+
+

मुख्यमन्त्री कार्यालय अगाडिकै सडकमा गुणस्तरहीन काम, पुनः कालोपत्रे गर्न निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते ९:४५

३ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको मुख्य सडक कालोपत्रेमा कमसल (कम गुणस्तर) काम भएको पाइएको छ ।

बजार क्षेत्रको मुख्य सडकको कैलाली पुलदेखि चौराहसम्मको खण्डको ठेक्का पाएको कालिका कन्स्ट्रक्सन प्रालिले पहिलो चरणमा मुख्यमन्त्री कार्यालय क्षेत्रमा गरेको कालोपत्रेमा गुणस्तर नपुगेको फेला परेको हो ।

क्षेत्रीय सहरी विकास आयोजना, क्षेत्रीय योजना कार्यान्वयन इकाइ धनगढीले कालिका कन्स्ट्रक्सन प्रालिले मुख्यमन्त्री कार्यालय अगाडि गरेको कालोपत्रेको सबैभन्दा माथिल्ला तह (सरफेस) नमिलेको पाइएको जनाएको छ ।

क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाइका इन्जिनियर सौरभ कलौनीले मुख्यमन्त्री कार्यालयदेखि कैलाली पुलसम्म एकतर्फी कालोपत्रे गरिएकोमा २८० मिटर क्षेत्रमा कम्प्याक्सन राम्रोसँग नभएको अथात् माथिल्लो तहमा लुज गिट्टी देखिएको पाइएपछि सुधार गर्न पत्राचार गरिएको जानकारी दिए ।

उनकाअनुसार क्षेत्रीय विकास आयोजनामार्फत बनिरहेका सडकको प्राविधिक तथा गुणस्तर मूल्यांकनको जिम्मा पाएको परामर्शदाता विल्डिङ डेभलवमेन्ट अथोरिटि (बिडिए)मार्फत निर्माण व्यवसायीलाई सो क्षेत्रमा पुनः मापदण्डअनुसारको कालोपत्रे गर्न निर्देशन दिइएको छ ।

‘क्षेत्रीय सहरी विकास आयोजनाले निर्माण गरिरहेका सडकको गुणस्तर मापन गर्ने जिम्मा परामर्शदाता कम्पनी विल्डीङ डेभलवमेन्ट अथोरिटि (बिडिए) लाई दिइएको छ,’ इन्जिनियर कलौनीले अनलाइनखबरसँग भने, ‘यो सडकमा कमसल काम भएको देखिएपछि बिडिएकै सिफारिसका आधार उसैमार्फत निर्माण व्यवसायीलाई सुधार गर्न भनिसकेका छौँ ।’

इन्जिनियर कलौनीकाअनुसार कालोपत्रे गर्ने क्रममा कमशल काम भएको क्षेत्रमा अब निर्माण व्यवसायीले आफ्नै लगानीमा पुनः कालोपत्रे गर्नुपर्नेछ ।

कालिका कन्स्ट्रक्सनका धनगढी प्रतिनिधि विकटेसराज मण्डलले कालोपत्रे गर्ने क्रममा केही ठाउँमा समान्य प्राविधिक त्रुटी देखिएकाले मर्मत सम्भार गरिने बताए ।

‘कालोपत्रे गर्ने क्रममा केही ठाउँमा ठूलो गिट्टीमाथि रहेका कारण समस्या देखिएको हो । त्यस्तो भएको ठाउँमा हामीले मार्किङ गरिसकेका छौं,’ मण्डलले भने, ‘अर्कोतर्फ कालोपत्रे गर्ने क्रममा बिगि्रएको ठाउँमा सुधार गछौँ । धेरै ठूलो समस्या होइन ।’

कालिका कन्स्ट्रक्सन प्रालिले मुख्य सडकको कैलालीपुलदेखि ट्राफिक चौराहसम्मको मुख्य सडकसहित एसियाली विकास बैँकको अनुदान सहयोगमा क्षेत्रीय सहरी विकास आयोजनामार्फत बनिरहेका उपमहानगरपालिका क्षेत्रका ८ वटा सडक निर्माणको ठेक्का पाएको छ ।

उक्त कम्पनीले करिब १० किलोमिटर लम्बाईका ती सडक २८ असार २०७७ मा दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी ठेक्का पाएको थियो तर कोरोना महामारीको कारण देखाउँदै दुई पटक म्याद थप गरिएको थियो भने सडकको क्षेत्राधिकार खाली नभएको कारण देखाउँदै थप दुई पटक गरी चार पटक म्याद थप गरिएको छ ।

७६ करोड ९० लाख ७६ हजार रुपैयाँमा ठेक्का पाएको कालिका कन्स्ट्रक्सनले पछिल्लो पटक थपिएको म्यादअनुसार अगामी चैत १८ गतेसम्म सडक कालोपत्रेको काम गरिसक्नुपर्ने क्षेत्रीय सहरी विकास आयोजनाले जनाएको छ ।

तर चौंथो पटक थपिएको म्याद समते नजिकिदै आउँदा समेत कालिका कन्स्ट्रक्सनले कामलाई तीव्रता दिन सकेको छैन् ।

सडक निर्माणमा ढिलासुस्ती गरिएपछि धनगढीको मुख्य बजार क्षेत्रमा आवातजावत गर्न सर्वसाधारणले सास्ती खेप्नुपरेको गुनासो गरेका छन् ।

कालिका कन्स्ट्रक्सन प्रालिले भने निर्धारित समयमै काम सम्पन्न गर्ने दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?