९ माघ, काठमाडौं । काठमाडौंसहित अधिकांश जिल्लामा केही दिनयता जाडो बढेको छ । दिउँसो घाम लागे पनि बिहान–बेलुका अत्यधिक जाडो हुँदा जनजीवन प्रभावित भएको छ ।
काठमाडौं उपत्यकामा आज बिहान यस वर्षको हिउँद अवधिमा अहिलेसम्मकै जाडो महसुस भएको छ । किनकी आज बिहान पौने नौ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन भएको छ । सोमबार बेलुका काठमाडौंको न्यूनतम तापक्रम अझै घटेर ३.२ डिग्री सेल्सियस थियो ।
यसअघि पुस २० गते काठमाडौंको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस थियो । आज बिहान पौने नौ बजे गरिएको मापनले २० पुसको न्यूनतम तापक्रमको रेकर्ड तोडेको हो ।
केही दिनयता तराई मधेशका जिल्लाहरुमा मध्याह्नसम्म बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेको छ । यसले गर्दा दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्नेहरु र न्याना कपडाको अभाव भएकाहरु समस्यामा परेका छन् ।
पूर्वको तुलनामा पश्चिम तराईमा बाक्लो हुस्सु
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सन्जिव अधिकारीका अनुसार केही दिनयता पूर्वको तुलनामा पश्चिम तराईका जिल्लाहरुमा बढी हुस्सु कुहिरो लाग्ने गरेको छ ।
आज बिहान पनि तराईका जिल्लाहरुमा बाक्लो हुस्सु लागेको थियो । ‘भैरहवा, नेपालगञ्ज, जनकपुर र विराटनगरमा आज बिहान बाक्लो हुस्सु लाग्दा भिजिबिलिटी (पारदर्शिता) एक सय मिटर वा त्योभन्दा पनि कम थियो,’ मौसमविद अधिकारीले भने, ‘कतै–कतै ८०० मिटरदेखि एक हजार मिटरसम्म पारदर्शिता थियो ।’
पूर्वतिरका जिल्लामा हुस्सु खुल्दै गए पनि पश्चिमतिर आज अपराह्नसम्मै हुस्सु लाग्ने अनुमान गरिएको उनले बताए । ‘समग्रमा भन्दा पूर्वी भूभागमा भन्दा पश्चिम भूभागमा बढी हुस्सु कुहिरो छ । पश्चिमतिर अपराह्नसम्मै हुस्सु रहने जस्तो देखिन्छ,’ उनले भने ।
पानी पार्ने पश्चिमी वायुको तत्काल नेपाल आउने सम्भावना नरहेकाले केही दिनसम्म हुस्सु कुहिरो लाग्ने मौसमविदको अनुमान छ ।
अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4