+
+

नागमती बाँध, सम्भावित बाढी र पशुपतिनाथको भविष्य

बाँधको सम्भावित विस्फोटबाट पशुपतिनाथ, गुह्येश्वरी लगायत मन्दिरहरू भत्किन सक्छन् । बागमतीको पानी नयाँबानेश्वर चोकसम्म पुग्न सक्छ, शहरका ढलहरू थुनिन सक्छन् । परियोजनाले स्थानीयवासी र राज्यबीच द्वन्द्व बढाउन सक्छ ।

श्रवण शर्मा श्रवण शर्मा
२०८० माघ १६ गते १०:४५
Photo Credit : Gorkhapatra

‘सगर राजाकी कान्छी महारानी सुमतिबाट ६० हजार पुत्र प्राप्तिको भृगु वरदान सत्य त सावित भयो तर, उनका ६० हजार पुत्रले धर्तीमाथि गरेको विध्वंसका कारण कपिलमुनिका देदीप्यमान तेजस्वी नेत्रबाट जलेर खरानी हुनुपर्यो !’ कथा पुरानो हो । कथा सत्य हुन र नहुन पनि सक्छ । तर वैदिक सनातनी विश्वासमा यो कथा सत्य हो ।

यो दृष्टान्त आजपर्यन्त लागू भइरहेको छ र यसको पछिल्लो सन्दर्भ प्रस्तावित नागमती उच्च बाँधको हो । कथंकदाचित बनेको खण्डमा नागमती बाँधको सम्भावित विस्फोटले संसारका सनातनीहरूको आराध्यस्थल पशुपति मन्दिर बगाउन सक्छ ।

आशंका गर्नेहरू त केसम्म भन्छन् भने धर्मनिरपेक्षतावादीहरूबाट अपराजित आराध्यदेवको वासस्थान पशुपतिनाथ माथि विपत्तिका लागि नै कतै यो परियोजना प्रस्ताव गरिएको त होइन ? यो हदसम्म आशंका गर्न थालेका छन्, मानिसहरू ।

पशुपतिनाथ मन्दिरबाट १७ किलोमिटर टाढा लगभग ७५ डिग्री कोणमा उत्तर पूर्वी दिशामा पर्दछ नागमती बाँध स्थल । नागमती बाँध एक ठूलो परियोजना हो । आजभन्दा दुई वर्ष अघिको बजार मूल्यका आधारमा यसको लागत अनुमान २५ अर्ब नेपाली रुपैयाँ निर्धारण गरिएको थियो भने परियोजना सम्पन्न हुँदा यो लागत प्राथमिक अनुमानको तीन गुणा अर्थात् ७५ अर्ब पुग्नसक्ने देखिन्छ ।

परियोजना कुनै अवरोध विना निर्माण हुँदा पनि सम्पन्न हुन नौ वर्ष लाग्छ । कतिपयले यसलाई अर्को मेलम्ची नामकरण गरेका छन् । अर्को मेलम्ची भन्नुको तात्पर्य देशको पैसा सक्ने तर प्रतिफल नदिने योजना भन्नु हो । मेलम्ची परियोजना बन्न २४ वर्ष लाग्यो । अझै पनि मेलम्ची राज्यधन दोहनको माध्यम मात्रै बनिरहेको छ ।

नागमती बाँध परियोजनाको जन्म नै शंकास्पद छ भन्छन्, नागमती बाँध वरिपरिका मानिसहरू । जुन स्थानमा परियोजना बनाइने हो, त्यो ठाउँका मानिसहरूलाई सो बाँध परियोजनाका विषयमा सुनाउनसम्म चाहँदैन नेपाल सरकार । आश्चर्य के छ भने आम मानिसका अत्यन्त ठूला आवश्यकता आपूर्ति गर्ने लाखौं परियोजनातिर कुनै महत्व नदिई योजनाविद् र सरकार नागमती बाँधको फाइदाको प्रचार गराउन उद्यत देखिन्छन् ।

