
News Summary
Generated by OK AI. Editorially reviewed.- लेखकले गैरआवासीय नेपाली महासंघको अन्त्यहीन लडाइँ र नेपाली समाजमा देखिएका नकारात्मक प्रवृत्तिबारे आलोचना गरे।
- लेखकले साहित्य लेख्न वयस्क उमेर मात्र होइन, १९ वर्षमै राम्रो साहित्य लेख्न सकिने उदाहरण प्रस्तुत गरे।
- लेखकले पुरस्कार र सम्मानको लागि दौडधूप नगर्ने र जीवनमा अतिथि बन्न नचाहने विचार व्यक्त गरे।
म सधैं मानिसलाई ऊर्जा दिने केही खास लेखौं भन्ने सोचिरहेको हुन्छु। मैले लेख्ने कुराले त्यस्तो प्रभाव राखोस् भन्ने चाहेको हुन्छु। ठ्याक्कै उदाहरण, योगी विकासानन्दको मन्तव्य सुन्दा जसरी आङ सिरिङ्ग हुन्छ वा मदन भण्डारीको पुरानो भाषण नै किन नहोस्। तर जीवनमा यस्तो राम्रै राम्रो कुरा कहाँ पाउनु !
हामीलाई मन परेका कुरा यो संसारमा धेरै छन्। तर हामी भने प्राय: मन नपरेको कुराहरू नै बढी गरिरहेका हुन्छौं। म पनि त्यही मानिस रहेछु, बढीजसो आफूलाई मन नपरेका कुराहरूको चर्चा गर्दो रहेछु। आज त्यही गर्दैछु।
अहिले म युकेमा बस्छु। यसअघि काठमाडौं बस्थें। पत्रकार र लेखक भएको कारणले एनआएनए (गैरआवासीय नेपाली महासंघ)का धेरै मान्छेलाई म चिन्छु। कामको सिलसिलामा चिनेका मानिस पनि धेरै छन्। आम मानिसलाई जस्तै मलाई पनि यो संस्थामा भएको ‘अन्त्यहीन लडाइँ’ मन परेको छैन।
एनआरएनको अवस्था मन नपरेपछि केही कुरा फेसबुकमा लेखें। कुनै व्यक्तिभन्दा पनि प्रवृत्तिबारे लेखें। युकेतिरको कार्यक्रममा त्यस संस्थाका मानिस भेट्दा उनीहरूमाथि प्रत्यक्ष व्यंग्य गरें। तर के मैले भन्दैमा उनीहरूको कुरा मिल्ने हो? आखिर मैले व्यंग्य गरेर हुने त केही होइन।
जब म यस्ता कार्यक्रममा जान्छु, ती कार्यक्रम यति भद्दा हुन्छन् कि पूरै समय बस्न हम्मेहम्मे पर्छ। सधैंभरि तपाईं उही चालीस–पचास मानिस देख्नुहुन्छ। किनकि उनीहरूलाई नै त्यहाँ पुग्नु छ। त्यहाँसम्म जान सक्ने हैसियत पनि उनीहरूकै छ।
अरू सामान्य मान्छेलाई वर्षको एक दिन कतै घुम्न जान पनि हम्मेहम्मे पर्छ विदेशमा। मानौं संयुक्त राष्ट्रसंघको महासचिव हुने कि एनआरएन युरोपको अध्यक्ष हुने? भन्ने विकल्प दिइयो भने उनीहरूले जरूर एनआरएनको अध्यक्ष रोज्ने छन्।
यी तिनै मानिस हुन् जहाँ पुगे पनि नेपाली समाज र राजनीतिको कुरा गर्छन्। त्यसपछि आफ्नै संस्थाको अर्को मानिसको कुरा काट्न थाल्छन्। कुरा काट्नु त राम्रो हो तर उनीहरू कुरा मात्र होइन सबैथोक काट्ने गर्छन्।
