+

फलफूल राति खान मिल्छ ?

२०८० पुष  ४ गते १८:११ २०८० पुष ४ गते १८:११
फलफूल राति खान मिल्छ ?

फलफूलमा फाइबर र एन्टीअक्सिडेन्ट भरपुर हुन्छ । फलफूल दैनिक खाँदा छाला आकर्षक हुने र रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुग्छ । फलफूल खाने खास यही समय भन्ने त छैन, तर पनि बिहान वा दिउँसो खाने चलन छ । यसमा प्रश्न आउँछ के राति फलफूल खाँदा कुनै हानि गर्छ त ?

यसमा धेरै हदसम्म सत्यता छ । शरीरलाई चिसो प्रदान गर्ने भएकाले सकेसम्म सुन्तला, केराजस्ता फलफूल राति नखाएकै राम्रो हुन्छ । आयुर्वेदमा फलफूल मात्रा नभई अन्य खानेकुरा पनि सूर्यास्तअघि नै खानुपर्छ भन्ने उल्लेख छ ।

दिनभरको कामले शरीरलाई थकाइ लागेजस्तै पाचन अंगहरुलाई पनि थकाइ लाग्छ । सूर्यास्तपछि फलफूल वा अन्य खानेकुरा खाँदा मुटु र कलेजोलाई धेरै भार पर्छ ।

कहिले खाने ?

सबै फलफूलको आ-आफ्नै गुण हुन्छ । तर फलफूल खाने उत्कृष्ट समय बिहान हो भने दिउँसो खाँदा पनि फाइदाजनक नै हुन्छ । जस्तै, अम्लीय वर्गको फलफूलमा प्रशस्त मात्रामा भिटामिन सी र एन्टीअक्सिडेन्ट हुन्छ । यस्ता फलफूल बिहान सेवन गरेमा शरीरको प्रतिरोधी क्षमता बढाउँछ । शरीरका विषाक्त तत्व निकाल्न सहयोग गर्छ ।

कसरी खाने ?

फलफूलमा स्वाद बढाउन नुन, कालो मिर्ची र चाट मसला मिसाएर खाने चलन छ । यसरी खाँदा रगतमा सोडियमको मात्रा बढेर उच्च रक्तचाप हुने जोखिम हुन्छ । फलफूलमा प्राकृतिक रुपमा नुन हुने भएकाले त्यत्तिकै खाँदा हुन्छ । फलफूलमा पाइने फाइबर नष्ट हुन नदिन सकेसम्म जुस बनाएर नखानु राम्रो हुन्छ ।

कस्तो फलफूल खाने, कति खाने ?

प्राकृतिक रुपमा उत्पादन भएको मौसमी फलफूल खानुपर्छ । कोल्ड स्टोरमा राखिएको वा प्रशोधित गरिएका फलफूल खानु त्यति स्वास्थ्यवर्द्धक मानिंदैन ।

जुनसुकै खानेकुरा भोक लागेमा मात्रै खानुपर्छ । फलफूल पनि भोक लागेको बेलामा मात्रा मिलाएर दिनको दुईपटकसम्म खान सकिन्छ । यसमा फाइबर भरपुर मात्रामा हुने भएकाले यसले मेटाबोलिजमलाई सक्रिय बनाउँछ, तर धेरै खानु भने हुँदैन । फलफूलमा प्राकृतिक चिनीको मात्रा प्रशस्त हुने भएकाले धेरै खाँदा रगतमा चिनीको मात्रा बढ्न सक्छ ।

फलफूलसँगै अन्य खानेकुरा खाने कि नखाने ?

आयुर्वेदमा फलफूलसँग अन्य खानेकुरा खान सकिने उल्लेख छ । बरु खानेकुरा खाने बेलामा पहिला सलाद र फलफूल खानुपर्छ । त्यसपछि अन्य कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थको सन्तुलन मिलाएर खानुपर्छ । यसरी खाँदा खाना पचाउन सहज हुन्छ । तर अन्य खानेकुरा सुरुमा खाने र अन्तिममा फलफूल वा सलाद खाँदा पेट फुल्ने, अपच जस्ता समस्या निम्त्याउन सक्छ ।

धेरै फलफूल एकैचोटि खान मिल्छ ?

छुट्टाछुट्टै फलफूल एकैचोटि खान मिल्छ । नेपालमा एउटै मौसममा पनि विभिन्न स्वादका फलफूल फल्छन् । जस्तै, जाडोयाममा सुन्तला, हलुवाबेद, नास्पाती, अंगुर, किबी, अनार, सुन्तला, भोगटे पाइन्छ । यसलाई सन्तुलन मिलाएर खाँदा उपयुक्त हुन्छ ।

खानेकुरा फलफूल
डा. प्रकाश ज्ञवाली
लेखक
डा. प्रकाश ज्ञवाली
आयुर्वेदिक चिकित्सक

डा. ज्ञवाली हाल काठमाडौं टेकुस्थित आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा विभागमा कार्यरत छन् । उनको नेपाल आयुर्वेदिक मेडिकल काउन्सिल दर्ता नम्बर १५१ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय