+
+

‘विमानस्थल अन्तर्राष्ट्रिय सीमा हो, त्यहीं प्रहरीको बलियो पहुँच छैन’

विमानस्थल अन्तर्राष्ट्रिय सीमा हो । तर, हाम्रो एयरपोर्टमा कार्गोमा होस् वा अराइभलमा, प्रहरीको उपस्थिति नै छैन । त्यसैले यदाकदा सूचना पाउँदा पनि प्रहरीले विमानस्थल बाहिर अवैध सामग्रीहरू समात्ने हो ।

उत्तम सुवेदी, पूर्वएआईजी उत्तम सुवेदी, पूर्वएआईजी
२०८० पुष १५ गते ९:०७

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र डस्टबिनमा राखेर होस् वा फोहोरमैला निकाल्दा सुन बाहिर ल्याएको भन्ने विषय नयाँ होइन । यो शैलीबाट बारम्बार तस्करी भएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल जस्तो संवेदनशील स्थानमा क्लोज सर्किट (सीसी) क्यामराको समेत राम्रो निगरानी छैन । २१औं शताब्दीमा सीसी टीभी भनेको सुरक्षाको एकदमै सामान्य कुरा हो ।

तर, विमानस्थलमा न त्यसको राम्रो निगरानी गरिएको छ न जडान गरिएका सामानहरू नै राम्रा छन् । कुनैमा दृश्य नै बुझिंदैन, कुनैमा सीसी टीभीले कामै गरेको हुँदैन । सीसी टीभी भनेको एउटा उपकरण मात्रै हो, त्यसमा विभिन्न सफ्टवेयरको सहयोगमा सुरक्षालाई थप मजबुत बनाउन सकिन्छ, तर त्यो हुनसकेको छैन ।

अरू देशमा कुनै अपराधमा संलग्न व्यक्तिले हुलिया परिवर्तन गरेर आएको भए पनि सीसी टीभी फुटेजको विश्लेषण गरेर पत्ता लगाउने प्रविधि छ । तर, हामीकहाँ यस सम्बन्धमा न्यूनतम कामहरू पनि गर्न सकिएको छैन ।

कतिसम्म भने विमानस्थलभित्रको सबै जाँच पूरा नभएसम्म प्रहरीले त्यहाँ पहुँच नै पाउँदैन । प्रहरी नभएपछि भन्सारबाट सुरक्षा जाँच प्रभावकारी नहुने र अध्यागमनले डिपोर्ट र ओभरस्टे मात्र हेर्ने हुँदा राम्रो सर्भिलेन्स हुनसकेको छैन ।

अर्को मुख्य कुरा के हो भने अनुसन्धानका क्रममा अलि पुरानो सीसी टीभी अभिलेख पनि आवश्यक पर्न सक्छ । कम्तीमा ३ वा ६ महिनाको सीसी टीभीको अभिलेख चाहिन्छ भनेर पटक–पटक भनिरहेका हुन्छौं । तर, हाम्रो विमानस्थलमा अहिलेसम्म त्यो प्रबन्ध भएकै छैन ।

हालैको सुन प्रकरणमा पनि २१ दिनभन्दा अघिको फुटेज नपाइएको भनेर अनुसन्धान टोलीले सार्वजनिक रूपमै भनेको छ । अरू देशमा सुन भनेको ‘इलिसिट आइटम’ (अवैध सामग्री) मा पर्दैन । हाम्रो देशमा खुलेआम तस्करीले देशको अर्थतन्त्रलाई नै असर गर्ने भयो ।

हुण्डी कारोबार मौलाउने भयो । आपराधिक प्रवृत्तिका मान्छेले पैसा कमाएपछि अरू थप अवैध काम गर्ने भए । यस्ता विविध कारणले नेपालमा सुन ‘इलिसिट गुड्स’मा पर्छ ।

स्थलमार्गबाट हुने तस्करी नियन्त्रणमा सीमा क्षेत्रमा सशस्त्र प्रहरी, नेपाल प्रहरी खटिएको अवस्था छ । भन्सार र राजस्वको टोली पनि छ । विमानस्थल पनि अन्तर्राष्ट्रिय सीमा हो । तर हाम्रो एयरपोर्टमा कार्गोमा होस् वा अराइभलमा, लामो समयदेखि त्यसको नियन्त्रणको जिम्मा भन्सार कार्यालयले लिएको छ । जहाँ प्रहरीको उपस्थिति नै छैन । त्यसैले यदाकदा सूचना पाउँदा पनि प्रहरीले विमानस्थल बाहिर अवैध सामग्रीहरू समात्ने हो ।

विदेशबाट आएको यात्रुलाई यकिन सूचना नभएसम्म बाहिर निस्किएपछि जाँच गर्ने कुरा पनि भएन । अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई प्रहरीले ह्यारेस गरेको सन्देश जाला वा अरू प्रश्नहरू उठ्लान् । त्यसैले एक्सरे मेसिनमै प्रहरीको ‘एक्सेस’ हुनुपर्ने हो । कार्गोमा प्रहरीको ‘एक्सेस’ हुनुपर्ने हो ।

अराइभलमा आएको मान्छेले ‘ह्याण्ड क्यारी’ लिएर आउँदा मेटल डिटेक्टरबाट लिएर आउँछ । त्यहाँ पहिले भन्सार कर्मचारी थिए, पछि निजी कम्पनीलाई पनि दिइएको थियो ।