नागमतीको मूलखर्क क्षेत्र

यस परियोजनाको सन्दर्भमा स्थानीयहरूलाई कुनै जानकारी दिइएको छैन, परियोजना आवश्यकताको विषयमा कसैलाई सोधिएको छैन, वातावरणीय प्रभाव मूल्यांकनकर्ताहरूले गोप्य रूपमा एक–दुई जनासँग कानमा खासखास–खुसखुस गरेको हल्ला चलेको छ, भन्छन् प्रस्तावित बाँध प्रभावित मानबहादुर तामाङ ।

प्रस्तावित बाँधले जनताका माग आपूर्ति गर्ने योजना छैन । टापटिपे योजनाविद्हरू जो परियोजनाको लागत मूल्यको निश्चित प्रतिशतमा आउने कमिसनको ध्याउन्नमा हुन्छन्, उनीहरूले सरकारलाई कन्भिन्स गरेको हो वा यसबाट हुने व्यक्तिगत आर्थिक लाभ बुझेका नेताहरूले टापटिपे योजनविद्हरूलाई नागमती बाँध परियोजना नमूना डिजाइन बनाउन लगाएका हुन् ? अहिले खुलेको छैन यो समयक्रममा खुल्दै जाला ।

तर यी टापटिपे योजनाविद्हरू जागिर अवकाशपछि पत्नी, पुत्रपुत्री र आमाबुबा लिएर अमेरिका गइसकेका हुनेछन् । यहाँ हामी जो बस्छौं थाप्लामाथि नागमती बाँध नामको झुण्डिरहेको तरबारको डरले काँपिरहन्छौं ।

कुनै विज्ञ वा मानवीय चेतना भएका योजनविद्हरूले ४० लाख मानिसका थाप्लामा तरबार झुण्ड्याउलान् ? त्यसैले परियोजना क्षेत्रका कतिपय बासिन्दाहरू यसलाई टापटिपेहरूको योजना भन्न थालेका हुन् । नागमती बाँध प्रभावित क्षेत्रका तामाङका अनुसार गोकर्णेश्वर वडा १ का मात्र २५०० मानिस यस बाँधबाट प्रभावित हुनेछन् ।

बग्ने पानीको मात्राका आधारमा नभएर, पवित्र बागमतीको शाखा नदी हुनुका कारण नागमतीलाई नदी भनिएको हो । नागमती बाँधका सम्बन्धमा यस लेखमा धेरै तथ्य–तथ्यांकहरू दिइएको छैन । तथ्यांकहरूका लागि यसै अनलाइनमा २८ असोज २०८० मा प्रकाशित लेखको लिंक यहाँ दिइएको छ ।

नागमती बाँधका सन्दर्भमा मुख्यतः दुई कुरा विचारणीय छन् । एक, यसले ल्याउन सक्ने सम्भावित जोखिम । दुई, अनावश्यक परियोजना जसको उद्देश्य प्राप्त हुन नसक्नु । अब पहिलो प्रसंगमा विचार गरौं । नागमती बाँधबाट बनाइने ताल ९४ दशमलव ५ मिटर अर्थात् ३१० फिट गहिरो हुनेछ र ४ लाख ८० हजार ४२६ वर्गमिटर क्षेत्रमा फैलनेछ । ताल भरिएको अवस्थामा ९ अर्ब लिटर पानी जम्मा हुनेछ यसमा ।

श्रवण शर्मा, लेखक

शिवपुरी चट्टानयुक्त पहाड होइन । पाँगो माटोले बनेको भिरालो र कमजोर जमिन भएको क्षेत्र हो । पहाडको भिरालो जमिनमा उठाइने ९४ दशमलव ५ मिटर अग्लो बाँध आफैंमा एउटा भयंकर संरचना हो । जतिसुकै फराक पर्खाल उठाइए पनि त्यसको जग भिरालो जमिनमै हुनेछ र जग मुनिको जमिन धसिएर जाने खतरा कुनै पनि अवस्थामा टार्न सकिंदैन ।

त्यस्तै पानी सोस्ने पाँगो माटो भएका कारण बाँधमुनिको जमिन दलदलमा परिवर्तन हुने खतरा पनि यथावत् छ । जमिनको सतह वा बाँधको संरचनाले पानीको भार वहन गर्न नसके बाँध फुट्न सक्छ । बाँध फुट्यो भने के हुन्छ ? संसारमा बाँध फुटेका सयौं उदाहरण र अनुभव छन् ।

