+
+

गण्डकी विश्वविद्यालयमा तीन वर्षदेखि पाठ्यक्रम विनै पढाइ

पाठ्यक्रम प्रमुख भन्छन् : माघसम्म फाइनल भएर प्रकाशन हुन्छ

विकास रोकामगर विकास रोकामगर
२०८० पुष २२ गते १९:४२

२२ पुस, काठमाडौं । गण्डकी विश्वविद्यालयले कुनै निश्चित वार्षिक पाठ्यक्रम विनै अध्यापन गराइरहेको खुलेको छ । २०७६ सालमा स्थापना भएको विश्वविद्यालयमा विभिन्न ५ संकायमा पढाइ भइरहेको छ । यद्यपि, विश्वविद्यालयले भने आफूहरुले पढाइरहेको संकाय नभई कार्यक्रम भएको दाबी गर्दै आएको छ ।

विश्वविद्यालयमा यतिसम्म हेलचक्य्राइँ भइरहेको खुलेको छ कि, त्यहाँ पढाइ हुने कुनै विषयको निश्चित पाठ्यक्रम छैन । नियमतः विश्वविद्यालयमा माइक्रो र म्याक्रो पाठ्यक्रम तयार गरेर त्यहीअनुसार पढाउनुपर्छ । तर, गण्डकी विश्वविद्यालयमा तीन वर्षदेखि बिना पाठ्यक्रम नै पढाइ भइरहेको खुलेको हो ।

विश्वविद्यालय स्रोतका अनुसार विश्वविद्यालयको आफ्नै निश्चित पाठ्यक्रम नहुँदा एउटा ब्याजको पढाइ नसकिँदै विषय फेरबदल भइरहने समस्या छ । ‘पहिले एउटा पाठ्यक्रम दिइएको थियो, त्यसमा विषय थोरै थियो । हामीले यही नै पढाइ होला भन्ठानेका थियौं’, विश्वविद्यालयमा अध्ययनरत एक विद्यार्थीले भने, ‘पछि पाठ्यक्रममै नभएको विषय पनि पढाइयो ।’

उनका अनुसार विद्यार्थीहरुले आफूलाई उपलब्ध गराइएको पाठ्यक्रमबमोजिम पढाइ नभएपछि प्रश्न पनि उठाएका थिए । तर, विश्वविद्यालय प्रशासनबाट पाठ्यक्रम ‘फाइनल’ नभएको जवाफ आएको थियो । पाठ्यक्रमअनुसार पढाइ नभएपछि आफूहरु पनि अलमलमा परेको विद्यार्थीले गुनासो गरेका छन् ।

‘अगाडि त हामी पनि युनिभर्सिटीमा नयाँ थियौं, थाहा हुने कुरै भएन । फोर्थ सेमेस्टरमा आएपछि विषय घट्नुपर्नेमा बढेपछि सोधेका थियौं’, एक विद्यार्थीले अनलाइनखबरसँग भने, ‘पाठ्यक्रम फाइनल भएको छैन भनेर भन्नुभयो ।’

विद्यार्थीले फाइनल भनिएको पाठ्यक्रम पनि पाएका छैनन् नै विश्वविद्यालयले आफ्नो आधिकारिक वेबसाइटमा पनि यस विषयमा कुनै उल्लेख गरेको छैन ।

पाठ्यक्रमको जिम्मा शिक्षककै पोल्टामा !

विश्वविद्यालयमा पाठ्यक्रम बनाउन करिकुलम डेभ्लपमेन्ट कमिटी (सीडीसी) गठन गरिएको छ । कमिटीको अध्यक्षमा कपिल अधिकारी छन् । उनी विश्वविद्यालयमा पढाइ हुने सबै कार्यक्रममा एकमात्र डिन हुन् ।

समितिको सदस्यमा गण्डकी मेडिकल कलेजकी विमला शर्मा, बीबीए कार्यक्रम प्रमुख विश्वराज पौडेल, फार्मेसी कार्यक्रम प्रमुख विश्वराज पौडेल, आईटी कार्यक्रम प्रमुख सरोज गिरी, इन्जिनियरिङ क्याम्पसका कृष्ण अधिकारी र बीएलएलबी कार्यक्रम प्रमुख विमल लामिछाने छन् ।

