+
+

सुन तस्करी प्रकरणको अनुसन्धान प्रभावकारी भएन : एमाले नेता गिरी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १५ गते ९:३३

१५ माघ, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रभावकारी नभएको बताएका छन् ।

सरकारले गठन गरेको सुन तस्करी नियन्त्रण तथा जाँचबुझ आयोगले दलका प्रतिनिधिहरुसँग आइतबार गरेको छलफलमा सहभागी एमाले प्रमुख सचेतक गिरीले सत्ता पक्षका नेताहरुमाथि अनुसन्धान सोझ्याउनुपर्ने बताए ।

जाँचबुझ आयोगको समयावधि थपेर मात्रै सुन काण्डको अनुसन्धानले परिणाम ल्याउन नसक्ने भन्दै गिरीले भने, ‘यो काण्डमा जोडिएका सत्ता पक्षका नेताहरुमाथि पनि अनुसन्धान हुनुपर्छ ।’

सरकारले सुन तस्करी प्रकरणको जाँचबुझ गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको छ । आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी सहकुल थापा, अर्थ मन्त्रालयका पूर्वसहसचिव किशोरजंग कार्की र गृह मन्त्रालयका पूर्वसहसचिव प्रेमराज जोशी सदस्य छन् ।

आयोगलाई विद्युतीय चुरोट (भेप) र ब्रेक शुमा लुकाएर गरिएको सुन तस्करी लगायतका विषयमा अनुसन्धान गर्ने जिम्मेवारी छ । साथै तस्करीको प्रकृति, सुनको परिमाण, अपराधको दायरा र संलग्न व्यक्तिहरुबारे थप अनुसन्धान गर्नुपर्ने देखिएमा अनुसन्धान गरी कारबाहीका लागि सिफारिस गर्ने कार्यादेश दिइएको छ ।

यसअघि सुन तस्करीसँग सम्बन्धित कुनै सूचना वा कागजात कसैसँग भए उपलब्ध गराइदिन सार्वजनिक आह्वान गरेको आयोगले आइतबार दलका नेताहरुसँग छलफल गरेको थियो । आयोगसँगको छलफलमा नेकपा एमालेका प्रमुख सचेतक गिरीसहित नेपाली कांग्रेसकी सचेतक सुशीला थिङ, माओवादी केन्द्रकी सचेतक रुपा शोसी चौधरी र रास्वपाका प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए ।

सो छलफलमा बोल्दै एमाले प्रमुख सचेतक गिरीले ब्रेक सुबाट सुन निकाल्दा कसरी ६१ किलो मात्र भयो भनेर प्रश्न गरे । उनले भने, ‘भेटिएको भनिएको ब्रेक सुको तौल ९५० ग्राम छ । एउटा ब्रेक सुमा ५५० ग्राम सुन भएको देखिन्छ । अरु बाँकी ४०० ग्राम ब्रेक सु नै हो । यसो गर्दा सुन सहितको ब्रेक सुको जम्मा तौल १५४ केजी भनिएको छ । तर ब्रेक सुबाट सुन निकाल्दा कसरी ६१ केजी सुन कायम भयो ? हुनुपर्ने ११० केजी थियो ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट बाहिरिएको ब्रेक सु सहितको सुन लोड गरिएको ट्याक्सी राजश्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट नियन्त्रणमा लिएको विषयमा पनि उनले प्रश्न गरेका थिए । त्यो ट्याक्सीलाई गोदामसम्म पुग्न दिएर समातेको भए अझै धेरै कुराहरु खुल्न सक्ने भन्दै उनले ट्याक्सी चालकलाई नियन्त्रणमा नलिएर तारेखमा छोडिएको र सुन गाल्ने गरिएको गोदाममा तीन दिनपछि मात्र खानतलासी गर्नुले धेरै शंका उब्जिएको बताए ।

यसैगरी भेपमा लुकाएर तस्करी गरिएको सुन सार्वजनिक नगरिएको विषयमा पनि उनले उठाएका थिए । ‘भेपमा आएको भनिएको ९.५० केजी सुन बराद भएता पनि अहिलेसम्म सरकारले किन सार्वजनिक नगरेको ? त्यो सुन कहाँ छ ?’ उनले भने ।

भेप प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल प्रहरी नियन्त्रणमा छन् । सुन तस्करी सरकारको सेटिङ विना हुनै नसक्ने जिकीर गर्दै गिरीले यसमा सत्ता गठबन्धन दलका अन्य नेताहरुको पनि संलग्नता हुनसक्ने भएकाले त्यसतर्फ पनि अनुसन्धान गर्न उनले आग्रह गरे ।

प्रमुख सचेतक गिरीले सुन तस्करीमा डलरको प्रयोग भएको हुन सक्ने भन्दै त्यसको अनुसन्धानमा पनि ध्यान दिन भनेका थिए ।

आयोगले तीन महिनाको बीचमा आफूले गरेका कामहरुको बारेमा जानकारी गराएको थियो । तस्करी प्रकरणमा मुछिएका आरोपीसँग सोधपुछ गर्ने तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि दक्षिणी र उत्तरी सीमा क्षेत्रका भन्सारसम्म अवलोकन गरेको आयोगले जनाएको छ ।

सरकारले सुन तस्करीको जाँचबुझका लागि गठन गरिएको आयोगको म्याद पछिल्लो पटक दुई महिना थपेको थियो । आयोगसँग अब एक महिना समय बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?