+
+

सहभागी सबै उठेर गए, मन्त्री खाली चौरमा भाषण गरिरहिन्

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १४ गते २०:०९

१४ पुस, पोखरा । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशिला सिम्खडाको एउटा तस्वीर यतिबेला चर्चामा छ । तस्वीरमा मन्त्री सिम्खडा मञ्चमा उभिएर भाषण गरिरहेको, मञ्च अगाडिको मैदान पुरै खाली रहेको र एक पुरुषले मन्त्रीको तस्वीर खिचिरहेको देखिन्छ ।

यो तस्वीर पोखरा रंगशालामा शुक्रबार सुरु भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा लिइएको हो । कास्की जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा मन्त्री सिम्खडा प्रमुख अतिथिका रुपमा डाकिएकी थिइन् ।

उद्घाटन समारोहअघि मार्चपास गरिएको थियो । जसमा प्रतियोगितामा भाग लिने खेलाडी, विद्यार्थी, प्रशिक्षकसहितसयौंको संख्यामा सहभागी थिए । औपचारिक उद्घाटन कार्यक्रम पनि निर्धारित समयभन्दा ढिलो हुँदा कतिपय प्रतियोगिता कभर्ड हलमा सुरु भइसकेका थिए ।

उद्घाटन समारोह लामो हुन थालेपछि सहभागीहरु पनि एकएक गर्दै बाहिरिन थाले । प्रत्यक्षदर्शीका अनुसार मन्त्री सिम्खडाको बोल्ने पालो आउँदा मैदानमा केही संख्यामा पत्रकारबाहेक कोही पनि बाँकी रहेनन् ।

‘स्टेजमा चाहिँ अन्य अतिथिहरु, प्रशिक्षकहरु थिए । मैदानमा कोही पनि थिएनन्’, कार्यक्रममा सहभागी एकजनाले भने, ‘उहाँले आफ्नो भाषण पनि छोट्याउनु भएन ।’

कार्यक्रममा मन्त्री सिम्खडाले हरेक खेलाडीले अनुशासनलाई जीवनको अंग बनाउनुपर्ने बताइन् । प्रदेश खेलकुद परिषद् गण्डकीकी अध्यक्षसमेत रहेकी उनले आफू पनि खेलप्रेमी रहेको सुनाइन् ।

‘म आफू पनि खेलप्रेमी हो । यहाँ खेलाडीहरुलाई हेर्दा मेरो जीवनका ती क्षणहरु सम्झिरहेकी छु’, मन्त्री सिम्खडाले सहभागी खेलाडीहरुलाई शुभकामना दिँदै भनिन्, ‘यहाँहरु विभिन्न खेलकुदमा सहभागी हुनुहुँदैछ । तपाईंहरु हारमा हरेश नखाई प्रतियोगितामा उच्च मनोबलका साथ खेल्नुहोस् । मेरो शुभकामना छ ।’

मन्त्री सिम्खडाले खेलाडीहरुलाई शुभकामना लक्षित मन्तव्य दिइरहँदा भने त्यहाँ कोही खेलाडी उपस्थित थिइनन् । त्यहीबेला उनका श्रीमान जनक बिसी फोटो खिच्न मञ्च अगाडि पुगेका थिए । विष्ट मन्त्री सिम्खडाका स्वकीय सचिवसमेत हुन् । तस्वीरमा देखिएको त्यही दृश्यले अहिले चर्चा कमाइरहेको छ ।

उद्घाटन समारोह र खेलका इभेन्ट एकैपटक सुरु हुँदा चौरमा सहभागीको संख्या कम देखिन गएको आयोजक कास्की जिल्ला खेलकुद विकास समितिका एक पदाधिकारीले जानकारी दिए ।
‘कार्यक्रम पनि ढिलो सुरु भयो । खाना खानेबेला भएर पनि सहभागीहरु सबै गए’, उनले भने, ‘स्टेजमा हामी पनि थियौं । तर, चौर खाली हुन पुग्यो ।’

प्रतियोगितामा कास्कीका पोखरा महानगरपालिका र ४ गाउँपालिकाका खेलाडीहरु सहभागी छन् । उद्घाटन समारोहअघि भएको मार्चपासमा पोखरा महानगर पहिलो, मादी गाउँपालिका दोस्रो र माछापुच्छ्रे गाउँपालिका तेस्रो भएको थियो ।

प्रतियोगितामा विभिन्न ६ खेलमा ३० वटा पदकका लागि प्रतिस्पर्धा हुने आयोजक कास्की जिल्ला खेलकुद विकास समिति सचिव कञ्चन थापा कोइरालाले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?