१६ माघ, काठमाडौं । विश्वकप खेल्ने हरेक खेलाडीको सपना हुन्छ । तर सपना पूरा गर्ने अवसर निकै कम खेलाडीले पाउँछन् । नेपाल जस्ता एशोसिएट टोलीका खेलाडीलाई त विश्वलाई आफ्नो प्रदर्शन देखाउने सबैभन्दा राम्रो अवसर नै विश्वकप हो ।
गत वर्ष फागुनमा नेपाल यू-१९ विश्वकपमा छनोट भएपछि हेमन्त धामीले पनि कडा मिहिनेत गर्दै आएका थिए । नेपाली तीव्र गतिका बलरमा भविष्य मानिएका उनी इनस्वींग, गति र वाउन्स विश्वमै देखाउन चाहन्थे ।
तर १७ पुसमा माथिल्लो मूलपानी क्रिकेट मैदानमा सिनियर टोलीसँग भएको अभ्यास खेलका क्रममा उनी घाइते भए ।
अभ्यास खेलमा सातौं ओभरको चौथो बलमा हेमन्तको लेन्थको बललाई सोमपाल कामीले स्ट्रेट ड्राइभ सटमार्फत लङअफतर्फ खेल्न खोजेका थिए । त्यही बल रोक्न खोज्ने क्रममा उनको बायाँ खुट्टाको तीघ्रामा लाग्यो । बलले लागे लगत्तै हेमन्त मैदानमा लडे । उनलाई उठ्नै केही समय लाग्यो ।
बल्लतल्ल मैदान बाहिर निस्किए । चोट लागेको खुट्टा चलाउन निकै गाह्रो भएको थियो । यू-१९ का मुख्य प्रशिक्षक जगत टमाटाले उनलाई अस्पताल गएर जाँच गर्न सुझाए ।
उनी गंगा डाइग्नोष्टिक सेन्टर गए । ‘मसल टियर भएको छ’ भनेकाले विश्वकपमा के होला भन्ने डर लाग्यो । नभन्दै २० पुसमा दक्षिण अफि्रका उड्नु अघिल्लो दिन मुख्य प्रशिक्षक टमाटाले बोलाएर भने, ‘तिम्रो शल्यक्रिया गर्नुपर्छ होला, विश्वकप खेल्न सक्दैनौं ।’
त्यही एक बलको चोटले विश्वकप सपना चकनाचुर पारेपछि हेमन्तले आफूलाई सम्हाल्न सकेनन् । आँखाबाट बरर आँसु झारे । ‘गुरुले तिमी विश्वकप खेल्न सक्दैनौं भनेपछि नराम्रो लाग्यो । आँसु आयो । धेरै समय रोएँ,’ त्यो दिन सम्झदै हेमन्तले भने ।
विश्वकप छनोटका हिरो

दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप २०२४ अन्तर्गत नेपालले अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा यात्रा बनायो । नेपालका प्रमुख बलर हेमन्त मैदानमा होइन, स्वदेशमा बसेर विश्वकप हेरे ।
टिमलाई विश्वकपमा पुर्याएर पनि अन्तिम समय आफू बाहिर रहनु पर्दाको पीडा हेमन्तले महसुस गरिरहेका छन् ।
पछिल्लो डेढ वर्षदेखि सानदार प्रदर्शन गर्दै आएका हेमन्त नेपाललाई विश्वकपमा पुर्याउन छनोट खेलका हिरो हुन् ।
गत वर्ष विश्वकपमा पुग्न निर्णायक खेलमा नेपालले दिएको १९२ रनको विजयी लक्ष्य पछ्याएको यूएई ४२.२ ओभरमा १५३-४ को अवस्थामा थियो । एथान डि सोल्झा ५० रन बनाएर खेलिरहेका थिए । अर्को बलमा हेमन्तले एथानलाई बोल्ड आउट गरे ।
त्यो विकेट लिएपछि हेमन्तले हातले भुईंमा हान्दै गरेको सेलेब्रेसन हेर्नलायक थियो । उनी त्यही सेलेब्रेसन विश्वलाई देखाउन चाहन्थे । तर, चोट बाधक बन्यो ।
पछिल्ला दिनमा त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा रियाब गर्दै आएका उनी विश्वकपको कुरा गर्यो कि भावुक भइहाल्छन् । उनका आँखा कतिबेला रसाउँछ, पत्तै हुँदैन ।
‘अन्तिम समयमा आएर त्यस्तो हुँदा दुःख त लागि नै हाल्छ, विश्वकपमा सबैको सपना हुन्छ । मेरो सपना पूरा हुन सकेन,’ उनले भने, ‘टिमले राम्रो गर्दा अली खुसी लागेको छ । म त्यो ठाउँमा भएको भए झनै राम्रो हुन्थ्यो ।’
दक्षिण अफ्रिकाको कन्डिसन तीव्र गतिका बलरलाई राम्रो थियो । त्यसैले विश्वकपमा एकदमै राम्रो गर्छु भन्ने आशा पनि थियो । तर चोटका कारण उनी जान पाएनन् ।
अझ नेपालले सुरुवाती दुई खेलमा न्यूजिल्यान्ड र पाकिस्तानसँग पावर प्लेमा विकेट लिन नसक्दा हेमन्त झनै निराश भए । आफू भएको भए टिमलाई सहज हुन्थ्यो भन्न लाग्यो । ‘त्यो पावर प्लेभित्र म भएको भए दुई/तीन विकेट टिमलाई लिन्थे जस्तो लाग्छ,’ हेमन्तले अनलाइनखबरसँग भने, ‘अन्तिम खेलमा आकाशले जुन बलिङ गर्यो, त्यसमा म खुसी छु ।’अफगानिस्तानलाई १४५ रनमा अलआउट गर्न आकाश चन्दले पाँच विकेट लिएका थिए ।
आकाश र हेमन्त नेपालका पहिलो रोजाइका खेलाडी हुन् । दुवैले सन् २०२२ मा सुदूरपश्चिमबाट यू-१९ राष्ट्रिय प्रतियोगिता पनि सँगै खेल्दै राम्रो प्रदर्शन गरेका थिए । नेपालको य-ू१९ टोलीबाट पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए ।
‘आकाशले राम्रो गर्दा एकदमै खुसी लागेको छ । किनभने हामीसँगै खेलेका हौं । रुम पार्टनर पनि हौं,’ हेमन्तले भने, ‘अफगानिस्तानलाई हराउँदा मैले पनि खेल हेरेर बसेको थिएँ । त्यो ठाउँमा म भएको भए झन् खुसी हुन्थें । मलाई त्यो टिमको माहोल र एकता भएर बस्ने कुरा मिस भइरहेको छ ।’
मैदान फर्किने चाहना

पछिल्ला तीन-चार दिन यता हेमन्तले नेटमा लगातार अभ्यास गर्दै आएका छन् । सोमबार फिजियो लोकेन्द्र कुँवरले लिएको शारीरिक परीक्षामा उनी पास भएका थिए ।
हेमन्त अब पूर्ण फिट छन् । उनले जारी प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगितामा सुदूरपश्चिमबाट खेल्न खोजेका पनि थिए । तर केही खेल मात्र बाँकी रहेकाले उनले खेल्ने छैनन् ।
दक्षिण अफ्रिकामा तीव्र गतिका बलर दुर्गेश गुप्ताको खुट्टाको एंकलमा चोट लागेको छ । दुर्गेशले सुपर सिक्समा बंगलादेश र भारतसँग खेल गुमाउने देखिन्छ । यदि टोलीले चाहेको खण्डमा उनी त्यसतर्फ जाँदै विश्वकप खेल्ने सपना पूरा गर्न सक्छन् ।
अन्यथा उनी ‘नेपाल ए’बाट क्यानडाविरुद्ध फेब्रुअरी दोस्रो साता मैदान फर्किने सम्भावना रहन्छ ।
                        
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4