
काठमाडौं । ‘कबड्डी ४’ फेम्ड अभिनेत्री गौमाया गुरुङ विश्वप्रसिद्ध बर्लिन फिल्म फेस्टिभल अन्तर्गतको ‘बर्लिनाले ट्यालेन्ट’मा छनोट भएकी छन् । फेब्रुअरी १७ देखि २२ सम्म हुने उक्त ट्यालेन्टका लागि उनी ‘एक्टर’ विधामा छनोट भएकी हुन् ।
आयोजकले उनलाई इमेलमार्फत छनोट भएको जानकारी दिएका छन् । ‘बर्लिनाले ट्यालेन्ट’को आधिकारिक घोषणा चाहिं जनवरीमा हुनेछ । ‘मैले हरेक बिहान इमेल चेक गर्थें । आज बिहानै यो खुसीको खबर सुनें,’ अनलाइनखबरसँग उनले भनिन् ।
यो कार्यक्रममा समावेश हुनका लागि १३१ मुलुकबाट ३ हजार ८३२ जनाले आवेदन दिएका थिए । जसअनुसार १४ विधामा २०० जना छनोट भएका हुन् । ‘बर्लिनाले ट्यालेन्ट’मा छनोट भएपछि अब गौमायाले विश्व सिनेमाका चर्चित फिल्ममेकर र कलाकारबाट अभिनयको तालिम लिनेछिन् ।
‘म निकै उत्सुक छु कथावाचनको एउटा हिस्सा पाउन पाउँदा,’ उनले भनिन् ।
यसपटक बर्लिनाले ट्यालेन्टको मुख्य थिम ‘सिनेमाको मातृभाषा’ भन्नेछ । आफूलाई यो कार्यक्रममा सहभागी हुन निर्देशक दीपक रौनियार र अभिनेत्री आशा मगरातीले मद्दत गरेको उनले बताइन् । गुरुङले रौनियार निर्देशित फिल्म ‘राजागञ्ज : स्काइ इज माइन’मा हालै काम गरेकी थिइन् ।
कबड्डी ४ बाहेक उनले फूलबारी, १९१५ : लिजेन्ड अफ गुर्खाज, राजागञ्ज र महाजात्रामा अभिनय गरेकी छन् । चाँडै उनले त्रिवेणी राईले निर्देशन गर्ने सिक्किमको फिल्म ‘छोराजस्तै’मा अभिनय गर्दैछिन् । बर्लिनाले ट्यालेन्टमा सहभागी हुन फेब्रुअरीमा उनी जर्मनी जानेछिन् ।
प्रतिक्रिया 4