+
+

माइक्रोसफ्टका प्रमुख नाडेला बने वर्षको सर्वोत्कृष्ट सीईओ

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १२ गते १७:५३

१२ पुस, काठमाडौं । यो वर्ष सन् २०२३ मा विश्वभर आर्टिफिसियल इन्टेलिजेन्सको बोलवाला रह्यो । दुनियाँका हरेक ठूला प्रविधि कम्पनीले यो प्रविधिको प्रयोग गरिरहेका छन् ।

माइक्रोसफ्ट कम्पनीको लगानी रहेको ओपन एआई कम्पनीले बनाएको च्याट जीपीटी नामक एआई च्याटबटले ठूलो तहल्का मच्चाइरहेको छ ।

सोही कारण एआई सम्बन्धी योजना तय गर्न सफलता प्राप्त गरेको भन्दै माइक्रोसफ्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सत्य नाडेला सन् २०२३ को सीईओ अफ द इयर बनेका छन् ।

विश्वको सबैभन्दा ठूलो प्रविधि कम्पनी माइक्रोसफ्टले एआईमा अर्बौँ डलर लगानी गरेको छ । कम्पनीको यहीँ निर्णयकै कारण सत्य नाडेलालाई सीएनएनले वर्ष सीईओ घोषणा गरेको हो ।

माइक्रोसफ्टले हालै ओपन एआईसँगको साझेदारीलाई निरन्तरता दिइने घोषणा गरिसकेको छ । यसको माध्यमबाट माइक्रोसफ्टले ओपन एआई सर्भिस सहित आफ्ना सबै उपभोक्ता तथा इन्टरप्राइजेज प्रडक्टहरुमा ओपनएआईको प्रयोग गर्नेछ । यतिमात्र होइन ओपन एआईमा सुधारका लागि सुपर कम्प्युटिङ्ग सिस्टममा पनि लगानी गरिनेछ ।

नाडेलाको नेतृत्वमा विन्डोजको सफलता हासिल गरेसँगै माइक्रोसफ्ट कम्पनी पुनः एकपटक प्रविधि नवप्रवर्तकको रुपमा उदाइरहेको छ । यसैको नतिजास्वरुप अमेरिकी शेयर बजारमा माइक्रोसफ्टको शेयरमा यो वर्ष ५५ प्रतिशतले वृद्धि देखियो ।

नाडेलाले ओपएन एआईका सीईओ साम अल्टम्यान, चेसका सीईओ जेमी डिमोन तथा एनभिडियाका सीईओ जेन्सेन हुआङलाई पछि पार्दै वर्षको सर्वोत्कृष्ट सीईओको उपाधि जितेका हुन् ।

स्मरण रहोस् सीएनएन बिजनेस टिमले सन् २०१८ देखि हरेक वर्षको अन्त्यमा व्यवसायसँग सम्बन्धित एकजना यस्तो नेतृत्वको छनोट गर्दै आएको छ जसले सो वर्ष वैश्विक मञ्चमा उतकृष्ट कार्यसम्पादन गरेका हुन्छन् ।

नाडेलाका अनुसार यो वर्ष सन् २०२३ एआईको वर्ष रह्यो भन्नुमा कुनै शंका छैन । उनी भन्छन्, ‘हामी अहिले केवल आविष्कारको कुरामात्रै गरिरहेका छैनौं । हाम्रो अगाडि नयाँ-नयाँ प्रडक्टहरुको विकास भैरहेको छ र विश्वभर लोकप्रिय पनि बनिरहेका छन् । तर यो आविष्कार तबमात्रै सफल हुनेछ जब यसले हाम्रो करिअरलाई ससक्त बनाउन सक्दछ । अनि हाम्रा देशहरु तथा हाम्रा समुदायहरुमा यो काम लाग्नेछ ।’

को हुन् क्लाउड गुरु सत्य नाडेला ?

भारतीय मूलका अमेरिकी नागरिक सत्य नाडेलाको जन्म १९ अगष्ट १९६७ मा हैदरावादमा भएको थियो । उनको सुरुआती शिक्षा हैदरावादमै स्थानीय विद्यालयमा भएको थियो भने इन्जिनियरिङगको अध्ययनपछि उच्च शिक्षाका लागि उनी अमेरिका गएका थिए । उनले विस्कन्सिन युनिभर्सिटीबाट विज्ञानमा स्नातकोत्तर तथा सिकागो विश्वविद्यालयबाट एमबीए गरेका छन् ।

सन् १९९२ मा उनी माइक्रोसफ्टसँग जोडिएका थिए । उनले केवल २५ वर्षको उमेरमै माइक्रोसफ्टको सर्भर ग्रुपसँग काम गर्ने मौका पाएका थिए । उनलाई क्लाउड गुरुको नामले पनि चिनिन्छ । उनी माइक्रोसफ्टको सीईओ बन्नुअघि कम्पनीको क्लाउड तथा इन्टरप्राइज विभागका कार्यकारी उपाध्यक्ष थिए ।

सन् २०१४ को फेब्रुअरी ४ मा सत्य नाडेला माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका थिए । उनी कम्पनीको तेश्रो सीईओ हुन् । त्यसअघि माइक्रोसफ्टको सीईओको रुपमा सुरुमा संस्थापक बिल गेट्स र पछि स्टिभ बाल्मर रहेका थिए ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?