोर्स मंसिर २० देखि २६ गतेसम्म सम्पन्न भइसकेको छ ।
यसअघि डीएनएसएस लेभल वान कोर्स र एफआईएचए-एएचए नेपाल नेशनल अम्पाइरिङ कोर्स पनि सम्मपन्न भइसकेको छ ।
प्रतियोगिताहरुबाट नै खेल प्रतिभाको पहिचान गर्न सकिने र प्रतियोगिताले नै खेलाडीलाई पलयान हुनबाट रोक्न सकिने भन्दै संघले प्रतियोगिताको सूची सार्वजनिक गरेको हो ।
यस बाहेक संघले शहाना प्रधान राष्ट्रिय महिला हक्की च्याम्पियनसिप र गिरिजा प्रसाद कोइराला राष्ट्रिय पुरुष हक्की प्रतियोगितालाई निरन्तरता दिँदै केही नयाँ प्रतियोगिता समेत गर्ने जनाएको छ ।
शहाना प्रधान महिला हक्की आगामी फागुनमा काभ्रेको धुलिखेलमा र गिरिजा प्रसाद कोइराला पुरुष हक्की चैतमा विराटनगरमा गर्ने कार्यक्रम छ ।
यस्तै नगरपालिका स्तरिय हक्की प्रतियोगिता आगामी पुसमा हेटौँडामा हुनेछ ।
यसैगरी मदन भण्डारी कप महिला हक्की राष्ट्रि प्रतियोगिता माघ अन्तिम साता जनकपुरमा गर्ने तालिका । यस बाहेक महिला र पुरुष दुवैको प्रदेश स्तरिय हक्की च्याम्पियनसिप आगामी वैशाखमा हेटौँडा/चितवनमा हुनेछ भने महिला र पुरुक्ष दुवैको इन्डोर हक्की प्रतियोगिता आउँदो जेठमा पोखरामा गर्ने तयारी छ ।
यस्तै भेट्रान्स कप पनि काठमाडौंमा अर्को वर्ष गर्ने कार्यक्रममा समावेश छ ।
वार्षिक कार्यक्रम सार्वजनिक कार्यक्रममा नेपाल हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्माले प्रशिक्षक र अम्पायरको प्रशिक्षणपछि संघ प्राविधिक रुपमा सबल भएको र अब यसलाई फिल्डमा प्रभावकारी ढंगले लागु गर्ने बताए ।
२०११ सालमा सातौं खेलको रुपमा राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको हक्कीको राम्रो इतिहास भएपनि वर्तमानमा भने हक्की गुमनाम जस्तै बनेको थियो ।
‘हक्की इतिहास बोकेको खेल हो । पछिल्लो समयम यो खेल चर्चामा थिएन । अब नयाँ कार्यसमिति बएपछि हामीले लेभल वान र लेभल टु कोचिङ कोर्स र अम्पायर कोर्स गरिसकेका छौँ । अब विभिन्न प्रतियोगिताहरु गर्ने तयारीमा छौँ’, संघका महासचिव सुवर्ण श्रेष्ठले भने ।
कार्यक्रममा हक्कीका पूर्व मुख्य प्रशिक्षक अशोक पाण्डेलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया 4