+
+

मुग्लिन–आँबुखैरेनी खण्डमा मर्स्याङ्‍दी नदी पारि नयाँ सडक बनाइँदै, साविकको खण्ड एकतर्फी

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २० गते १९:२६
यस्तो बन्ने छ मुग्लिङ–आँबुखैरेनी सडक खण्ड

२० पुस, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–आँबुखैरेनी सडक खण्डमा मर्स्याङ्‍दी नदी पारि नयाँ सडक निर्माण गरिने भएको छ । मुग्लिन–आँबुखैरेनी सडकखण्ड अन्तर्गत कुल ९.३८४ किलोमिटर सडक रहेको छ । जसमध्ये मर्स्याङ्‍दी नदी पारि ४.४५६ किलोमिटरमा नयाँ सडक निर्माण गर्न लागिएको हो ।

सो प्रयोजनका लागि वातावरणीय प्रभाव मूल्यांकन पूरा गरी आयोजनाले स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ । यो आयोजनाको सुरुवात मुग्लिनस्थित नारायणगढ चोकमा पर्छ । यहाँबाट सुरु भई तनहुँको आँबुखैरेनीमा पुगेर सम्पन्न हुन्छ ।

यो मुग्लिन–पोखरा सडक खण्डको एक खण्ड हो । आँबुखैरेनीबाट पोखरासम्म अहिले धमाधम सडक विस्तारको काम भइरहेको छ । आयोजनाका अनुसार अहिले सुचारु अवस्थामा रहेको मुग्लिन–आँबुखैरेनी सडकलाई स्तरोन्नति गरी एक लेन (एकतर्फी) बनाइने छ ।

मर्स्याङ्‍दी पारी भने दुई लेन एकतर्फी बाटो बनाइने भएको छ । त्रिशूली नदी र मर्स्याङ्‍दी नदी गरी दुई स्थानमा बन्ने पुलले यो आयोजनालाई जोड्नेछ । यो आयोजनाले गोरखा जिल्लाको शहीद लखन गाउँपालिकालाई छुने छ । आयोजनाको कुल लागत ३ अर्ब ९७ करोड ४७ लाख २१ हजार रहेको छ ।

पृथ्वी राजमार्गमा रहेको मर्स्याङ्‍दी जलविद्युत् आयोजनाको कम्पोनेन्टका कारण साविकको सडकमा विस्तार गर्न असम्भव भएसँगै यो आयोजनाका लागि मर्स्याङ्‍दी पारी नयाँ लेन बनाउन लागिएको आयोजनाले जनाएको छ । साविकको सडकमा अस्तव्यस्त भिरालो जमिन रहेको तर गोरखातर्फको भागमा सडक बनाउँदा जलविद्युत् आयोजनाका कुनै पनि भागमा क्षति पुर्‍याउन नपर्ने भन्दै नयाँ सडक बनाउन लागिएको आयोजनाको भनाइ छ ।

यसले गोरखातर्फको ग्रामीण बस्तीलाई शहरमा परिणत गर्ने र त्यसले यातायात सुविधा, स्थानीय बजार–पसल र लघु उद्यममा सहयोग पुग्ने आयोजनाको ईआईए रिपोर्टमा उल्लेख छ । मुग्लिनमा त्रिशूली नदीमाथि एउटा १२० मिटर लामो पुल र मर्स्याङ्‍दी नदीमाथि बन्ने १२५ मिटर लामो पुलले साविकको मुग्लिङबाट आँबुखैरेनी सडकलाई जोड्ने भएको छ । सरकारले २०७५ सालमै मर्स्याङ्‍दी नदीको बायाँ किनारमा दुई लेनको सडक निर्माणको रेखांकन स्वीकृत गरेको थियो ।

१३.३६ हेक्टर जमिन प्रयोग हुने, ३.८४ हेक्टर जमिन निजी

यो आयोजनाले कुल १३.३६ हेक्टर जमिन प्रयोग गर्ने भएको छ । जसमध्ये ९.५२ सरकारी वन क्षेत्र र ३.८४ हेक्टर निजी जमिन पर्छ ।

सडक निर्माणका दौरान १५३ बिजुली र टेलिफोनका पोल तथा ५ वटा ट्रान्सफर्मरमा बाधा पुग्ने भएको छ । यस दौरान २२७ वटा निजी र ११ वटा सामुदायिक संरचना अधिग्रहण गर्नुपर्ने समेत आयोजनाले जनाएको छ । यस आयोजनका दौरान कुल २ हजार रुख काट्नुपर्ने देखिएको छ । ४ वटा मन्दिर स्थानान्तरण गर्नुपर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?