त्यो मान्छे नेताको मानिस हो। ऊ एजेन्ट हो। मानवतस्कर हो। ‘क’ ले ‘ख’ लाई मानवतस्कर र दलाल भनेको हुन्छ। ‘ख’ ले कलाई। क र ख मिलेर ‘ग’लाई युरोपबाट सदाका लागि खेद्ने योजना गरिरहेका हुन्छन्। मानौं यो संसार चन्द्रशमशेरको राज्य हो र उनले चाहे जसलाई जतिबेला पनि देश निकाला गर्न सक्छन्। देश मात्र होइन यस जीवन चोलाबाट पनि हटाइदिन सक्छन्।
अनि उनीहरू यसरी कुरा गरिरहेका हुन्छन् मानौं नेपालको समस्याबारे जान्ने मान्छे अर्को कोही छैन। पत्रकार सुधीर शर्मा वा अध्येता हरि शर्मा नै भेट भयो र उनीहरूले चिनेका छैनन् भने उनीहरूले सुधीर शर्मा र हरि शर्मालाई भन्नेछन् कि– नेपाल कसरी बिग्रियो? के-के खत्तम भयो। कहाँ–कहाँ कसले बदमासी गरे। प्रधानमन्त्रीदेखि राष्ट्रपतिले के-के गरे।
मैले नेपाली समाज र राजनीति बुझ्न सत्तरी वटा किताब पढ्नुपर्छ भनेको पनि होइन। तर, यति धेरै कुरा गर्न सातवटा किताब चाहिं हेरेको हुनुपर्छ जीवनमा। यसो भन्दा ध्रुवसत्य कसो नहोला? जसले बीपीको आत्मवृत्तान्त पढेको छैन।
हिजो के थियो, आज के छ भन्ने कुराको लागि कुनै एउटा डकुमेन्ट्री हेरेको छैन। तीस वर्षसम्म विभिन्न संस्थाको अध्यक्ष बन्ने दौड भ्याउने मान्छेलाई एउटा किताब पढ्न र डकुमेन्ट्री हेर्न फुर्सद छैन। उसले नै नेपाली समाजको सम्पूर्ण चिरफार गर्ने दायित्व बोकेर हिंडिरहेको अभिनय गरेको छ।
पूर्वेली समाज। पूर्वेली समाजभित्रको झापा समाज। झापा समाज फुटेर झिलझिले झापा समाज। त्यो पनि फुटेर लामाघरे टोल समाज। र, यी समाजले गर्ने सयौं कार्यक्रम। थप केही लेखिनँ। यत्ति हो आफू केका लागि र किन दौडेको भन्ने प्रश्नले चुटेको दिन यी सबै मानिस यस्ता कार्यक्रम गर्न छाडेर योग गर्नतिर दौडिने छन्। ध्यान, योग, हाइकिङ गर्नुजस्तो सुन्दर अहिलेको समयमा अर्को छैन।
नेपालभित्र र नेपाल बाहिरका यस्ता हजारौं नेपाली संस्था र तिनका नेता बन्न ज्यान फालेर दौडिएकाहरूको कुरा म सदाका लागि छाडिदिन्छु र अब साहित्यतिर लैजान्छु तपाईंलाई।
०००
जबजब म साहित्यको कार्यक्रममा जान्छु, मलाई यो संसार अर्कै तरिकाले घुमेको महसुस हुन्छ। यो संसार सही तरिकाले घुमेको पाउँदिनँ। कतै गएर कसैसँग नमस्कार भनेपछि सुरु हुन्छ— बाबुको नाम के हो ?