भिरालो सतहबाट बाँधको पानी हुत्तिएर काठमाडौं उपत्यका प्रवेश गर्छ । अधिकांशतः वर्षातको समयमा नै बाँध फुट्ने खतरा रहन्छ किनभने वर्षातमा बाँधमा पानीको सतह भरिएको हुन्छ । बाँध वरिपरिको जमिन पानीले भिजेर कमजोर भइरहेको हुन्छ ।

जसरी वर्षातकै समयमा पहिरो जाने गरेको छ त्यसरी नै बाँँध पनि वर्षातमै फुट्ने खतरा रहन्छ । बाढीको समयमा बाग्मती नदी संरचनाले बाग्मतीमा आउने भलबाढी थेग्न सकेको छैन र शहरतिर भल पस्ने गरेको छ । त्यसै समयमा नागमती बाँध फुट्ने हो भने त्यसले के कस्तो विपत्ति ल्याउन सक्ला ?

शिवपुरीको ठाडो पहाडबाट वेगले झरेको बाँधको पानी उपत्यका प्रवेश गर्दछ । बाँध एकै पटक पड्किन्छ वा खोलिएर विस्तारै बहन्छ अहिले अनुमान गर्न सकिंदैन । मानिलिऊँ घण्टाको १ करोड लिटर पानी बाँधबाट निस्कने हो भने प्रति सेकेण्ड २ हजार ७७८ लिटर पानी बाग्मतीमा मिसिनेछ ।

तपाईं विचार गर्नुस् त घरमा पानी तान्ने एक इन्च साइजको पाइपबाट तानिएको पानी सानो कुलोमा बगाएर हेर्नु अनि विचार गर्नु । एक इन्च पाइपबाट आएको पानी एक लिटरको भाँडोमा भर्न ५ सेकेण्ड लाग्छ भने प्रतिसेकेण्ड २,७७८ लिटर पानीको वहाव र प्रेसर कत्रो हुन जाला !

बाँधको ठूलो भाग भत्किएर घण्टाको ५ करोड लिटर पानी वर्षातका समयमा बागमतीमा मिसिने हो भने प्रतिसेकेण्ड १३ हजार ८९० लिटर पानी बागमतीमा बहनेछ । अनुमान गर्नुस्, यसले के गर्ला ? अझ काठमाडौं उपत्यकामा मुसलधारे पानी परिरहेको समयमा बाँध भत्कियो भने के होला ? योजनाविद्हरूले यी विषयमा विचार गरेका छन् ? छैनन् र गर्दैनन् पनि । त्यसकारण राजधानीवासीहरू यस विषयमा सचेत हुनु जरूरी छ ।

पशुपति मन्दिर छेउँको बागमती

बाँधको ठूलो भाग एकै पटक भत्किएर वा बाँधको जगमुनिबाट खोलिएर प्रति घण्टा २० करोड लिटर पानी निस्कने हो भने प्रति सेकेण्ड ५५ हजार ५६० लिटर पानी बागमतीमा पस्नेछ । यस हिसाबले पानी निस्कने हो भने पनि बाँधको पानी निस्किसक्न ४५ घण्टा लाग्नेछ । त्यस अवस्थामा बागमतीको भलले पशुपतिको गर्भगृह समेत छोपिनेछ । त्यो पानीले नयाँबानेश्वर चोकसम्म डुब्छ ।

काठमाडौं उपत्यकामा ४० लाख मानिसको बसोवास छ । बागमती किनारमा बाक्लो शहरिया बस्ती रहेको छ । गोकर्ण, गुह्येश्वरी, पशुपतिनाथ, शंखमूल, लक्ष्मीनारायण मन्दिर, गोरखनाथ मन्दिर, पाञ्चायन मन्दिर, जगन्नाथ, हनुमान, पचली भैरव जस्ता तीर्थस्थल, देवालयहरू र एक गुरुद्वार रहेका छन् । पशुपति, गुह्येश्वरी, शंखमूल, बागमती विष्णुमती दोभान, थापाथली, टेकु, गोकर्ण लगायत यहाँ सयौं प्राचीन, ऐतिहासिक मठ मन्दिर र देवालयहरू छन् । के नेपाल सरकार एकैपटक यी सबैको सर्वनाश गर्ने ध्याउन्नमा छ ?

