+
+

जनार्दनको पूरक प्रस्तावले माओवादीमा तरंग

स्थायी समितिको बैठक सकिए पनि शर्माले पेश गरेको प्रस्तावका कारण माओवादीभित्र तरंग उत्पन्न भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १ गते १९:४०

१ माघ, काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष प्रचण्डले पार्टीको स्थायी समिति बैठकमा शनिबार विधान मस्यौदा २०८० को प्रस्ताव पेश गरे ।

उपाध्यक्ष पम्फा भुसाल संयोजकत्वमा गठित विधान मस्यौदा प्रस्ताव कार्यदलले तयार पारेको प्रस्ताव नै टेबल गरेको हुँदा उनले त्यसमा नेताहरुको समर्थन पाउने आशा राखेका थिए ।

यत्तिकैमा पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले एउटा कागज उनको अगाडि सारे । कुनै नाम उल्लेख नभएको कागजका पानाहरुमा पूरक प्रस्ताव लेखिएको थियो ।

प्रस्ताव कसले पठाएको हो भनेर प्रचण्डले खोजी गर्दा उपमहासचिव तथा संगठन विभाग प्रमुख जनार्दन शर्माले लेखेको खुल्न आयो । खासमा उनी आफैं पनि विधान मस्यौदा प्रस्ताव कार्यदलका सदस्य थिए । कार्यदलले प्रस्ताव गरेको दस्तावेजमा उनको प्रष्ट अनुमोदन होला भनी प्रचण्डले गरेको आकलन विपरीत शर्मा फरक कित्तामा उभिए ।

‘कार्यदलमा म पनि थिएँ, तर त्यसले दस्तावेज तयार पारे पनि केही कुरा छुटेजस्तो लाग्यो’, अनलाइनखबरसँग शर्माले आफ्नो प्रस्तावबारे भने, ‘त्यसैले मेरा केही कुराचाहिँ नछुटाई राख्नु है भनेर मैले लेखेरै दिएको हुँ ।’ टाइप गर्ने क्रममा प्राविधिक कारणवश पूरक दस्तावेजमा आफ्नो नाम छुट्न गएको उनले बताए ।

पूरक प्रस्तावमा शर्माले चारवटा कुरा उठाएका छन् :

एक – पार्टीको नाम नेकपा समाजवादी राखौं । त्यसो गर्दा माओवादीबाट छुटेर गएका नेता कार्यकर्तालाई मिलाउन र अन्य पार्टीबाट मान्छे भित्र्याउन सजिलो हुन्छ ।

दुई– प्रदेश र जिल्लालाई केन्द्रबाट पूर्ण स्वायत्त राखौं । प्रदेशका मन्त्री छान्दा होस् या तल्लो तहमा उम्मेदवार छान्दा केन्द्रबाट हस्तक्षेप गर्दा कार्यकर्तामा ऊर्जा हराउँछ ।

तीन – सबै पदमा महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित भएर आउनुपर्छ । मनोनयन र चयन बन्द गरौं ।

चार – जनवर्गीय संगठनहरुलाई पार्टीको वैचारिक बाटो बाहेकका विषयमा आफ्नै योजनामा चल्न दिऔं । उनीहरुले भ्रष्टाचारविरुद्ध बोल्दा होस् या कतिपय गलत प्रवृत्तिहरुविरुद्ध आवाज उठाउन पाउनुपर्छ ।

शर्मा निकट एक नेताका अनुसार मस्यौदा कार्यदलमा रहेका उपाध्यक्ष पम्फा भुसाल र महासचिव देव गुरुङले उनका यी सुझाव विधान मस्यौदा प्रस्तावमा उल्लेख गर्न हिच्किचाए । आफ्ना विषय नसमेटिने छनक पाएपछि शर्माले पूरक प्रस्ताव पेश गरेको ती नेताले बताए ।

स्थायी समितिको बैठक सकिए पनि शर्माले पेश गरेको प्रस्तावका कारण माओवादीभित्र तरंग उत्पन्न भएको छ ।

महासचिव देव गुरुङले शर्माको पूरक प्रस्ताव प्राप्त भएको र त्यो छलफलको क्रममा रहेको बताए । उनले पार्टीभित्र छलफल, बहस भइराख्ने भन्दै पत्रलाई सामान्यीकरण गर्ने प्रयास गरे । ‘पार्टीमा छलफलमै रहेको कुरा हो त्यो (पूरक प्रस्ताव),’ गुरुङले भने, ‘यस्तो हो, तर्कवितर्क चलिराख्छ ।’

शर्माले माओवादी केन्द्र नै नाम राखेर जाँदा जनमत आकर्षित गर्न कठिन रहेको भन्दै बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीलगायतलाई मिलाउन पनि नाम बदल्नुपर्ने तर्क गरेका छन् ।

उनले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी लगायत दलका कार्यकर्ता समेत पार्टीको नाम बदलिए आउन सक्ने सुझाव दिएका छन् ।

शर्माले नेतृत्वमा एकै व्यक्ति कति कार्यकाल रहन पाउने भनी विधानमै किटान गरिनुपर्ने मत समेत राखेका छन् ।

पार्टी नेतृत्वका विभिन्न पदहरुमा मनोनयन गर्न प्रचण्ड एक्लै हाबी हुने गरेको भन्दै शर्माले असहमति जनाउँदै आएका छन् । लामो समय प्रतिस्पर्धी रहेका वर्षमान पुन र आफूमध्ये एक महासचिव आकांक्षी रहे पनि प्रचण्डले दुवैलाई पन्छाएर गुरुङलाई अघि सारेपछि शर्मा आक्रोशित थिए ।

उनले प्रचण्डको उक्त निर्णयसँगै उपमहासचिवबाट हट्न चाहेको भनी पार्टी बैठकमै प्रस्ताव ल्याएपछि खैलाबैला समेत भएको थियो ।

शर्माको पूरक प्रस्तावलाई प्रचण्डले ग्रहण गरे पनि विधान मस्यौदामा समेटिने सम्भावना भने कमै रहेको माओवादी स्रोत बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?