म भन्छु— ‘मेरो नाम निर्भीकजंग रायमाझी। घर बनेपा। काठमाडौं बस्थें। अहिले युके। भोलि कता हुने हो त्यो त थाहा छैन। तर जापान, दुबई, अमेरिका, दिल्ली वा काठमाडौं जता पनि हुन सकिएला। लाखौं नेपाली जसरी संसारभरि पुगेका छन् म पनि त्यसरी नै त्यता पुग्नुपर्ने बाध्यतामा छु।’
तर म यति लामो परिचय दिउँला त? पक्कै दिन्नँ। नाम ठेगाना यस्तै केही भन्छु। अनि मसँग नमस्कार गर्ने मानिसले भन्छ– ‘ए बाबुको नाम किन नसुन्नु। समाचार हो कि कविता पढेको हो। तर मैले त बाबुलाई निकै वयस्क ठानेको थिएँ। ए सानै पो हुनुहुँदोरहेछ।’
यसपछि मेरो संसार उल्टो घुम्न थाल्छ। कविता, कथा, समीक्षा लेख्न हुनुपर्ने उमेर चाहिं कति हो? यी सबै जनाको भनाइको सार मलाई थाहा छ। जागिरबाट रिटायर्ड हुने बेलामा वा छोराछोरी हुर्केर आफू वयस्क भएपछि गर्ने काम हो साहित्य। वयस्क मानिसले मात्र यसरी कथा, उपन्यास, समीक्षा लेख्न सक्छ। सिद्धान्त, भाषा, संस्कृतिको गहिरो कुरा गर्न सक्छ।
हो, उनीहरूलाई कुनै पनि विश्वास छैन कि मान्छेले १९ वर्षको उमेरमा राम्रो कविता लेख्छ। वा कथा लेख्छ। धरानका कवि विमल गुरुङ १८ वर्षको उमेरमा बितेका हुन्। भूपी शेरचनले ३५ वर्षको उमेरसम्म लेख्नुपर्ने सबै कुरा लेखिसकेका थिए र पछि लेख्ने काम लगभग छाडेका थिए। सूर्यबहादुर थापा करिब ३८ वर्षमा प्रधानमन्त्री भएका थिए।
अब बुझिहाल्नुभयो होला मेरो संसार किन उल्टो घुम्न थाल्छ। मलाई रिंगटा किन लाग्छ। म युके हुँदा, म बेल्जियम हुँदा, म अमेरिका हुँदा वा चितवन, काठमाडौं हुँदा मानिसले यही कुरा भनिरहेका हुन्छन्। तर यति सानो कुरामा म गुनासो गरौंला त! अहँ कुरा अझै बाँकी छ।
पानसमा बत्ती बाल्ने, प्रमुख अतिथि, विशिष्ट अतिथि राख्ने। अनि जो अतिथि बन्न पाउँदैन उसले सत्र दिनसम्म शहरभरि गुनासो गर्दै हिंड्छ। ‘त्यो कार्यक्रममा गएको रामकृष्णलाई अतिथि बोलाए तर मेरो त नाम पनि लिएनन्। सबै संसार स्वार्थी छ। सबै सिन्डिकेटले बिग्रेको छ।’
यहाँ मैले लिएका नाम सबै उदाहरणका लागि मात्र हुन्। तर याद राख्नुस, यहाँ तपाईं आफ्नो अनुहार स्पष्ट देख्नुहुन्छ। अतिथि नबोलाउँदा तपाईंको सत्र दिनसम्म चित्त दुख्ने कुरा सुन्दा मेरो पनि चित्त दुख्छ। के अतिथि बन्नु नै जीवनको सार हो भन्ने सम्झेर मेरो सोच घुम्छ।
काभ्रे जिल्लाको पनौतीमा एक जना साहित्य लेख्ने मानिस छन्। उनीसँग बीस पटक जति भेट भयो होला जीवनमा। जतिपटक भेट्दा पनि एउटै कुरा गर्छन्। कुरा यस्तो छ– ‘म फलानो ठाउँमा गएको त्यहाँ त मलाई सम्मान गरे। अब अर्को ठाउँ बोलाएका छन्।’
झापा, इलाम, वीरगञ्ज, कन्चनपुर, दार्जीलिङ, आसाम, ढाकासम्म गएर उनी सम्मानित भइसके। अब युके, अमेरिका गएर त्यहाँ हुने नेपाली साहित्यिक कार्यक्रममा सम्मानित हुन मात्र बाँकी छ। तर म परें अहिलेसम्म एउटा पनि सम्मान नपाएको।
