+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै कञ्चनपुरका मुक्तकमैया

रासस रासस
२०८० पुष १५ गते १७:४१
फाइल तस्वीर

१५ पुस, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-८ नौखरी मुक्तकमैया शिविरका महादेव चौधरीले व्यावसायिक तरकारी खेती गरेर राम्रो आम्दानी गर्दै आएका छन् ।

एक दशक अघिदेखि चौधरी तरकारी खेतीमा संलग्न हुँदै आएका हुन् । चौधरीको स्वामित्वको पाँच कठ्ठा जग्गा मात्रै छ । थप पाँच कठ्ठा जग्गा रु १० दश हजार वर्षको तिर्ने गरी भाडामा लिएका छन् ।

भाडामा लिएको र आफ्नो स्वामित्वको गरी १० कठ्ठा जग्गामा उनले बाह्रैमहिना तरकारी खेती मात्रै गर्छन् । वर्षमा तरकारी बेचेर रु सात देखि रु १० लाखसम्म आम्दानी हुन्छ । खर्च कटाएर रु सात लाख बचत हुने गरेको छ ।

‘तरकारी खेतीबाट कमाइ गरेको रकमले गाउँमा पक्की घर ठड्याएको छु’ उनले भने, ‘छोरालाई वैदेशिक रोजगारीमा पठाउन सकिएको छ, तरकारी बजारसम्म पुर्‍याउन र यात्रु बोकेर कमाइ गर्न अटो खरिद गरेको छु, आठ जनाको परिवारको घरखर्च सबै तरकारी खेतीबाटै व्यहोरिन्छ ।’

शीत तुसारो, हुस्सु, घाम, पानी लगायतबाट बिग्रने र बेमौसमी तरकारी प्लाष्टिकघरभित्र लगाउँदै आएको उनले बताए ।   अरु मौसमी तरकारी प्लाष्टिकघर बाहिरै उत्पादन हुने गरेको छ । चौधरीको बारीमा अहिले काउली, बन्दा, गोलभेडा, खुर्सानी, हरियो सागपात रोपिएको छ । अहिलेसम्म उनले रु ६० हजार बढीको काउली र गोलभेडा मात्रै बिक्री गरेको बताए ।

तरकारी खेती गर्नुअघि महादेवले मजदुरी गरेर जीविका चलाउदथे । तरकारी खेती गरेपछि जीवनशैली नै परिवर्तन भएको उनी बताउँछन् ।   ‘मजदुरी गर्दा घरखर्च चलाउन मुस्किल हुन्थ्यो’ उनले भने, ‘साहुको ऋण लाग्ने गर्दथ्यो, साहुको ऋण तिर्नेकि परिवार पाल्ने भन्ने पिरलो सधैँ हुन्थ्यो, अहिले तरकारी खेती गरेपछि ऋण लागेको छैन, परिवारको खर्च सहज रुपमा चलेको छ ।’

महादेव जस्तै मुक्तकमैया बस्तीका २७ परिवार अहिले व्यावसायिक तरकारी खेतीमा संलग्न रहेका छन् । तरकारी खेतीबाट गतिलो आम्दानी घरमै बसीबसी हुन थालेपछि यसलाई निरन्तरता दिँदै आएको स्थानीय मिसालु चौधरीले बताए ।

पाँच कठ्ठा जग्गामा गोबरमलको प्रयोग गरी काउली, गोलभेडा, आलु रोपेका छौँ” उनले भने, ‘हाताहाती घरबाटै बिक्री भइरहेको छ, अग्र्यानिक तरिकाले उत्पादन भएको तरकारी भएकाले बजार मूल्य भन्दा बढीमा बिक्री हुँदै  आएको छ ।’

वार्षिक तरकारी बिक्रीबाट मात्रै रु दुई लाख आम्दानी हुने गरेको उनले सुनाए । कमैयाबाट मुक्ति पाएपछि सरकारले पुनःस्थापन गराउँदा कमाउने साधन केही नभएर अधिकांस परिवार मजदुरी गर्न बाध्य भएका थिए ।

अहिले अधिकांश परिवारले व्यावसायिक कार्य गर्न थालेपछि मजदुरी गर्न छाड्दै जाने बढ्न थालेको स्थानीय भागिराम चौधरीले बताए ।

उनले भने, ‘केही व्यावसायिक तरकारी खेतीमा संलग्न छन्, केही डकर्मी, सिकर्मीको काम गर्छन्, कोही प्लम्बर र विद्युत् वाइरिङको काम गर्छन् ।’ व्यावसायिक कार्य गर्ने मुक्तकमैया परिवारलाई मुक्तकमैया महिला विकास मञ्च नाम गैरसरकारी संस्थाले सघाउँदै आएको छ ।

मञ्चले मुक्तकमैयालाई व्यावसायिक खेती गर्न तालिम दिने, बीउबिजन, प्लास्टिक टनेल, प्राविधिक सहयोगसँगै तरकारी बजारसम्म पुर्‍याउनका लागि साइकल उपलव्ध गराएको छ । यसैगरी हाँस कुखुरापालन, बङ्गुरपालन तालिम ड्राइभिङ तालिम र खोर निर्माणमा सहयोग गरेको छ ।

व्यावसायिक तरकारी खेतीका लागि १२ जनालाई पोलिहाउस, ५० जनालाई घरबगैँचा सहयोग, व्यवसाय स्थापनाका लागि तीन जना र पाँच जनालाई साइकल सहयोग गरिएको मञ्चका कार्यक्रम संयोजक इन्द्र चौधरीले बताए ।

मुक्तकमैयालाई उद्यमी बनाउन रु २५ लाख ४३ हजार तीन सय ७८ रकम खर्च गरिएको मञ्चले जनाएको छ । नगरपालिकाले मुक्तकमैया परिवालाई तरकारी खेतीतर्फ डोर्‍याउनका लागि रासायनिक मल, बीउबिजनसँगै प्राविधिक सहयोग उपलव्ध गराउँदै आएको छ ।

‘मुक्तकमैया परिवार लक्षित गरी अनुदान कार्यक्रम सञ्चालन गरिएपछि व्यावसायिक खेती गर्नेहरु बढेका छन्” नगरपालिकाको कृषि शाखा प्रमुख करनसिंह बुढाएरले भने, ‘मुक्तकमैया परिवारको विगतको भन्दा आर्थिक अवस्थामा सुधार भई स्वरोजगार हुँदै गएका छन् ।’

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?