+
+

कांग्रेसमा उम्मेदवार छनोट : रातभर सानेपामा के-के भयो ?

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते २०:५९
फाइल तस्वीर

२३ पुस, काठमाडौं । नेपाली कांग्रेस, कास्कीका नेता शोभियतबहादुर अधिकारी राष्ट्रिय सभाको टिकट पाउनेमा ढुक्क थिए । सभापति शेरबहादुर देउवाले वचन दिएका नै थिए, सत्ता गठबन्धनको भागबण्डामा पनि अन्य क्लस्टर पाएपछि उनी आइतबार कार्यसम्पादन समितिबाट औपचारिक अनुमोदनको पर्खाइमा थिए ।

तर सोमबार बिहान आइपुग्दा उनी होइन, किरणबाबु श्रेष्ठले टिकट हात पारे । ‘सबैको सदभाव थियो, टिकटका लागि औपचारिक मात्र पूरा गर्न बाँकी थियो,’ अधिकारी भन्छन्, ‘गठबन्धनमा सजिलो थियो, तर गुटबन्दीमा गाह्रो हुँदो रहेछ ।’

सत्ता गठबन्धनमा १० सिट पाएको कांग्रेसमा उम्मेदवार टुंगाउन नेताहरु साँझ ५ बजे पार्टी कार्यालयमा पुगेका थिए । तर नाम टुंग्याउन झण्डै १२ घन्टा लाग्यो ।

सभापति देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, बद्री पाण्डे, महेन्द्र यादव, डिना उपाध्याय रातभर कार्यालयमै बसेका थिए ।

यस्तै नेताहरु रमेश लेखक, बलबहादुर केसी, अर्जुननरसिंह केसी, ललितजंग शाही, कृष्ण यादव, अनुशासन आयोगका अध्यक्ष अनन्दप्रसाद ढुंगाना रातभर कार्यालयमै बसेका थिए । साँझ केहीबेर बैठक बसेर उठेका नेताहरुले अधिकांश समय गुटको छलफलमा बिताएका थिए । बिहानपख नाम अनुमोदन गरेर घर गएका थिए ।

सहमहामन्त्री जीवन परियार भन्छन्, ‘बैठक सकेर घर पुग्दा बिहान करिव ६ बजेको थियो ।’

सकसपूर्ण भागबण्डा

सत्ता गठबन्धनको भागबण्डामा १० सिट पाउने भएपछि सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरुसँग छलफल गरे । आफ्नो निवास, धुम्बाराहीमा भएको छलफलमा देउवाले आफूले उम्मेदवार बनाउन चाहेका नेताहरुको नाम लिए । कृष्ण सिटौला, आनन्दप्रसाद ढुंगाना, जीतगंज बस्नेत, सोभियत अधिकारी, पुष्पा भुसाल, नारायण दत्त भट्ट लगायतका नेताहरु उनको प्राथमिकतामा थिए ।

उनले बागमती महिलातर्फ विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउनुपर्ने भन्दै डा. शेखर–गगन समूहबाट उनलाई समेत राखेर २ नेताको नाम दिन आग्रह गरे । कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहलाई काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बनाउन भूमिका खेलेकी उनलाई राष्ट्रियसभा सदस्य बनाउन राष्ट्रपति रामचन्द्र पौडेलको समेत सदभाव थियो ।

तर उनीहरुले चार उम्मेदवार आफ्नो समूहबाट हुनुपर्ने बताए । कोशीमा कृष्ण सिटौलाका नाममा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डा. शेखर कोइरालासँग छुट्टै छलफल गरेका थिए । त्यसक्रममा डा. शेखरले आफूहरुलाई ४ सिट दिनुपर्छ भनेर पार्टी नेतृत्वले सत्ता गठबन्धनबाट १० सिट लिएको थाहा पाएका थिए । ४० प्रतिशतको भाग माग्दै आएको यो समूहले आफूहरुलाई देखाएर १० सिट लिएको थाहा पाएपछि छाड्नै कुरै भएन ।

४ सिटभन्दा कम स्वीकार नगर्ने भन्दै महामन्त्री गगन र नेता शेखर कोइराला धुम्बाराहीबाट बाहिरिए । नेताहरु डा. शेखर कोइरालाको सम्पर्क कार्यालय पुगे । पदाधिकारीका साथै समूहका कार्यसम्पादन समितिका सदस्यहरु पनि जम्मा भएपछि महामन्त्री थापाले सत्ता गठबन्धन र पार्टीको बैठकको ब्रिफिङ गरे । ४ सिटभन्दा कम स्वीकार नगर्ने अडानका साथ नेताहरु उठे ।

साँझ ५ बजे पार्टी कार्यालय, सानेपामा कार्यसम्पादन समितिको बैठक बोलाइएको थियो ।

नेताहरु जम्मा भएपछि सभापति देउवाले सुरुमा संसदीय बोर्डको बैठक बोलाए । त्यो बैठकको सुरुमै सहमहामन्त्री जीवन परियारले राष्ट्रियसभामा पार्टीले पटक पटक पाएको अवसरमा दलित समुदायको प्रतिनिधित्व नभएको भन्दै आपत्ति जनाए । त्यसमा समर्थन गरेका महामन्त्री विश्वप्रकाश शर्माले मौखिक रुपमा ६ बुँदे फरक मत राखे ।

अर्का महामन्त्री गगनकुमार थापाले भने सभापति देउवालाई उम्मेदवारको नाम प्रस्ताव गर्न आग्रह गरे । जवाफमा उपसभापति पूर्णबहादुर खड्काले भने दुई जनाको नाम अझै नआएको बताए ।

तर महामन्त्री थापाले पार्टी नेतृत्वले अभिभावकीय भूमिका खेल्न नसकेको भन्दै असन्तुष्टि जनाए । सभापतिले सबैलाई समेट्ने गरी प्रस्ताव ल्याएर अहिलेलाई यसो गरौं भन्नुपर्नेमा त्यसो नगरेको उनको आक्रोश थियो । सभापतिले समूहको नेता झैं भाग लिने र त्यसमा अरुले बोल्नै नपाउने, अर्को समूहले ल्याएको सभापतिले बोल्नै नहुने जस्तो भएको भन्दै उनले प्रश्न गरेका थिए, ‘यो पार्टी कसको हो ?’

