+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

वैदेशिक व्यापारमा ‘सेटब्याक’ : १५५ साझेदारमध्ये १२८ सँग घाटा

नेपालले धेरै मुलुकबाट अनियन्त्रित आयात गरिरहेको छ । तर, निर्यात गर्ने वस्तु मात्रै होइन, देश पनि सीमित छन् । १० रुपैयाँ निर्यात गर्दा ९० रुपैयाँको आयात हुनु नेपालको वैदेशिक व्यापारको ‘मेजर सेटब्याक’ हो ।

जनार्दन बराल जनार्दन बराल
२०८० माघ ७ गते १८:२४

७ माघ, काठमाडौं । नेपालले चालु आर्थिक वर्ष (आव) को पहिलो ६ महिनामा १ सय ५५ मुलुकसँग व्यापार गर्ने गरे पनि तीमध्ये ८३ प्रतिशतसँग घाटाको कारोबार गरिरहेको पाइएको छ । भन्सार विभागको चालु आर्थिक वर्षको पहिलो ६ महिनाको तथ्यांकअनुसार जम्मा २७ देशसँग मात्रै नेपालले नाफाको व्यापार गर्छ, त्यो पनि नगन्य मात्रै ।

बाँकी १ सय २८ मुलुकसँग नेपालको व्यापार घाटामा चलिरहेको विभागको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको छ महिनामा नेपालले ७ खर्ब ६८ अर्बको आयात गरेकोमा निर्यात भने जम्मा ७४ अर्ब ९७ करोड रुपैयाँ मात्रै भएको छ । यस हिसाबले नेपाललाई यो अवधिको व्यापारमा ६ खर्ब ९३ अर्ब घाटा छ ।

नेपालको निर्यात–आयात अनुपात १० दशमलव २५ छ । यो भनेको नेपालले १ सय रुपैयाँको व्यापार गर्दा ९० रुपैयाँभन्दा बढी आयात गर्छ भने १० रुपैयाँ मात्रै निर्यात गर्छ ।

तर, केही सीमित यस्ता देश छन्, जहाँ नेपालले आयातको तुलनामा निर्यात बढी गर्छ ।

त्यसको पहिलो नम्बरमा अमेरिका पर्छ । नेपालले चालु आर्थिक वर्षको ६ महिनामा अमेरिकामा ८ अर्ब ३४ करोड रुपैयाँको निर्यात गरेको थियो । त्यस्तै, अमेरिकाबाट नेपालले ७ अर्ब ६४ करोड रुपैयाँको आयात गरेको छ ।

नेपाललाई अमेरिकासँगको व्यापारमा ७० करोड ३६ लाख फाइदा रहेको विभागको तथ्यांक छ ।

नेपालबाट अमेरिकामा सबैभन्दा बढी कार्पेट तथा टेक्सटाइल निर्यात भएको देखिन्छ । यो वर्षको ६ महिनामा ३ अर्ब रुपैयाँको कार्पेट तथा टेक्सटाइल अमेरिका निर्यात भएको हो ।

त्यस्तै, कुकुर र बिरालोको खानेकुरा १ अर्ब २५ करोड र फेल्टका सामग्री ९३ करोड ४७ लाख रुपैयाँको निर्यात भएको छ ।

त्यस्तै, डेनमार्क नेपालले नाफाको व्यापार गर्ने दोस्रो मुलुक हो । डेनमार्कसँगको व्यापारमा नेपालले ६ महिनामा २७ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । डेनमार्कमा फेल्टमा सामग्री, पश्मिना तथा सल धेरै मात्रामा निर्यात हुने गरेको देखिन्छ ।

तेस्रो नम्बरमा नर्वेसँग नेपालले नाफाको व्यपार गर्छ । चालु आवको ६ महिनामा नर्वेमा नेपालबाट ८ करोड १५ लाख ८० हजार रुपैयाँको निर्यात गरेको थियो भने १ करोड ६७ लाखको मात्रै आयात गरेको थियो । त्यसो हुँदा नेपाललाई ६ करोड ४८ लाख रुपैयाँ फाइदा भएको थियो ।

