 
																			काठमाडौं । इतिहासको पुस्तक लेखियो भने सन् २०२३ गायिका टेलर स्वीफ्टको वर्षले पनि सम्झिइनेछ । वर्षको प्रारम्भसँगै सुरु भएको स्वीफ्टको ‘इरास टुर’ले अमेरिकामा मात्रै ६६ सांगीतिक शोका टिकट बिक्री गर्यो । कन्सर्ट सुरु नहुँदै यसले एक बिलियन डलरको कमाइ गर्यो ।
फ्यानले कन्सर्टको सबैभन्दा नराम्रो भनिएको सिटका लागि हजारौं डलर तिरिरहेका छन् । नयाँ सहरमा स्वीफ्टको उपस्थितिले मात्र नयाँ आर्थिक उछाल ल्याएको छ ।
क्वेसन–प्रोको हालैको अनुसन्धानअनुसार स्वीफ्टको कन्सर्टमा निस्कने जसलाई स्वीफ्टी भनिन्छ, उनीहरुले टिकटदेखि, यात्रा, आवास, खान र व्यवसायिक सामानमा लगभग ९३ मिलियन डलर खर्च गर्छन् ।
भ्रमणको अन्त्यसम्ममा अमेरिकी अर्थतन्त्रलाई ५.७ बिलियन डलरको झट्का लाग्नेछ । क्वेसन–प्रो रिचर्सका अध्यक्ष ड्यान फ्लीटवुड भन्छन्, ‘यदि टेलर स्विफ्ट अर्थतन्त्र भएको भए उनी ५० देशको अर्थतन्त्रभन्दा ठूलो आकारकी हुन्थिन् ।’
इलिनोइसका गभर्नर जेबी प्रिट्जकरले स्वीफ्टलाई राज्यको पर्यटन व्यवसायलाई पुनर्जीवित गर्ने श्रेय दिए । उद्योगमा स्वीफ्टको टुरको आर्थिक प्रभाव यति गहिरो थियो कि फेडरल रिजर्भले जारी गरेको प्रतिवेदनमा समेत यसलाई उल्लेख गरिएको थियो ।
त्यो सबै स्वीफ्टले आफ्नो टुरबारेको कन्सर्ट फिल्म रिलिज गर्नुकै तथ्यांक हो । यो फिल्मले पनि अहिलेसम्म विश्वव्यापी २५० मिलियन डलरभन्दा धेरै कमाइसकेको छ । रिलिज भएको दुई महिनाभन्दा बढी समयपछि पनि यो फिल्म सयौं हलमा प्रदर्शन भइरहेको छ ।
डलरबाहेक उनको सांस्कृतिक प्रभाव पनि महत्वपूर्ण हुनसक्छ । ‘स्वीफ्टोलोजी’को अध्ययन गर्न दश कलेजले पाठ्यक्रम बनाइसकेका छन् । यीमध्ये एउटा हार्वर्ड कलेजमा छ ।
उनले ‘कन्सास सिटी चिफ’का ट्राभिस केल्सेसँग डेटिङ गर्न थालेपछि खेलका टेलिभिजन दर्शकको संख्यामा पनि उल्लेखनीय वृद्धि भएको थियो । आधाभन्दा बढी अमेरिकीले आफूलाई स्वीफ्ट प्रशंसकको रूपमा मान्छन् ।
एनबीसी न्युजको ताजा सर्वेक्षणमा गायिका स्वीफ्टलाई राष्ट्रपति जो बाइडेन, पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य मुलुकका राष्ट्र प्रमुखभन्दा बढी रुचाइएको थियो । उनलाई वर्षव्यक्ति घोषित गर्दै टाइम म्यागजिनले स्वीफ्टलाई ‘आधुनिक युगको मास्टर स्टोरीटेलर’ भनेको थियो ।
छोटकरीमा यो टेलर स्वीफ्टको संसार हो र हामी सबै यसमा बाँचिरहेका छौं । तर स्वीफ्टको प्रभावको बारेमा एउटा प्रश्न अज्ञात छ, के उनले अमेरिकी राजनीतिलाई प्रभावित पार्न सक्छिन् ?