उनले सरकारमा मधेशबाट रमेश रिजाल मन्त्री भएको र अहिले आनन्दप्रसाद ढुंगानालाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउँदा मधेशी समुदायले कसरी हेर्छन् भनेर समेत प्रश्न गरेका थिए ।

साथै शेखर समूहले आफूहरुको तर्फबाट ४ उम्मेदवार हुनुपर्ने अडान दोहो¥याएपछि थप छलफल हुन सकेन । शेखर–गगन समूहका नेताहरु क्रमशः बैठकबाट बाहिरिए । एक सहभागीका अनुसार नेताहरु तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रयोग गर्ने गरेको कोठामा गए । संस्थापन समूहका नेताहरु सभापति देउवाको कार्यकक्षमा रहे । त्यही बेला डा. शेखर कोइराला पार्टी कार्यालयबाट हिँडे । बैठक बहिस्कार गरेको सन्देश जानासाथ रमेश लेखकले फोन गरेर बोलाए । तर बैठक भने सुरु हुन सकेन ।

कहिले रमेश लेखक आएर डा. शेखरसँग सम्वाद गर्थे, कहिले सहमहामन्त्री डिना उपाध्याय महालक्ष्मी सन्देश लिएर आउँथिन् । तर कुनै सहमति भएन । एउटै भवनमा भएका नेताहरु आ–आफ्नो समूहमा बसेर छलफल मात्र गरिरहे ।

शेखर–गगन समूहले अडान नछाडेपछि सभापति देउवाले थप एक सिट दिन तयार भए । उनले गण्डकीको अन्यतर्फ दलित समुदायको प्रतिनिधित्व गराउन उनले आग्रह गरे । नेताहरुले जिल्लाबाट आएको सूची मगाए, त्यसक्रममा पदमकुमार परियारको नाम आयो । उनी अपाङ्ग पनि भएकाले अपाङ्ग अल्पसंख्यक क्लस्टरबाट उम्मेदवार बन्ने भए । लुम्बिनीको महिला क्लस्टरमा विष्णुदेवी सापकोटा उम्मेदवार हुने भइन् । हुन त देउवाले यहाँ पुष्पा भुसाललाई उम्मेदवार बनाउन चाहेका थिए । तर शेखर–गगन समूहलाई दिए ।

तेस्रो सिट कर्णालीको अन्य भनिएको थियो । किनकी गण्डकीको अन्यतर्फ सोभियतबहादुर अधिकारीलाई वचन दिइसकेका थिए । २०२८ सालमा आफू नेविसंघको सभापति रहँदा केन्द्रीय सदस्य रहेका अधिकारीले कांग्रेस विभाजनका बेला देउवालाई साथ दिएका थिए । ०६४ को संविधानसभा अन्तिम समयमा उनको नाममा टिपेक्स लाग्यो ।

२०७० मा कास्कीको तत्कालीन क्षेत्र नम्बर ३ को टिकट पाएका उनी एमालेका रवीन्द्र अधिकारीसँग हारेका थिए ।

यो पटक उनलाई राष्ट्रियसभा सदस्य बनाएर देउवाले गुन तिर्न चाहेका थिए । तर उपसभाति पूर्णबहादुर खड्काले कर्णाली छाड्न नमानेपछि देउवाले उनकै नाम काटे ।

स्रोतका अनुसार डा. शेखर–गगन समूहले सुरुमा प्रदेश सभापति शुक्रराज शर्माको नाम अघि सारेका थिए । तर संस्थापन पक्षले मानेन । शर्मा र नाम काटिएका अधिकारी कास्कीकै भएकाले राम्रो सन्देश नजाने संस्थापन समूहका नेताहरुको तर्क थियो । त्यसपछि किरणबाबु श्रेष्ठको नाममा सहमति जुट्यो ।

नेताहरुका अनुसार भागबण्डा मिलेर नाम टुंगो लगाउँदा रातको करिव साढे ४ बजेको थियो । त्यसपछि बल्ल औपचारिक बैठक बस्यो । महामन्त्री गगनले लिखित रुपमै फरक मत राखे ।

सिंगो पार्टीको अभिभावक हुनुपर्ने सभापति समूहको नेता मात्र भएको उनको प्रष्ट असन्तुष्टि थियो । उनले मधेशबाट मधेशी समुदायको प्रतिनिधित्व हुनुपर्ने मत राखेका थिए । मन्त्री बनाउने बेला पनि रमेश रिजाललाई अवसर दिएको र अहिले राष्ट्रियसभामा अवसर पाउँदा पनि मधेशी समुदायलाई अवसर नदिने त्रुटिपूर्ण भएको बताएका छन् ।

कार्यसम्पादन समिति सदस्यद्वय अर्जुननरसिंह केसी र बलबहादुर केसीले पनि फरक मत राखे । अनि १० जनाको नाम अनुमोदन गर्दै कांग्रेस नेताहरु घरतिर लागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?