+
+

एउटा पनि क्रिकेट मैदान नभएको कर्णाली

कर्णाली प्रदेशमा एउटा पनि क्रिकेट मैदान छैन । आफ्नै मैदान नहुँदा पनि उसको प्रदर्शन भने झन् झन् सुधार हुँदै गएको छ ।

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० माघ ६ गते १९:२६
शनिबार मधेश प्रदेशसँगको खेलपछि कर्णालीका खेलाडीहरु । तस्वीर सौजन्य : नेपाल क्रिकेट संघ

६ माघ, काठमाडौं । कर्णाली प्रदेशले क्रिकेटको राष्ट्रिय प्रतियोगिता खेल्न थालेको पाँच वर्ष भन्दा बढी भइसक्यो ।

उसले सन् २०१८ मा प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको दोस्रो संस्करणदेखि सहभागिता जनाइरहेको छ । सुरुवाती दुई संस्करण कर्णाली जितविहीन हुँदै फर्किएको थियो ।

सन् २०२१ जनवरी १९ मा कर्णालीले मूलपानी मैदानमा गण्डकी प्रदेशलाई ५ विकेटले हराउँदै प्रधानमन्त्री कपमा पहिलो जित दर्ता गरेको थियो ।

कर्णाली प्रदेशमा एउटा पनि क्रिकेट मैदान छैन । आफ्नै मैदान नहुँदा पनि उसको प्रदर्शन भने झन् झन् सुधार हुँदै गएको छ ।

कर्णालीले पछिल्लो दुई वर्षमा घरेलु क्रिकेटमा उत्कृष्ट प्रभाव छाडेको छ । सबै टोलीसँग कडा प्रतिस्पर्धा गर्दै आएको छ । यस पटकको प्रधानमन्त्री कपमा कर्णालीले सुरुवाती चारमध्ये दुई खेल जितेको छ ।

बुधबार सिद्धार्थ रंगशाला भैरहवामा घरेलु टोली लुम्बिनीलाई ६० रनले स्तब्ध पारेको थियो । गण्डकीलाई ७ विकेटले हराएको कर्णाली सुदूरपश्चिमसँग भने १३४ रनले पराजित भयो ।

शनिबार काठमाडौंको त्रिवि क्रिकेट मैदानमा ६१ रनले पराजित हुँदा पनि कर्णालीले मधेशलाई अन्तिमसम्म दबाबमा राख्यो ।

नेपाली यू–१९ टिमबाट क्रिकेट खेलिसकेका रवीन्द्रजंग शाहीले सुरुवातदेखि नै कर्णाली टोलीको नेतृत्व गर्दै आइरहेका छन् । आफ्नै मैदान नहुँदा सोचेजस्तो विकास हुन नसकेको उनी बताउँछन् ।

‘खेलाडीहरु कर्णाली भन्दाबाहिर नै अभ्यास गर्ने गर्छन्, मैदान अभावमा खेतबारीमै टेनिस बलले क्रिकेट खेलिरहेका छन् । मैदान भयो भने अरु खेलाडीहरु पनि निस्किन्छन् । टिममा प्रतिस्पर्धा पनि हुन्छ र टोली राम्रो पनि बन्छ’, शनिबार मधेशसँगको खेलपछि रवीन्द्रले भने ।

शनिबार मधेशविरुद्धको खेलमा अर्धशतक बनाएका कर्णालीका अर्जुन घर्ती । तस्वीर सौजन्य : नेपाल क्रिकेट संघ ।

आउँदो वर्ष कर्णालीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । त्यसका लागि सुर्खेतको वीरेन्द्रनगरस्थित कालिञ्चोक र कर्णाली रंगशालाको छेउमा गरी दुई क्रिकेट मैदान निर्माणाधीन छन् ।

‘दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका कारण त्यहाँ क्रिकेट मैदान बन्ने एउटा सकारात्मक पक्ष देखेका छौं’, कप्तान रवीन्द्रले भने ।

नेपालमा खेलकुदमा निकै कम लगानी छ, क्रिकेटमा भएको केही लगानी पनि सिनियर क्रिकेट टिममा बढी छ । प्रदेशस्तरमा र अझ कर्णालीमा त क्रिकेटमा लगानी शून्यकै अवस्थामा छ । खेलाडीको खेलप्रतिको हुटहुटी र मिहिनेतले मात्र कर्णालीमा क्रिकेट खेलाडी आइरहेका छन् ।

खेलाडीहरु छनोटको बेलामा मात्र कर्णाली पुग्छन् । अरु बेला भारत, काठमाडौं, धनगढी वा कुनै सहरमा बसेर क्रिकेट सिक्छन् । तर सबै खेलाडीका लागि बाहिर गएर अभ्यास गर्न सहज छैन । त्यसैले क्रिकेट खेल्ने चाहना भएका धेरै खेलाडी त्यसै हराएका छन् ।

खेलाडी छनोट पनि २०–२५ ओभरको एक–दुई खेलबाट गर्नुपर्ने बाध्यता छ । यसरी छानिएको टिमले राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेर जित निकाल्नु कठिन छ ।

कर्णालीले आठ महिनाअघि जनकपुरमा भएको पहिलो महेन्द्रनारायण निधि टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको थियो । ७ प्रदेश सहभागी प्रतियोगितामा कर्णालीले सुदूरपश्चिमलाई हराउँदै पहिलो उपाधि जितेको थियो ।

तर धेरै अभ्यास र मिहिनेतबिना एकदिवसीयको त्यस्तो नतिजा ल्याउन निकै कठिन हुन्छ । अन्य ६ प्रदेशमा कम्तीमा काम चलाउ क्रिकेट मैदान छन् । कर्णालीमा भने त्यही पनि छैन । ‘अहिले २०–२२ जना खेलाडी होलान् । मैदान भएमा धेरै खेलाडी उत्पादन हुन्छन्’, कप्तान रवीन्द्र भन्छन् ।

कर्णालीका सुर्खेत, दैलेख, कालीकोट, रुकुम र सल्यानले क्यानको जिल्ला सदस्यता मान्यता पाएका छन् । कर्णालीका कुनै पनि जिल्लामा खेल्न योग्य मैदान छैन । त्यसैले टेनिस क्रिकेट खेल्नुबाहेक अन्य विकल्प पनि छैन ।

यसका बाबजुद कर्णालीका विपिन रावलले यू–१९ विश्वकप खेलिसकेका छन् । अनुज चनारा सिनियर टोलीको बन्द प्रशिक्षणमा परेका खेलाडी हुन् । दिनेश अधिकारी र अर्जुन घर्ती आगामी दिनमा नेपाली टोलीबाट नै खेल्न सक्ने सम्भावना देखाएका छन् ।

‘म खेलाडीहरुलाई धन्यवाद नै दिन चाहन्छु । बाहिर खेल्छन् । एक फोनको भरमा जहाँ भएपनि छनोट खेल्न आउँछन्’, कप्तान रवीन्द्र भन्छन् ।

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?