त्यसपछि क्रमशः माल्दिभ्स, लाट्भिया, अफगानिस्तानलगायत मुलुकसँग नेपालको व्यापार नाफामा छ ।

नेपालले ६ महिनामा सबैभन्दा धेरै निर्यात भने भारतमा ५० अर्ब ४५ करोडको गरेको छ । दोस्रोमा अमेरिका नै छ भने तेस्रो नम्बरमा रहेको जर्मनीमा नेपालले २ अर्ब २५ करोड रुपैयाँको निर्यात गरेको छ ।

उच्च निर्यात हुने सूचीमा त्यसपछि क्रमशः बेलायत, चीन, यूएई र फ्रान्स छन् । यी मुलुकमा नेपालको निर्यात एक अर्बदेखि २ अर्बको बीचमा छ ।

वस्तुका हिसाबले नेपालबाट सबैभन्दा धेरै निर्यात कार्पेट तथा भुइँ ढाक्ने अन्य टेक्सटाइल भएको छ । नेपालबाट गएको ६ महिनामा ५ अर्ब २३ करोडको कार्पेट निर्यात भएको छ भने अलैँची ३ अर्ब ९१ करोड रुपैयाँको भएको छ ।

त्यस्तै, स्टिल तथा आइरन ३ अर्ब ६१ करोडको निर्यात भएको छ भने जुस २ अर्ब ६० करोडको गएको छ ।

तर, यो तथ्यांकमा विद्युत्, आईटीलगायत सेवा निर्यातको रकम भने परेको छैन । गत वर्ष थिंकट्यांक अर्गनाइजेसन आईआईडीएसले गरेको एक अध्ययनले नेपालबाट वार्षिक करिब ६७ अर्बको आईटी निर्यात हुने गरेको देखाएको थियो ।

त्यस्तै, यो वर्ष नेपालबाट १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् निर्यात भएको छ ।

नेपालले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ८ खर्ब ४३ अर्बको वैदेशिक व्यापार गरेको छ, जसमा आयातको हिस्सा ९१ दशमलव ११ प्रतिशत छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा धेरै हो । गत वर्षको यो अवधिमा कुल व्यापारमा आयातको हिस्सा ९० दशमलव ७५ प्रतिशत थियो ।

किन कमजोर बन्यो नेपालको निर्यात?

नेपालमा आयात धेरै मुलुकबाट भए पनि निर्यात भने सीमित देशमा मात्रै हुने पूर्ववाणिज्य सचिव चन्द्रकुमार घिमिरे बताउँछन् । नेपालले व्यापार उदारीकरण गरे पनि निर्यातको विविधिकरण हुन नसक्दा यो समस्या भएको उनको भनाइ छ । ‘हामीले व्यापार विविधीकरण गर्ने भन्यौं, त्यो आयातमा भयो । तर, निर्यात हुन सकेन,’ उनी भन्छन् ।

नेपालले निर्यात गर्ने मुलुकहरु मात्रै होइन, वस्तुहरु पनि अत्यन्तै सीमित भएको उनको अनुभव छ । ‘निर्यात बढाउनका लागि उत्पादन धेरै हुनुपर्छ, उत्पादकत्व पनि उच्च हुनपर्छ, तर त्यो हुन सकेको छैन,’ उनले भने ।

नेपालको उत्पादन नबढ्नुमा लगानी ‘रेजिम’मा सुधार हुन नसक्नु प्रमुख कारण रहेको उनले बताए ।

‘लगानीको रेजिममा सुधार गर्न नसक्दा हाम्रो उत्पादन र उत्पादकत्व बढ्न सकेन,’ उनले भने, ‘त्यसले गर्दा हामीले बाहिरको बजार लिन सकेनौं, उत्पादन प्रतिस्पर्धी हुन नसक्दा हाम्रो आफ्नो बजार पनि जोगाउन सकेनौं, बाहिरका उत्पादकले लिए ।’

लगानीको वातावरणमा सुधार गर्न नसक्दा व्यापार उदारीकरणले हामीलाई भन्दा हाम्रोमा निर्यात गर्ने मुलुकहरुलाई फाइदा भएको उनको भनाइ छ ।

