+
+

मृत्यु नहुँदो हो त जीवन ज्यादै निरसिलो हुन्थ्यो

अनि बाँच्न मन लाग्छ

चिरञ्जीवी मास्के चिरञ्जीवी मास्के
२०८० पुष २१ गते ९:२३

छक्क पर्छु जन्म र मृत्युको द्वन्द्व देखेर । मृत्यु अवश्यम्भावी छ भन्ने बुझेरै पनि हरेक मानिस मृत्युसँग पैठेजोरी खेलिरहेको भेटिन्छ ।

एक दिन मर्नु छ, जान्दछन् सबै । तर त्यसअघि नै मानिस पटकपटक मरेर भएपनि बाँचिरहेका हुन्छन् । जीवनका केही अलौकिक अपेक्षाहरुले मानिसलाई पटकपटक मरेर पनि बाँच्ने लालसातिर डोर्‍याइरहेको देखिन्छ । नत्र मानिसले सबैकुरा सृष्टिको नियमलाई नै छोडिदिन्थे होलान् नि ! बिरामी हुँदा औषधि खाँदैन थिए । चिसोमा हिउँतिर दौडिरहन्थे । गर्मीमा अगेनाको नजिक रमाउँथे ।

तर अहँ त्यसो कहाँ हुन्छ र ? जीवनका ती अलौकिक अपेक्षाहरुकै कारण आर्यघाटको सम्मुख पुग्दा समेत पनि मानिस मृत्युलाई परास्त गर्ने औजारहरुको खोजीमा तड्पिरहेको हुन्छ । म जीवनका ती अपेक्षाहरुबाट टाढा छु भन्ने ठान्दछु । फेरि पनि मलाई कताकताबाट बाँच्ने लालसा र मृत्युप्रतिको त्रासले छोपिरहेको हुन्छ । म मरे भने ? घरपरिवार सम्झन्छु, मैले माया गरेर पालेको युजी (कुकुर) सम्झन्छु । मेरा ऋण, धन, मानप्रतिष्ठा, सामाजिक दायित्व, राजनीतिक लगाव र लगानी सबै सबै सम्झन्छु ।

मुटु ढक्क फुलेर आउँछ । माइनस डिग्रीको तापक्रममा जसरी शरीरका रौं ठाडा भइदिन्छन् । साँच्चै म मरें भने मेरो परिवार, मेरो युजी, सामाजिक अवस्थिति कसरी बिचल्लीमा पर्छन् होला । मेरो अभावमा त्यतातिर पुग्ने क्षतिको आँकलनले मलाई अरु धेरै वर्ष बाँच्ने लालसा मात्र होइन, अनौठो ऊर्जासमेत प्राप्त हुन्छ । अनि म निर्धक्क भनिदिन्छु– धन्दा नमान्नु, म धेरै वर्ष बाँच्ने छु र सबैलाई यसैगरी स्नेह बाँड्ने छु । हो, मसँग रहेको जीवनका त्यही अलौकिक अपेक्षाले मनलाई उद्धेलित गरिरहेको छ ।

म मनमनै गम खाँदै सोच्छु, सृष्टिकर्ताले जीवन र मृत्युबीचको दूरीलाई प्रकृतिको नियमसँग सँगै अघि बढाउन भौतिक, आध्यात्मिक र आत्मीय परिवेश खडा गर्दै मानिसको मनमा अनौठो र अलौकिक अपेक्षाहरुको मोह खडा गरिदिएको हुनुपर्छ ।

पेशाले म पत्रकार । धेरैले भन्छन्– पत्रकारिता पेशा भनेको जोखिमको पेशा हो । होला पनि काठमाडौंका पदम ठकुराठीले पत्रकारिता गर्दागर्दै मृत्युको त्रास भोगे । सिन्धुपाल्चोकका ज्ञानेन्द्र खड्का, कन्चन प्रियदर्शी (ईश्वरकृष्ण बुढाथोकी) लगायत धेरैले पत्रकारितालाई इमान ठान्दा ज्यानै गुमाए । विदेशमा पनि समय कालमा धेरै पत्रकारले ज्यान गुमाएका छन् र यो क्रम निरन्तर चलिरहेको छ । हालसालै पनि इजरायल र हमासबीचको युद्धमा धेरै पत्रकारले ज्यान गुमाएको खबर विदेशी सञ्चारमाध्यमले प्रकाशन गरिरहेका छन् । सन् २०२३ मा मात्र १२२ जना पत्रकारले खबर लेखेकै कारण ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएको छ ।

