 
																			२४ पुस, काठमाडौं। बिजुलीबजारस्थित चक्रवर्ती हवी एजुकेशन एकेडेमीका सञ्चालक देवेन्द्र भण्डारीमाथि कुटपिट भएको घटनामा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार, सञ्चालकलाई कुटपिट गरेको आरोपमा उनका छोरा निरजसहित २४ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्ने अन्यमा कैलालीका धिर्खबहादुर रोकाया, चक्रमपथका अभिनक सिंह राठौर, सुनसरीका क्षितिज कोइराला, खोटाङका अमरबहादुर विक, उदयपुरका जीवन भुजेल, ललितपुरका केशव देशार, सल्यानका रिजन केसी र मकवानपुरका भिमलाल वाइवा छन् ।
त्यस्तै, मकवानपुर घर भइ चापागाउँ बस्दै आएका मनिष थिङ, ललितपुरका रजित बेन्जकार, संजय महर्जन, काभ्रेका भिमबहादुर तामाङ, चैरमान लामा, हुम्बु लामा, छेगु लामा, ललितपुरका वीजेन्द्र महर्जन, झापाका विकास मोदे, लतिलपुरका जितेन्द्र श्रेष्ठ र मकवानपुरका सञ्चार सिंह भोलान पनि पक्राउ परेका छन् ।
पक्राउ पर्ने अन्यमा बझाङका सेरेन जोशी, काभ्रेका सुजित दाहाल, गोरखाका शुशान्त पाण्डे र बाग्लुङका जगत आचार्य छन् । उनीहरुलाई प्रहरी वृत्त, बानेश्वरको हिरासतमा राखिएको एसपी ढुंगेलले बताए ।
कलेजको विवादमा सोमबार साँझ निरजसहितको समूहले देवेन्द्रमाथि धारिलो हतियार प्रहार गरेको थियो । टाउकोमा चोट लागेका उनी अहिले बोल्न सक्ने अवस्थामा छैनन् । नर्भिक अस्पतालमा उपचार भइरहेको छ । उनीसँगै चितवनका सुरज रेग्मी पनि घाइते छन् ।
कलेज स्रोतका अनुसार, बाबुछोराबीच कलेज सञ्चालनको विषयमा विगत केही समयदेखि विवाद हुँदै आएको थियो । हालै छोरा निरजले कलेज परिसरमा ‘देवेन्द्र भण्डारीलाई प्रवेश निषेध’ उल्लेखित ब्यानर टाँगेका थिए ।
सोमबारदेखि छोरा निरजले कलेजको सम्पूर्ण व्यवस्थापनको जिम्मा लिने बताउँदै आएका थिए । त्यसक्रममा केही व्यक्तिहरुको समूह लिएर पुगेका बेला बाबुसँग झगडा भएको थियो । यसबारे बुबा देवेन्द्रले प्रहरी वृत्त, बानेश्वरलाई जानकारी गराएका थिए ।
दुई पक्षबीच छलफल गराउने तयारी भइरहेका बेला कुटपिट भएको हो । चक्रवर्ती कलेज यसअघि पनि पटकपटक विवादमा आउने गरेको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4