एउटा पनि पुरस्कार नपाएको। उहाँको अगाडि म बाँच्नु नै व्यर्थ छ। किनकि साहित्य लेख्न वा साहित्यको काम गर्न थालेको दश वर्ष बितिसक्दा मैले एउटा पनि सम्मान पाइनँ। पुरस्कार त परको कुरा, वडास्तरीय कविता प्रतियोगिता पनि जितेको छैन मैले।
जबकि पनौतीका ती लेखकले मेरो जति उमेरमा विभिन्न जिल्लामा गरी ७१ वटा सम्मान र पुरस्कार पाइसकेका थिए। हालसम्म १३१ वटा कार्यक्रममा विशेष अतिथि अनि २९ वटामा प्रमुख अतिथि भइसकेका छन्। ३१ वटा पुस्तक प्रकाशित भइसकेका छन्। उनको यो ग्राफ निरन्तर उकालोलाग्दो छ।
पख्नुस् यो झर्कोलाग्दो कुरा म बन्द गर्छु। तर अन्तिम उदाहरण समाचार लेखन र अन्तर्वार्ताको हो। धेरै जनाले मलाई भेट्दा केही समाचार लेखिदियोस् वा अन्तर्वार्ता गरिदियोस् त्यो पनि नसके कार्यक्रमको प्रबन्ध गरिदियोस् भन्ने सोच्दा रहेछन्। पूर्णकालीन पत्रकार हुँदा यसो सोच्नु सामान्य नै होला।
सञ्चार कर्ममा लागेको म जस्तै कोही सञ्चारकर्मीलाई पनि यस्तो अनुरोध गर्नु राम्रो कुरा नै हो। स्वाभाविक हो। तर मेलापात, बिहे, भट्टी जहाँ भेटे पनि अन्तर्वार्ता लिइदियोस् भन्ने आशय देखाउनु चाहिं संविधान विपरीत छ।
तपाईं योग्य बन्नुस्। तपाईं साँच्चिकै राम्रो काम गर्नुस् म आठ हजार शब्दको लामो अन्तर्वार्ता लिन तपाईंको घरमा शनिबार बिहान टुप्लुक्क आइपुग्नेछु। तर तपाईं खुसी हुनुपर्यो। तपाईं खुसी हुनुहुन्छ त?
पक्कै हुनुहुन्न। किनकि तपाईंको अन्तर्वार्ता आधा पेज मात्र छापियो। जबकि तपाईंको मनले भनेको थियो पूरै दुई पेज छाप्नेछ। जीवनमा आधा पेज मात्र अन्तर्वार्ता आउनुपर्ने मानिस होइन भन्ने ठानेर तपाईं पुन: दु:खी हुनुभयो। हो तपाईं जे गर्दा पनि दु:खी हुनुहुन्छ।
जम्मा दुईवटा उदाहरण दिएँ। मन नपर्ने कुरा सयौं छन् तर अहिले मन नपरेको कुरा यत्ति हो। यसको अनेकौं कारण हुन सक्ला। यसमाथि समाजशास्त्रीय बहस पनि गर्न सकिएला। नेपाली समाज र नेपाल राज्य कमजोर छ भन्न सकिएला। नेपालमा आधुनिक शिक्षा सुरु भएको नै सय वर्ष पुगेको छैन समाज यस्तै हुने हो भन्न सकिएला। जेजे भने पनि यस्ता हर्कत हुन छाड्ने छैन।
मैले सुरुमै भनेको थिएँ। यो जीवन गुनासो गर्न बनेको होइन। जीवन औपचारिक पनि होइन। यो संसारमा हामी सबै अतिथि नै हो। पाहुना हौं। यो दुईवटा उदाहरण दिएर भन्न खोजेको कुरा यति हो कि– ‘यो जीवनमा मलाई कहीं अतिथि बन्नु छैन। कुनै पानसमा बत्ती बाल्नु छैन।
शिलान्यास गर्नु वा माला–खादा, प्रमाणपत्र, अवार्ड केही चाहिंदैन भन्न सक्ने मानिस कति छन्? त्यस्तो आँट कतिसँग छ?’ फलानोले मलाई बोलाएन भनेर मन दुखाउने बानी कहिले छाड्ने!
अनि मैले जस्तो गुनासोले भरिएको यस्तो लेख लेखेर बस्ने। अहँ अब मेरा वरपरका मानिस जति बिग्रिउन्, जति नचाहिने कुरा गरून्। दोगलापन वा पाखण्डीपन देखाऊन्। सम्मानपत्र वा प्रमुख अतिथि बन्नका लागि मात्र उनीहरूको जीवन बनेको हो भने पनि मलाई भन्नु केही छैन। किनकि यो जीवन गुनासो गर्न बनेको होइन।
प्रतिक्रिया 4