तर, सीडीसी गठन भएको लामो समयसम्म निश्चित पाठ्यक्रम पारित गर्न नसकेको विश्वविद्यालय उच्च स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ । ‘खास पाठ्यक्रम बनाउने नेतृत्व सम्बन्धित विषय प्रमुखसहित डिनले लिनुपर्ने हो’, स्रोतले भन्यो, ‘तर, त्यहाँ डिन नै सीडीसी अध्यक्ष हुँदा पनि माइक्रो पाठ्यक्रम बनेकै छैन ।’

अहिले विश्वविद्यालयमा पढाइ हुने ब्याचलर्स अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) र ब्याचलर्स अफ आर्ट्स ब्याचलर्स अफ ल (बीएलएलबी)तर्फ पाँचौं र खेलकुद व्यवस्थापन (बीएसएम), सूचना प्रविधि (बीआईटी)तर्फ छैटौं सेमेस्टरको पढाइ भइरहेको छ ।

तर, हालको पढाइ भइरहेको सेमेस्टर सकिनैलाग्दासमेत अहिलेसम्म अर्को सेमेस्टरमा के पढाउने विषय नै थाहा नभएको विश्वविद्यालय स्रोतको भनाइ छ । ‘हामी आफैंलाई विद्यार्थीलाई के कसरी पढाउने थाहा नभएपछि विद्यार्थीलाई के पढाउन सक्छौं,’ स्रोतले भन्यो ।

गण्डकी विश्वविद्यालय (जीयू) मा खेलकुद व्यवस्थापन (बीएसएम), सूचना प्रविधि (बीआइटी), फार्मेसी (बीफर्मा), ब्याचलर्स अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) र ब्याचलर्स अफ आर्ट्स ब्याचलर्स अफ ल (बीएलएलबी) विषयमा पढाइ हुँदै आएको छ ।

सीडीसी अध्यक्ष अधिकारी भन्छन् : माघसम्म तयार हुन्छ

बीएसएम कार्यक्रम प्रमुख मधुसुदन सुवेदीले सुरुमा आफ्नो विषयको पूर्ण पाठ्यक्रम रहेको दाबी गरेका थिए । तर, उक्त पाठ्यक्रम उपलब्ध गराउन आग्रह गर्दा ‘माथिल्लो निकायसँग माग्नुपर्छ’भन्दै पन्छिए । ‘त्यो मैले दिन मिल्दैन । हाइर अथोरिटीसँग सोधेरमात्र दिन सकिन्छ,’ उनले भने ।

विश्वविद्यालयको डिनसमेत रहेका ‘विश्वविद्यालयको पाठ्यक्रम विकास समिति’ अध्यक्ष कपिल अधिकारीले भने पाठ्यक्रम तयार नभइसकेको स्वीकारेका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै उनले विश्वविद्यालयको पूर्ण पाठ्यक्रम सम्पादनकै क्रममा रहेको जानकारी दिएका छन् ।

अधिकारीका अनुसार सबै कार्यक्रमको पाठ्यक्रम सम्पादनको अन्तिम चरणमा छ । ‘अहिले सीडीसीले कम्पाइल गरिरहेको छ । चाँडै सबै पाठ्यक्रम भएको कोर्ष बुलेटिन सार्वजनिक गर्छौं’, उनले भने, ‘हाम्रो करिकुलम डायनामिक, अप टु डेट हुनुपर्‍यो, त्यहीअनुसार एक्स्पर्टसँग समन्वय गरेर ल्याउँदैछौं ।’

अधिकारीले सबै विषयको पाठ्यक्रम माघसम्म ल्याउने जानकारी दिए । ‘लगभग सबै विषयको तयार भइसकेको छ । केही इडिटिङमात्र बाँकी हो । माघसम्म तयार भइसकेपछि वेबसाइटमै हाल्छौं, सबैले हेर्नुपर्‍यो नि !’ उनले भने ।

गण्डकी विश्वविद्यालय प्रदेशको आफ्नै विश्वविद्यालय हो । सातै प्रदेशभरिमा गण्डकी प्रदेशले सबैभन्दा पहिले विश्वविद्यालय स्थापना गरेको थियो । प्रदेश सरकारले गण्डकी विश्वविद्यालय स्थापना, सञ्चालन र व्यवस्थापन गर्न बनेको विधेयक २०७६ पारित भएर विश्वविद्यालय स्थापना भएको थियो ।

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?