यसका अतिरिक्त, सुन्दरीजल जस्तो ऐतिहासिक जलविद्युत् आयोजना, बीपी कोइराला प्रतिष्ठान, खगेन्द्र नवजीवन केन्द्र, प्रसूति गृह अस्पताल लगायत दर्जनौं कलेज र विद्यालयहरू, भूमिगत खानेपानी केन्द्र, सरकारी कार्यालयहरू पनि बागमती किनारमा छन् ।

बाँध भत्किएर आएको भलले बागमतीमा मिसाइएका शहरी ढलहरूको निकास बन्द गरिदिन्छ र ओभरफ्लो भएर ढल शहरतिर फर्किन्छन् । त्यसले राजधानी क्षेत्रमा ठूलै तनाव उत्पन्न हुनेछ । नागमती बाँधका योजनाकारहरूले यी सबै विषयमा ध्यान दिएका छन्, छैनन् ? ध्यान, दिएको देखिंदैन । काठमाडौं महानगर र बागमती नदी बेसिनको नगरपालिकाहरूमा पनि सम्भावित जोखिमको आकलन गर्ने इच्छा वा क्षमता नभएको हो ? यस सम्बन्धमा उनीहरू पनि बोलिरहेका छैनन् ।

पशुपति क्षेत्र प्रवेश गर्नु अगाडि बागमती अत्यन्त सानो घाँटीबाट निस्केको हामी सबैले देखेका छौं । पानीको ठूलो बहाव यो घाँटीबाट निस्कँदा पानीको सतह धेरै माथि आउँछ । त्यसबेला पशुपति मन्दिरमा पानी प्रवेश गर्नेछ । सयौं वर्ष अगाडि बनेको पशुपतिनाथ मन्दिर र त्यसको पर्खाल आफैं कमजोर भइसकेको छ । भलको धक्काले पर्खाल ढलेको अवस्थामा पशुपतिनाथको मन्दिर भत्किने खतरा रहन्छ ।

प्रस्तावित नागमती बाँध

नेपालको संस्कृति र सभ्यताको मियो, नेपालको सफ्ट पावर र नेपालको अन्तर्राष्ट्रिय चिनारीमध्ये एक धार्मिक र सांस्कृतिक केन्द्र पशुपतिनाथ माथिको आघात धार्मिक विश्वासमाथि हस्तक्षेप हुनेछ । धार्मिक विश्वासमाथिको हस्तक्षेप नै धार्मिक उन्मादमा रूपान्तरण हुने हो । पशुपतिमाथि आउने विपत्तिको धार्मिक, राजनीतिक र सामाजिक आयाम विचार नगरी बागमती बाँध अघि बढाउनै हुँदैन ।

यसका साथै, नागमती बाँधले बनाउने ताल त्यस क्षेत्रमा जलवायु परिवर्तन र तापमान वृद्धिको पनि कारक बन्नेछ । बाँधको तल्लो तहमा रहेको बालुवा र गेग्रानको तापले मिथेन ग्याँस बन्दछ । यस ग्याँसले तलबाट पानीका फोकाहरू माथि निकाल्छ । पानीका यी फोकामा ५० प्रतिशतसम्म मिथेन ग्याँस हुन्छ । यो ग्याँस उडेर वायुमण्डलमा जान्छ । अमेरिकी वैज्ञानिकहरूले अमेरिकामा बनाइएका मानव निर्मित १०८ जल भण्डारहरूको अध्ययन पछि निकालिएको निष्कर्ष हो, यो ।

