+
+

पत्रकार सेजुवालको ‘फल्स फ्रन्ट पेज’ सार्वजनिक   

रासस रासस
२०८० माघ १३ गते १९:२९

१३ माघ, काठमाडौँ । नेपाली पत्रकारिताको अभ्यासका क्रममा हुने कमजोरी केलाएर प्रस्तुत गरिएको पुस्तक ‘फल्स फ्रन्ट पेज’ सार्वजनिक भएको छ । पत्रकार कलेन्द्र सेजुवालले लेखेको पुस्तक शनिबार उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले विमोचन गरे ।

पुस्तकमाथि टिप्पणी गर्दै पुस्तक विमोचन कार्यक्रमका सहभागीले अखबारी पत्रकारिताको पहिलो पृष्ठमा हुने कमजोरीलाई पुस्तकले विषयवस्तुका आधार बनाएको बताएका छन् ।

पुस्तकको केन्द्रमा सुर्खेतबाट प्रकाशित पत्रिकाहरुका फ्रन्ट पेज (पहिलो पृष्ठ) समावेश गरिएका छन् । साथै एफएम रेडियो र टेलिभिजनका प्रमुख, प्रदेश सीमाङ्कन आन्दोलनमा सुर्खेतका सञ्चारमाध्यमको भूमिकालगायत विषयवस्तु समेटिएका लेखक सेजुवालले बताए ।

सांसद कान्तिका सेजुवालले फल्स फ्रन्ट पेज समग्र सञ्चारमाध्यमको समीक्षात्मक प्रतिवेदन रहेको भन्दै यसले पत्रकारिता क्षेत्रमा देखिएका कमीकमजोरी सुधारेर उच्च व्यावसायिक अभ्यासका निम्ति मद्दत पुग्ने विश्वास व्यक्त गरिन् ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता क्षेत्रको उच्च व्यावसायिक अभ्यासमा रहेका कमजोरीलाई सुधार्न पुस्तक उपयोगी हुने बताए ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष बिपुल पोखरेलले पत्रकारिता क्षेत्रका कमीकमजोरीलाई पुस्तकमार्फत सूक्ष्म ढङ्गले उठान गरिएकाले यो पुस्तक पत्रकारिता क्षेत्रका विद्यार्थीका लागि उपयोगी सामग्री हुने विश्वास व्यक्त गरे ।

राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पत्रकारिता क्षेत्रका लागि पुस्तक निकै उपयोगी हुने धारणा राखे ।

महासङ्घका पूर्वअध्यक्ष किशोर नेपालले ‘सोसल मिडिया’ का कारण आजको पत्रकारितामा चुनौती थपिएको, पत्रकार स्वयं कामप्रति सक्रिय नभएको भन्दै पत्रकारिताको व्यावसायिक मर्म र भावनालाई जीवित राख्न सबै जिम्मेबार भएर लाग्नुपर्ने बताए ।

महासङ्घका अर्का पूर्वअध्यक्ष सुरेश आचार्यले नेपाली पत्रकारितामा सच्चिन चाहनेका लागि पुस्तक प्रेरणादायी बन्ने विश्वास व्यक्त गरे ।

महासङ्घका अर्का पूर्वअध्यक्ष महेन्द्र बिष्टले पत्रकारिताको पुरानो अभ्यासलाई समीक्षा गरेर समयसापेक्ष बनाउन पुस्तकले सहयोग गर्ने बताए ।

पत्रकार निर्मला शर्माले पत्रकारिताका आधारभूत सिद्धान्त र उच्च व्यावसायिक अभ्यासमा देखिएका कमजोरी सुधार्न तथा यस क्षेत्रका अध्येताका लागि पुस्तक उपयोगी बन्ने विश्वास व्यक्त गरिन् ।

लेखक सेजुवालले पत्रकारिताको अभ्यासका क्रममा आफूले भोगेका, देखेका विषयवस्तुलाई सजीव ढङ्गले प्रस्तुत गरिएको उल्लेख गरे । प्रेस फ्रिडम मिडिया प्रालिले प्रकाशन गरेको उक्त पुस्तकको मूल्य रु पाँच सय रहेको छ ।

पुस्तक बिक्रीबापत भएको आम्दानीको ५० प्रतिशत रकम खोज पत्रकारितामा हौसला प्रदान गर्नका लागि स्थापित अक्षयकोषमा प्रयोग गरिने लेखक सेजुवालले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?