+
+

एनएसएल २०२३ : पोखरा र धनगढी आज पहिलो क्वालिफायरमा भिड्दै

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० पुष ९ गते ९:१२

९ पुस, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज देखि प्लेअफ चरणका खेलहरु हुँदैछन् । त्यो भनेको नकआउट खेल हुनेछ ।

९ टोली सहभागी एनएसएलमा लिग चरणका ३६ खेल सकिएपछि शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाएका थिए ।

त्यसमा पहिलो शीर्ष स्थानमा रहेको पोखरा थण्डर्स र दोस्रो स्थानको धनगढी एफसीबीच आज पहिलो क्वालिफायर हुनेछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । यो खेल सेमिफाइनल जस्तै हुनेछ । जित्ने टिम सीधै फाइनल पुग्नेछ र उपाधिको एक कदम नजिक आफूलाई उभ्याउनेछ ।

तर, पराजित हुने टिम पनि बाहिरिनेछैन । उसले पनि अर्को एक अवसर पाउनेछ । लिगमा पहिलो र दोस्रो हुने क्लबलाई फाइदा नै यही हो ।

२०७८ मा भएको पहिलो सिजनमा शीर्ष चारमा पर्न नसकेको पोखराले यस सिजन सबैभन्दा सुरुमा प्लेअफमा स्थान बनाएको थियो र लिगमा ८ मध्ये ४ जित ३ बराबरी र १ हारको नतिजासहित १५ अंक जोडेर शीर्षमा रह्यो ।

उता साविक उपविजेता धनगढी ३ जित ४ बराबरी र १ हारपछि १३ अंक जोडेर दोस्रो भएको थियो ।

लिग चरणमा पोखरा र धनगढीबीच अन्तिम चरण अर्थात आठौं चरणमै खेल भएको थियो । खेल १-१ को बराबरीमा टुङ्गिएको थियो ।

दुवै टोलीले प्लेअफमा स्थान बनाइसकेको अवस्थामा केही खेलाडीलाई आराम दिएको थियो । धनगढीले सुरुमा अग्रता बनाए पनि पोखराले अन्तिम समयमा गोल फर्काउँदै खेल बराबरी गरेको थियो ।

लिग चरणमा जस्तो नतिजा आएपनि खासै अर्थ नहुने भएकोले पनि पोखराले धनगढीविरुद्ध अन्तिम खेलमा कप्तान दिनेश राजवंशीसहित केही मुख्य खेलाडीलाई आराम दिएको थियो ।  मार्की आयुष घलान र मोसेस ग्याबाह दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेका थिए र मोसेसले नै बराबरी गोल गरेका थिए ।

अब क्वालिफायरमा भने दुवै टोली पहिलो रोजाइमा आफ्नो बलियो टिम उतार्ने योजनामा छन् ।

पोखराले पछिल्लो तीनमध्ये दुई खेल जित्दा एक खेल बराबरी गरेको थियो । उता धनगढीले पछिल्लो तीन खेलमा २ बराबरी खेल्दा १ हार बेहोरेको थियो ।

लिग चरणमा पोखरा नै राम्रो लयमा देखिएको थियो भने धनगढीले राम्रो सुरुवात गरेर पनि त्यसलाई कायम राख्न सकेन । सुरुको दुई खेल जितेर ६ अंक जोडेको धनगढीले बाँकी ६ खेलमा एक जित र ४ बराबरीबाट जम्मा ७ अंक मात्र जोड्न सक्यो ।

पोखराका मुख्य प्रशिक्षक नवीन न्यौपाने र धनगढीका मुख्य प्रशिक्षक युगल किशोर राई दुवैले यो क्वालिफायर महत्वपूर्ण र प्रतिस्पर्धात्मक खेल हुने बताएका छन् ।

पोखराका मुख्य प्रशिक्षक नवीन न्यौपानेले प्लेअफ पुगेका सबै टिम राम्रो रहेको भन्दै धनगढीविरुद्धको खेललाई महत्वपूर्ण रुपमा लिएको बताए । ‘धनगढीसँगको खेललाई भाइटल रुपमा लिएका छौं । सबै टिम सेट भइसकेको छ  । त्यो कारणले गर्दा लिगमा जस्तो प्लेअफमा अर्को विकल्प हुँदैन,’ न्यौपानेले भनेका छन् ।

धनगढीका मुख्य प्रशिक्षक किशोर राईले टप फोरमा परेका सबै टिम राम्रो रहेकोले  पोखराविरुद्धको खेल बेस्ट हुने बताए । ‘यो खेल बेस्ट मध्ये एक हुन्छ,’ उनले भने ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?