मिथेन ग्याँस हरितग्याँस हो । यो जलवायु परिवर्तन र सांसारिक तापमान वृद्धिको कारक मानिन्छ । धेरै पटक मैले यसै अनलाइनमा लेखिसकेको छु शिवपुरी राजधानी काठमाडौंको फोक्सो अर्थात् सास फेर्ने अंग हो । काठमाडौंले शिवपुरीबाट सास फेर्छ । राजधानीमा उत्सर्जन गरिएका कार्बनडाइअक्साइड, मिथेन जस्ता ग्याँसहरू शिवपुरी जंगलले संग्रहण गर्दछ । त्यहाँ जंगल मास्ने, मिथेन ग्याँस उत्सर्जन गर्ने संरचना बनाउने हो भने के नेपाल सरकार काठमाडौंवासीलाई मर्नका लागि उत्प्रेरित गरिरहेको हो ?

यो पनि भन्नै पर्ने हुन्छ, बिहान–बिहान पशुपतिमा चिम्टा र खैंजडी बजाएर शिवभजन गाउने धर्ममण्डलीहरूको काम पशुपतिमाथि आइलाग्न सक्ने विपत्तिहरूमाथि सचेत र खबरदारी गर्नु हो वा होइन ? यो प्रश्न ती सबैलाई, जो बिहान–बिहान पशुपतिमा भजन गाउँछन् र बेलुका आरती दर्शन गर्न जान्छन् । भजन गाएर वा आरती दर्शनले मात्र भगवान् खुसी हुँदैनन् उनले स्थापित गरिदिएको सभ्यता, संस्कृति र मानिसको इनर इन्जिनियरिङ (सोच्ने, विचार गर्ने, बोध कौशल र पद्धति) को निरन्तरतामा खुसी हुने हुन्, भगवान् ।

जहाँसम्म काठमाडौंमा पिउने पानी आपूर्तिको कुरा छ । पानी आपूर्तिका लागि शिवपुरी संरक्षण क्षेत्रलाई व्यवस्थित गर्ने हो र शिवपुरी व्यवस्थापन र संरक्षणमा स्थानीय समुदायलाई सहभागी गराउने हो भने शिवपुरी संरक्षित पनि हुन्छ र पानीको स्रोत पनि दीर्घकालिक र भरपर्दो हुनेछ ।

भारतको मुम्बईमा संरक्षित क्षेत्रहरूबाट दिनको ३ अर्ब ९६ करोड ५३ लाख ७८ हजार ८२ लिटर पानी ल्याउने गरिएको छ । अमेरिकाको न्युयोर्क सिटीमा दिनको ४ अर्ब लिटर पानी जलाधार क्षेत्रबाट आउँछ ।

प्रस्तावित नागमती बाँधभन्दा माथि धापमा बाँध बाँधेर संकलन गरिएको पानी ।

बागमती नदी सफा पार्न प्रतिसेकेण्ड ४० लिटर पानी बागमतीमा छाड्ने भनिएको छ । के नदी पानीको बहावले मात्र सफा हुने हो ? बागमती नदी प्रयोगको जुन मान्यता स्थापित छ, त्यो मान्यता यथावत् राखेर प्रति सेकेण्ड ४० लिटर पानी पठाउँदैमा बागमती सफा हुनसक्छ ? बागमती सफा नै गर्ने सरकारी योजना हो भने राजधानीमा प्लास्टिक प्रतिबन्ध गर्नुपर्छ । ढल मिसाउनु हुँदैन । थोत्रा गाडीहरूको सञ्चालन रोकिनुपर्दछ । बागमतीमा उद्योगजन्य फोहोर फाल्न दिनुहुँदैन ।

नागमती परियोजना निर्माण गर्न ८० हजार २५८ रूख काट्नुपर्नेछ । एउटा रूखले प्रति वर्ष २५ किलो कार्बन ग्रहण गर्दछ । यी रूखले प्रति वर्ष २० लाख ६ हजार ४५० टन कार्बन संग्रहण गर्छन् । परियोजनाको आयु १०० वर्ष हो भने २० करोड ६ लाख ४५ हजार टन कार्बन संग्रहण गर्ने भयो ।