चिरञ्जीवी मास्के

मैले पत्रकारिता गरेको ३० वर्ष नाघ्यो । पत्रकारितामा लागेकैले मृत्युको सम्मुख हुनुपरेको त्यस्तो भयावह परिघटना याद छैन । तर जोखिम भने महसुस भएकै छ । पत्रकारिताको सुरुका दिनहरुमा म लगायत सहकर्मी स्वर्गीय देवदास श्रेष्ठ, राजेन्द्र मानन्धर, शम्भु गौतम, भोजराज न्यौपाने, ईश्वरी न्यौपानेहरुले जोखिमको लेखाजोखा गरेनौं, सबै ठाँउमा पुग्यौं । सौभाग्य नै भन्नुपर्छ त्यो ताका मृत्युको मुखसम्म पुग्नु पर्ने कुनै परिस्थिति बनेन । तर धेरै पटक मृत्युको त्रास घटना र परिवेश अनुसार हामीले भोग्नुपर्‍यो । १० वर्षे सशस्त्र द्वन्द्वमा भने धेरै पत्रकारले राज्य तथा द्वन्द्वरत पक्षबाट ज्यान गुमाउँदा पनि हामीले खासै अप्ठेरो महसुस गर्नुपरेन । त्यतिबेला पत्रकार शम्भु गौतम र दीपशंकर चौलागाईंलाई सुरक्षा निकायले थोरै त्रास देखाएको कुरा भने उनीहरुले पछिसम्मै सुनाउने गर्थे ।

सुनखानी पहिरो, २०७२ सालको विनाशकारी भूकम्प, सिन्धुपाल्चोकस्थित जुरेको पहिरो लगायतमा पनि हामी जोखिम मोलेरै रिपोर्टिङमा निस्कियौं । त्यतिबेला पनि मृत्युको थोरै त्रास भएपनि गम्भीर जोखिम रहेन । फ्ल्यास ब्याकका केही घटले मृत्युको ग्रहगोचरसम्म स्पर्श गरेको भन्न सकिने अवस्था भने बनाएको छ ।

छ वर्ष बित्यो मृत्युको एउटा स्पर्शले आतंकको तरंग शरीरमा दौडिएको । घटना २०७४ साल साउन १४ गतेको हो । दोलखाको लाकुरीडाँडा (भीमेश्वर नगरपालिका वडा नम्बर–९) स्थित कुतकुते भन्ने ठाँउमा साउन १३ गते राति पहिरोले केही जनधनको क्षति भएको थियो । भोलिपल्ट म लगायत पत्रकार गोकर्ण भण्डारी र सुवास योञ्जन तत्कालै सदरमुकाम चरिकोटबाट स्थलगत रिपोर्टिङको लागि त्यतातिर लाग्यौं ।

प्राकृतिक प्रकोपले तहसनहस बनाएको घटनास्थल भयावह थियो । पुरिएका शव निकाल्ने कुरामा तत्कालीन वडा सदस्य किरण ओली लगायतका स्थानीय लागिरहेका थिए । हामीले केही तस्वीर लियौं, उद्धारमा सकेको सहयोग गर्‍यौं र पहिरोलाई छिचोल्दै सदरमुकाम फर्किन थाल्यौं । त्यही क्रममा म एउटा ठूलो ढुंगामा चिप्लिएर लड्न पुगें । ढुंगामा टाउको बजारिएर निक्कै चर्को आवाज निस्केको थियो रे ! सुवास र गोकर्णले सुनाए । गालामाथितिर ठूलै खाल्टो पर्‍यो । बाहिरी चोट नदेखिए पनि एक महिनासम्म मैले झोलिलो पदार्थमा चित्त बुझाउनुपर्ने अवस्था भयो । पत्रकारितामा लाग्दा मृत्युको सम्मुख पुगेको एउटा अनुभव थियो त्यो ।

स्थलगत रिपोर्टिङको भूतले मलाई अहिले पनि छोडेको छैन । त्यतिबेला त झन् थप जोशिलो समय भएकाले कुनै घटनाले मलाई गलाउने सम्भावना नै थिएन । कुतकुते पहिरोअघि २०७३ भदौमा छ्योत-छ्योत (विगु गाँउपालिका वडा नम्बर १)मा पहिरोले जनधनमा पुर्‍याएको क्षतिको स्थलगत रिपोर्टिङको लागि म, जीवन लामा लगायतका पत्रकार पहिरोस्थलमा पुग्यौं । जीवन लामा फोटोको नयाँ र उत्कृष्ट एंगल खोज्दै हिंड्ने पत्रकार । उसले मलाई बगिरहेको पहिरो छिचोलेर पारिपट्टी जान जोड गर्‍यो । किन हो थाहा छैन तर त्यतिबेला मेरो मनमा मृत्युको त्रास थियो । नढाँटी भन्दा मलाई बगिरहेको पहिरो छिचोलेर जाने साहस थिएन । तर जीवन लामाको आग्रहमा मैले आफूलाई कमजोर देखाउन चाहिनँ र पारिपट्टि पुगें । हामीले पारिपट्टि पुगेर केही फोटोहरु खिच्यौं । धन्न यो बेला कुनै जोखिम भने भएन । पछि जीवन लामा भन्दै थिए– त्यो पहिरोमा केही भइदिएको भए तनावै हुनेथियो । तपाईंलाई मैले निकै कर गरेर लगेको थिएँ ।