स्वीफ्ट स्पष्ट रूपमा डेमोक्रेट हुन् । सन् २०१८ मा उनले गृहराज्य टेनेसीमा दुई डेमोक्रेट उम्मेदवारलाई समर्थन गरिन् ।
एक इन्स्टाग्राम पोस्टमा उनले रिपब्लिकन उम्मेदवार मार्सा ब्ल्याकबर्नको आलोचना गरेकी थिइन् । अमेरिकी कंग्रेसमा महिलालाई समान पारिश्रमिक र महिला हिंसाको ऐनविरुद्ध मतदान गरेको भन्दै स्वीफ्टले उनको विरोध गरेकी थिइन् ।
स्वीफ्टको राजनीतिक मौनता तोडिएको एक पोस्ट उनका आमाबाबु र वरिष्ठ कर्मचारीको भावनात्मक आदानप्रदानको बेला व्यक्त गरिएको थियो । चुनावअघि सार्वजनिक गरिएको यो पोस्टलाई सन् २०२० को नेटफ्लिक्स डकुमेन्ट्री ‘मिस अमेरिकाना’मा समावेश गरिएको छ ।
अन्यले कंग्रेसका उम्मेदवारविरुद्ध बाहिर प्रस्तुत हुँदा सम्भावित जोखिम आउन सक्ने, जीवनलाई खतरामा पार्नसक्ने र प्रशंसकलाई अलग गर्नसक्ने चेतावनी दिएका थिए । यी चेतावनीका बाबजुद स्वीफ्ट उम्मेदवारविरुद्ध प्रस्तुत भइन् ।
सामान्यतया भन्नुपर्दा सांस्कृतिक इन्डोर्समेन्ट मतदाताको मतलाई प्रभाव पार्ने प्रमुख कारक भने होइन । तर केही सेलिब्रिटीको कुख्यात र सांस्कृतिक प्रभावले राजनीतिक छाललाई प्रभावित तुल्याउन सक्ने सामर्थ्य छ । ओप्रा विन्फ्रेले २००७ मा बाराक ओबामाको समर्थन गर्दा एक मिलियन मतदाता ओबामातिर ढल्किएको अनुमान छ ।
सेलिब्रिटी इन्डोर्समेन्टको कुरा गर्दा विन्फ्रेको कदम निश्चित रुपमा अपवाद थियो । स्वीफ्ट २०२३ मा विश्वकै चर्चित स्टार हुँदा विन्फ्रे भने सन् २००८ की प्रसिद्ध स्टार र प्रभावशाली सांस्कृतिक प्रतिमा हुन् । के अब स्वीफ्टको जो बिडेनको समर्थनले २०२४ को चुनावको नतिजालाई असर गर्न सक्छ ?
सन् २०१८ मा टेनेसी इन्डोर्समेन्टपछि स्वीफ्ट राजनीतिबाट टाढा छैनन् । अक्टोबर २०२० मा उनले बाइडेनको समर्थनमा ट्वीट गरेकी थिइन् ।
भी म्यागजिनसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘हामीलाई सबैभन्दा आवश्यक परिवर्तन भनेको राष्ट्रपति चुन्नु हो, जसले विविध वर्णका मान्छेलाई सुरक्षित र प्रतिनिधित्व गर्न योग्य छ भनी मान्यता दिन्छ । महिलाले आफ्नो शरीरमा के हुन्छ भनेर छनोट गर्ने अधिकार पाउन सक्छन् । अल्पसंख्यक लैंगिक समुदायलाई स्वीकार्न योग्य हुन्छ ।’
उनले पुन: बाइडेनलाई समर्थन गर्ने यी आधार हुन् ।
चाखलाग्दो कुरा के छ भने गहिरो ध्रुवीकरण भएको राजनीतिक वातावरणमा पनि स्वीफ्टको डेमोक्रेट समर्थनले रिपब्लिकनबीच उनको लोकप्रियतालाई कम गर्न सकेको छैन । तर स्वीफ्टको इन्डोर्समेन्टको प्राथमिकता रिपब्लिकन मतदाता होइनन् ।
स्वीफ्टका वास्तविक दर्शक डेमोक्रेट हुनेछन् । तिनीहरूमध्ये ५३ प्रतिशत स्वीफ्टलाई सकारात्मक रूपमा हेर्छन् र केवल ५ प्रतिशत नकारात्मक दृष्टिकोण राख्छन् । सन् २०२४ मा अमेरिकामा राष्ट्रपतीय चुनाव हुँदैछ र सेलिब्रिटी आफ्नो मनपर्ने उम्मेदवारको पक्षमा खुल्न थालेका छन् ।
एमएसएनबीसीबाट अनुदित
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4