 
																			१० पुस, सिन्धुली । लेनदेनको विषयलाई लिएर महिलालाई बाँधेर कुटपिट गरेको आरोपमा पक्राउ परेका ७ जनाविरुद्ध प्रहरीले शरीर बन्धक सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले पीडितका श्रीमान् सन्तोष थापासहित पक्राउ परेकाहरुमाथि शरीर बन्धकको कसुरमा अनुसन्धान गर्न जिल्ला अदालतबाट ७ दिन हिरासतमा राख्न अनुमति लिएको छ ।
सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार सिलवाल भन्छन्, ‘यो अवधिमा सबैको बयान लिएर विस्तृत अनुसन्धान गर्छौं, संलग्न देखिने अरुलाई पनि कानुनी दायरामा ल्याउँछौं ।’
सिन्धुलीको कमलामाई नगरपालिका–४ मा गएको आइतबार ३७ वर्षीया शारदा थापालाई बन्धक बनाएर कुटपिट गरेको सूचना प्रहरीले पाएको थियो । लगत्तै एसपी सिलवालसहितको टोली त्यहाँ पुगेर उद्दार गरेको थियो । अर्धचेत अवस्थामा उद्दार गरेर ल्याएपछि प्रहरीले यसमा अनुसन्धान थालेको थियो ।
त्यसक्रममा श्रीमानसहित स्थानीय ६२ वर्षीय एक्कबहादुर खड्का, ३१ वर्षीय मिलन देवकोटा, ३४ वर्षीय निकेश ढकाल, ४२ वर्षीय ईश्वर पोखरेल, विष्णुकुमार ढकाल र ५२ वर्षीय वीरविक्रम ढकाल पक्राउ परेका थिए ।
पक्राउ परेकामध्ये देवकोटा कांग्रेसका स्थानीय नेता समेत हुन् । कमलामाई ४ का वडाध्यक्ष महेन्द्रप्रसाद ढकालले एक करोड २५ लाख रुपैयाँ ऋणको विषयलाई लिएर गाउँमा अमानवीय घटना भएको बताए ।
‘पीडित महिलाको श्रीमानले स्थानीयबाट ऋण लिनुभएको रहेछ, अहिले फिर्ता गर्न नसकेपछि श्रीमान् दबाबमा रहेछन्’, उनले अनलाइनखबरसँग भने, ‘त्यहीबीच श्रीमती छुट्टिएर जान लागेपछि यस्तो भएको रहेछ ।’
लेनदेन र महिलामाथि भएको यातनाको विषय फरकफरक भएको एसपी सिलवाल बताउँछन् । ‘लेनदेनको विषय छ भन्दैमा अमानवीय कार्य गर्ने छुट कसैलाई हुँदैन’, उनले भने, ‘प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको छ ।’
केहीदिनअघि पनि शारदाले आफूलाई श्रीमानले अपहरण गरेको भन्दै प्रहरीसमक्ष जानकारी गराएकी थिइन् । आफूलाई सिस्नु पानीले हान्ने गरेको समेत उनले प्रहरीलाई बताएकी थिइन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4