जीवन लामाले पहिरो चल्दाचल्दै गन्तव्य पहिल्याएको त्यो समयको मेरो भिडियो बनाएर मलाई उपहार नै दिएका थिए । तर त्यो कहाँ राखे याद छैन । सायद जीवन लामासँग त्यो कम्प्युटर, ल्यापटप कतै सुरक्षित छ कि ।

पत्रकारिता गर्दा मैले अनुभूत गरेको यो दुई परिघटनाले समग्रमा मानिसको जीवनप्रतिको अपेक्षा र मृत्युको त्रासको प्रतिनिधित्व गर्छ भन्छु । मृत्यु अवश्यम्भावी छ भन्ने जानेका हामी, जीवनलाई त्यतिकै लठभद्र छोड्नै सक्दैनौ । छोड्नै चाहँदैनौ । मृत्युको सत्य अगाडि जीवनको मोह अत्यधिक हुन्छ हामीभित्र । र यो सबै हाम्रो परिवार, हाम्रा आश्रित जीवात्मा, सामाजिक प्रतिष्ठा लगायत अलौकिक अपेक्षाहरुकै परिणाम हो ।

यो अपेक्षा कुनै उमेर समूहले निर्धारण गर्दैन । बालक, युवा, अधबैसें, जेष्ठ नागरिक सबैमा यो अपेक्षा जीवित रहन्छ, आत्माले शरीरको त्याग नगर्दासम्म । हामीले महसुस गर्‍यौं नि एक सय वर्ष कट्नु भएका राष्ट्रकवि माधव घिमिरे र संस्कृतविद् सत्यमोहन जोशीलाई पनि अरु धेरै समय बाँच्ने अपेक्षा थियो । एक सयको सम्मुख पुग्नु भएका पत्रकार भैरव रिसाललाई पनि जीवनप्रतिको अपेक्षा या मोह कायमै छ होला ।

राष्ट्रकवि माधव घिमिरे र संस्कृतविद् सत्यमोहन जोशी अरु केही वर्ष बाँचिदिनु भएको भए हामीले नै थप केही विषय जान्ने मौका पाउने थियौं । भैरव रिसालको जीवनबाट हामीले धेरै कुरा सिकिरहेका छौं । त्यसैले जीवनको आश र मृत्युको त्राससँग समाजको अपेक्षा मुख्य रुपमा जोडिएको छ । हामी धेरै वर्ष बाँच्न चाहन्छौं किनभने हाम्रो दायित्व परिवार, समाज र सृष्टिप्रति धेरै छ । हामीले ती दायित्वहरु जीवनको अन्तिम पलसम्म पनि निर्वाह गरिरहेका हुन्छौं । पूरा गर्न सकेका हुँदैनौं ।

मलाई मृत्यु के हो थाहा छैन । धर्मशास्त्रमा उल्लेख भएका कुरालाई विश्वास गर्ने हो भने मृत्युपछि मानिस कि नर्कमा पुग्छन् कि स्वर्गमा । स्वर्ग कहाँ छ र नर्क कहाँ छ कसैलाई थाहा छैन । स्वर्ग र नर्क धर्मशास्त्रको काल्पनिक बस्ती जस्तो लाग्छ ।

कवि शिरोमणी लेखनाथ पौडेलले आफ्नो ‘कालमहिमा’मा उल्लेख गर्नुभएको छ–

‘भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो ।

इन्द्रै बिन्ती गरुन् झुकेर पदमा, त्यो बिन्ती मान्दैन त्यो ।।

आयो टप्प टिप्यो, लग्यो मिति पुग्यो, टारेर टर्दैन त्यो ।।।’

कवि शिरोमणिले जेसुकै लेखुन् नढाँटी फेरि पनि भन्छु, मृत्यु शब्दैसँग पनि मलाई त्रास छ । मैले एकदिन अवश्य मृत्युवरण गर्नैपर्छ तर म हरेक दिन मनमनै प्रार्थना गर्छु– हे प्रभु जीवनको बस्तीमा त्रासको ऊर्जाले नै मलाई बाँच्ने चाह छ भने मैले हरेक समस्यासँग संघर्ष गरेरै भएपनि त बाँच्न पाउनुपर्छ नि । मेरो प्रार्थना कहिलेसम्म सुनिन्छ थाहा छैन तर मभित्र बाँच्ने लालसा धेरै नै छ । किनभने अलौकिक अपेक्षाहरुसँगै मृत्युपछिको आत्माको गन्तव्यको अन्योलताले मलाई पिरोलिरहेको छ । मरेपछि कहाँ पुगिन्छ होला ? आफ्ना, आफ्न्त को कोसँग भेट होला ? सहज, असहज के होला ? मृत्यु सम्झियो कि पीडाबोध भइहाल्छ । मलाई मात्र होइन, हरेक मानवलाई पिरोलिरहेको छ मृत्युले या भनौं मृत्युपछिको गन्तव्यको अन्योलताले । अपवादका केही घटनालाई म सुन्दर जीवनको भयंकर गल्ती ठान्दछु ।