देशको सुरक्षा प्राथमिकतामा पर्छ तर त्यसका लागि चाहिने आवश्यक उपकरणको व्यवस्थापन, सुरक्षा जनशक्तिलाई मोटिभेसन जस्ता विषयको व्यवस्था गर्न सरकारी संयन्त्र उदासीन रहेको देख्छु ।

अहिले सशस्त्र प्रहरीलाई दिने भन्ने सुनेको छु । तर, त्यतिले पनि समस्या समाधान हुँदैन । सशस्त्र प्रहरी पनि भन्सारलाई रिपोर्ट गर्ने गरी बस्ने हुँदा त्यतिले मात्र समस्या समाधान हुँदैन । जब भन्सारले सुपर भिजन गर्दा नभएर विकल्प खोजिंदैछ भनेपछि अर्को रूपमा जानुपर्छ ।

विमानस्थलबाट हुने तस्करी नियन्त्रणका लागि ट्राभल हिस्ट्रीदेखि प्यासेन्जर लिस्ट लगायत अनुसन्धानका लागि आधार हुन्छन् । हैसियत नै नभएको मान्छे टुरिस्ट भिसामा गइरहेको छ कि ? कुनै व्यक्ति पटक–पटक छोटो समयमा दुबई, हङकङ जस्तो मुलुक गइरहेको छ कि ? यस्ता विषयमा नियमित निगरानी राख्नुपर्ने हुन्छ ।

तर, अध्यागमन विभागको सूचना प्रहरी वा भन्सारले तुरुन्तै पाउने प्रणाली छैन । अध्यागमनले पनि त्यसलाई नियमित मोनिटरिङ गर्न आवश्यक ठान्दैन । प्रहरीले चिठी लेखेपछि मात्रै सूचना दिन्छ ।

तर, प्रहरी त्यहाँ राखिएको भए यस्तो छ भने पनि तत्काल आफैंले ‘प्रो–एक्टिभ’ भएर त्यो सूचना दिन्थ्यो । डेस्कमा खबर गथ्र्यो । अथवा, कम्तीमा नियमित मोनिटरिङ गरेर नियमित सूचना आदानप्रदान गर्ने अवस्था त हुनुपर्यो नि !

अब रह्यो कार्गोमा चेकजाँचको कुरा, यो काम पनि विशुद्ध भन्सारले गर्छ । प्रहरीलाई एक्सेस दिएको छैन । कतिपयले किलोका किलो सुन आउँदा के हेरेर बस्यो ? भन्नुहुन्छ । तर, फिल्डमा प्रहरीले चेकजाँच गर्न पाउने अवस्था छैन ।

तस्करी रोक्न गर्नुपर्ने अर्को काम भनेको जहाँबाट अवैध सामग्री आइरहेको छ, दुबई वा हङकङ त्यहाँ यतिभन्दा बढी सुन नपठाइदिनु भनेर भन्न पनि सकिन्छ नि ! जुन भइरहेको देखिन्न । त्यहाँको विमानस्थललाई यतिभन्दा बढी सुन लिएर मान्छे आए सूचना गरिदिनु पनि भन्न सकिन्छ । अर्को कुरा प्रहरीका मान्छे ती देशमा भएनन् ।

पटक–पटक प्रहरी सहचारी राखौं भनेर प्रहरी प्रधान कार्यालयबाट प्रस्ताव गएको छ । तर, निर्णय भएको छैन । यदि ती मुलुकका दूतावासमा सहचारीका रूपमा प्रहरी खटिएको भए कम्तीमा सुन लिएर आउने व्यक्तिबारे सूचना पाउने परिस्थिति ती अधिकृतले तयार गर्न सक्थे । यसरी आउने स्थानमै समेत कडाइ गर्न सकेको भए तस्करले सुन ल्याउने आँट गर्दैनथे होलान् ।

अर्को कुरा भनेको विमानस्थलमा भएका एक्सरे मेसिनहरूलाई थप अत्याधुनिक बनाउनुपर्ने जरूरी छ । लागूऔषध डिटेक्ट गर्ने उपकरणहरू छैनन् । जुन तहको उपकरण राख्नुपर्ने हो त्यो छैन । त्यसैले प्रविधियुक्त बनाउनुपर्ने जरुरत देख्छु ।

अहिले कस्तो परिस्थिति छ भने देशको सुरक्षा प्राथमिकतामा पर्छ तर त्यसका लागि चाहिने आवश्यक उपकरणको व्यवस्थापन, सुरक्षा जनशक्तिलाई मोटिभेसन जस्ता विषयको व्यवस्था गर्न सरकारी संयन्त्र उदासीन रहेको देख्छु । सुरक्षाका लागि चाहिने व्यवस्थापकीय पाटोमा कहिल्यै सरोकारवालाको ध्यान नगएको देख्छु । जबसम्म यस्ता कुराहरूको ‘ग्याप’ रहिरहन्छ, तबसम्म तस्करहरूले यस्तै छिद्रमा खेलेर धन्दा चलाउने हुन् ।

(नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का पूर्वनिर्देशक सुवेदीसँग अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानीमा आधारित ।) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?