पछिल्लो समयमा आएर प्रतिस्पर्धी क्षमतामा सुधार गर्ने परम्परागत मान्यताहरु पनि भत्किएको उनले बताए । ‘हार्वर्ड बिजनेस रिभ्युको एउटा लेखमा प्रतिस्पर्धी क्षमता ब्याजदर, कामदारको पुल, विनिमयदरले निर्धारण हुन्छ भन्ने कुरा शास्त्रीय भयो, यो समयमा उद्योगहरुको नवप्रवर्तन तथा बजार अपनाउने क्षमता (मार्केट एडाब्टाबिलिटी)ले प्रतिस्पर्धात्कता निर्धारण हुने उल्लेख छ,’ उनले भने ।

यी विषयमा नेपालको निजी क्षेत्र कमजोर हुँदा प्रतिस्पर्धी लाभ विकास हुन नसकेको उनले बताए ।
नेपाल कुन वस्तुमा प्रतिस्पर्धी बन्नसक्छ र निर्यात गर्नसक्छ भन्ने सबैभन्दा पहिला पहिचान गर्नुपर्ने नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल बताउँछन् ।

‘हामीले धेरै वस्तु निर्यात गर्न सक्दैनौं, त्यसो हुँदा निर्यात भन्दा पनि आयात प्रतिस्थापन गर्ने नीतिमा सीएनआईले जोड दिएको छ,’ उनले भने ।

नेपालजस्तो मुलुकले वस्तु निर्यात गर्ने भन्दा पनि सेवा निर्यातमा जोड दिनुपर्ने उनी बताउँछन् । ‘वस्तु निर्यातमा हामी प्रतिस्पर्धी नहुन सक्छौं, त्यसको विकल्पमा विदेशी मुद्रा आर्जनका वैकल्पिक स्रोतहरु पहिचान गर्नुपर्छ,’ उनले भने, ‘सूचना प्रविधि, पर्यटन, विद्युत् लगायतले ती वस्तु तथा सेवा हुनसक्छन् । बाँकी वस्तु निर्यातमा धेरै दिमाग खर्च नगर्नु राम्रो हो ।’

उच्च मूल्यका हस्तकला, हाते कागजलगायत वस्तु निर्यातको आधारमालाई पनि बलियो बनाउँदै जानुपर्ने उनले बताए । अहिले राम्रो निर्यात भइरहेका वस्तुलाई थप कसरी प्रवद्र्धन गर्न सकिन्छ, त्यसमा काम गर्नुपर्ने पनि उनले बताए ।

आयात प्रतिस्थापनका लागि कुनै वस्तुलाई संरक्षण दिन सकिन्छ भने त्यसबारे पनि सोच्नुपर्ने उनले बताए । ‘हरेक देशले कुनै न कुनै वस्तुलाई संरक्षण गरेको हुन्छ, तर कति दिने र कहिलेसम्म दिने भन्नेमा भने स्पष्ट हुनुपर्छ, संरक्षणका नाममा उपभोक्ताको शोषण हुनुहुँदैन ।’

आन्तरिक रुपमा नै कच्चा पदार्थ उपलब्ध हुने वस्तुलाई निश्चित समय संरक्षण दिने र त्यसलाई प्रतिस्पर्धी बनाएर लैजान सकियो भने मुलुकलाई फाइदा हुने उनले बताए । ‘केही समयपछि उद्योग प्रतिस्पर्धी भएर जान्छ र संरक्षण आवश्यक पर्दैन,’ उनले भने ।

नेपालमा सिमेन्ट उद्योगलाई एक समय संरक्षण दिइएका कारण अहिले त्यो आफैँ प्रतिस्पर्धी भएर संरक्षण नै नचाहिने अवस्थामा पुगेको उनले बताए । ‘सधैं संरक्षण चाहिराख्ने हो भने त्यस्तो उद्योगलाई प्राथमिकता दिनु नै बेकार हुन्छ,’ उनले भने ।

लेखक
जनार्दन बराल

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका बराल अनलाइनखबरको आर्थिक ब्युरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?