 
																			२० पुस, काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले भारत नेपाललगायत छिमेकी मुलुकसँगको सम्बन्धलाई पुनः परिभाषित गर्न प्रतिवद्ध रहेको बताएका छन् ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवनको उद्घाटन गर्ने क्रममा जयशंकरले भारतले नेपाललगायत छिमेकी मुलुकलाई आफूसँगै विकासको बाटोमा अघि बढाउन चाहेको बताए ।
‘प्रधानमन्त्री मोदी नेतृत्वको भारत सरकार छिमेकीहरू विशेष गरी नेपालसँगको सम्बन्धलाई पुनः परिभाषित गर्न प्रतिवद्ध छ’, जयशंकरले भने, ‘मोदीको सन् २०१४ मा सम्पन्न भ्रमणका दौरान नेपाल भारत सम्बन्धलाई लिएर दिएको हिट फर्मुला स्मरण गर्न चाहन्छु । हाइवे, आइवेज, ट्रान्सवेज । गत जेठमा प्रचण्डको भारत भ्रमणका क्रममा दुवै नेताले उक्त सहकार्यलाई ‘हिट’ बाट ‘सुपरहिट’ बनाउने प्रतिवद्धता गरेका थिए ।’
भारतले ‘सबैको साथ, सबैको विकास, सबैको विश्वास र सबैको प्रयास’ भन्ने मुल मन्त्र बनाएर गरिरहेको विकासमा नेपासहित छिमेकी मुलुकलाई पनि सँगै अघि लैजान खोजिरहेको बताए ।
उनले भूकम्पपछि नेपाल सरकारले प्राथमिकतामा राखेको पूननिर्माणका काममा भारत सहयोगी हुन पाउँदा खुसी लागेको बताए । ०७२ को भूकम्पपछिको पुननिर्माणमा पनि भारतले नेपालमा सहयोग गरेको र ती संरचना नेपाललाई हस्तान्तरण गरिसकेको उल्लेख गर्दै उनले बाँकी रहेका योजना पनि छिटै सम्पन्न हुने विश्वास व्यक्त गरे ।
आफ्नो नेपाल भ्रमणका क्रममा भौतिक, डिजिटल र उर्जा क्षेत्रमा महत्वपूर्ण सहकार्यको सहमति भएको उल्लेख गर्दै उनले शिक्षा क्षेत्रमा पनि नेपाल सरकारलाई सहयोग गरिरहेको र त्यसलाई जारी राख्ने उनको भनाइ छ ।
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयजस्तै अन्य संरचना निर्माणमा पनि भारतको सहयोग निरन्तर जारी रहने उनको भनाइ छ । नेपाल भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर नेपाल आएका छन् ।
शुक्रबार परराष्ट्रमन्त्री एनपी साउद र नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री जयशंकरले कीर्तिपुरमा नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।तीन तले त्रिवि केन्द्रीय पुस्तकालय भवन भारतीय सहयोगमा निर्माण गरिएको हो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4