यो बेला म जेनिफर लीको भनाइलाई आत्मसात गरिरहेको हुन्छु । उनले भनेका छन्, ‘आफैंसँग विश्वास गर । जित अगाडि छ । मृत्युले जीवनको महत्व बढाइदिएको छ । मृत्यु नहुँदो हो त जीवन ज्यादै निरसिलो हुन्थ्यो ।

बुद्धले पनि भनेका छन्– ‘तिमी कसरी बाँच्छौ भन्दा पनि तिमी कसरी मर्छौ भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ ।’ अनि वाल्टले भनेका छन्– ‘मृत्यु भन्दा सुन्दर कुनै चीज नै हुन सक्दैन ।’

हो त मृत्यु भन्दा सुन्दर चीज अरु के हुन सक्छ ? अनि मृत्यु थिएन भने जीवनको अर्थ नै के हुन्थ्यो र ! म अरु धेरै वर्ष बाँच्न चाहन्छु किनभने मेरो मृत्यु निश्चित छ । कुन पल, कुन घडी, कुन समय त्यो मात्र अन्योल हो । त्यही अन्योलताले नै मलाई जीवनप्रतिको मोह जगाइदिइरहेको छ । अपवादमा भएका गल्तीहरु अब दोहोरिनु हुँदैन भन्ने लाग्छ मलाई । मृत्युको सुन्दरतालाई अनाहकमै प्राप्त गर्दा त्यसको महत्व के नै रहन्छ र । त्यसैले पनि हामीले धेरै वर्ष बाँच्नैपर्छ ।

कतै उल्लेख भएको छ आठौं पुस्तासम्मको पुर्खा आफ्नो प्रियजनको मृत्युमा लिन आउँछन् रे । यो परिकल्पना हो कि सत्य म जान्दिनँ । सुनखानीका मित्र हुनुहुन्छ ई. नारायण सिवाकोटी । उहाँले सुनाउनु भयो– ‘उहाँको बुबाको निधन हुनुभन्दा केही दिनअघि कोही आएको छ भन्दै बाटोतिर देखाउनु भएको थियो रे आमालाई । बुबाले देखाउनु भएको बाटोतिर आमाले हेर्नुभयो, तर कोही मानिसलाई देख्नु भएन । देख्नुभयो त केबल श्रीमानको मुहारमा मृत्युको त्रास । सायद बाटोतिर आएका पुर्खा (पितृ) सिवाकोटीको बुबाको कोही प्रिय थिए कि ?’

मानिसको बसमा नभएको सुन्दर मृत्यु ग्रहण गर्ने कुरा अकाट्य छ । म जतिसुकै मृत्युसँग तर्केर भागौं त्यसले मलाई कुनै दिन लगेरै छाड्ने छ । मेरा मनका अलौकिक अपेक्षाहरुले कमसेकम एक सय वर्ष त म मृत्युसँग तर्केरै टारिदिन्छु भनिरहेको छ । फेरि पनि मृत्यु सत्य छ । म मेरो मृत्युको लागि मेरो प्रिय आमा (विष्णुलक्ष्मी श्रेष्ठ)ले लिन आउनु हुन्छ भन्ने आशमा छु । किनभने मेरो जीवन उनैको उपहार हो । म उनको प्रिय छोरा हुँ, जसले आफू अविवाहित रहेर पाँच महिनाको टुहुरो मलाई पालन पोषण गर्नु भएको थियो ।

आमा, बिन्ती छ मेरो मृत्युमा तपाईं नै लिन आउनुहोस् । तर समय भएको छैन । मेरो दायित्व, जिम्मेवारी, बोझ र पीडाहरु परिवारमा थोपर्न चाहन्न । अरु कसैले पनि यस्तो कुरा गर्न चाहँदैनन् । म मेरो दायित्व पूरा गर्न मृत्युसँग संघर्ष गरिरहेको छु । अरु धेरै मानिस पनि मृत्युसँग संघर्ष गरिरहेका छन् । त्यसैले जीवन संघर्षमय छ, अनि बाँच्न मन लाग्छ । मृत्यु सुन्दर छ र सत्य छ भन्ने जान्दाजान्दै पनि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?