राजधानी उपत्यकामा उत्सर्जन हुने कार्बन शिवपुरीस्थित नागमती बाँध वरिपरिको जंगलले संग्रहण गरिरहेको छ । विश्व बैंकका अनुसार कार्बन मूल्यले मानव स्वास्थ्य, अन्नबाली, खडेरी र तातो हावा रोक्ने कुरालाई समेत महत्व दिएको छ र यी सबै तत्वहरूलाई वातावरणीय मूल्य मान्नुपर्छ भनेको छ ।

महान् वैज्ञानिक अल्वर्ट आइन्स्टाइनले ‘प्रकृतिको गहिराइमा हेर अनि तिमीले सबै चिज राम्ररी देख्न सक्छौ’ भनेका छन् । उनको भनाइलाई आजको सन्दर्भमा बुझ्दा, शिवपुरी पहाड, त्यहाँको जंगल, त्यहाँको मानव बसोबास, पानी, बागमती नदी, नदी किनाराका प्राकृतिक र मानव निर्मित संरचनाहरू, मानव बस्ती र ती सबैको अन्योन्याश्रित सम्बन्ध हेर्नु पनि हो ।

स्थानीय मानबहादुर तामाङ भन्छन्– नागमती बाँधले आदिवासीहरूलाई आफ्नो भूमिबाट बेदखल गर्नेछ, वातावरण विनाश, परियोजना निर्माणको चरणमा उत्पन्न खतराहरूबाट आदिवासीहरू प्रभावित हुनेछन् । जंगल मासिएपछि जंगली जनावर गाउँ पस्ने, तिनीहरूले बाली, पशु धन र मानिसमाथि पनि हिंस्रक आक्रमण गर्न सक्ने स्थानीयहरूको डर छ ।

शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र र नागमती बाँध बनाउने भनिएको स्थान

सरकारी नियम अनुसार रूख काटेका अवस्थामा प्रति काटिएको एक रूख बराबर २५ रूख रोप्नुपर्ने नियम पालना गर्ने हो भने २ करोड ६ लाख २६ हजार रूख रोप्नुपर्छ । प्रति हेक्टर २५०० रूख लगाउने अन्तर्राष्ट्रिय मापदण्ड अनुसार यति रूख रोप्न ८ हजार २५० हेक्टर जमिन चाहिन्छ । यति जमिन भनेको १ लाख ६२ हजार १२० रोपनी हो । नेपाल सरकारले यति जमिन उपलब्ध गराउन सक्छ ?

अन्तर्राष्ट्रिय समुदायसँग गरिएको वातावरण र जंगल संरक्षण सम्बन्धी सन्धिहरूमा हस्ताक्षर गर्ने नेपाल सरकार ती अन्तर्राष्ट्रिय मान्यताबाट बाँधिएको छ, छैन ? कि नेपाल फुक्काफाल उत्तरकोरिया भइसकेको हो ?

अर्को प्रसंग, जलाशयबाट वर्षातमा प्रति सेकेण्ड ४५० लिटर र सुख्खायाममा प्रतिसेकेण्ड १५० लिटर पानी मेलम्ची खानेपानीलाई दिइने योजना छ । र प्रतिसेकेण्ड ४० लिटर पानी बागमती नदीमा छाडिनेछ । वर्षको ४ अर्ब ७३ करोड लिटर पानी मेलम्चीलाई दिन सक्नेछ परियोजनाले । जबकि नागमती नदीले प्रति वर्ष १ अर्ब २६ करोड १४ लाख ४० हजार लिटर पानी मात्रै दिनेछ ।

यति पानी लिनका लागि पनि त्यस क्षेत्र वरिपरि सयौं वर्षदेखि बसिरहेका नागरिकहरूले प्रयोग गरिरहेको पानीका स्रोतहरू कब्जा गर्नुपर्नेछ । जहाँ तामाङहरूको बसोबास रहेको छ र उनीहरू सरकारले आफूहरूलाई उपेक्षा गरेको र विस्थापित गराउन खोजेको आक्रोश व्यक्त गरिरहेका छन् । आदिवासी जनताले सिंचाइ र खानका लागि प्रयोग गरेको पानी बाँधले कब्जा गर्नेछ, हामीले के पानी खाने ? कसरी खेती गर्ने, तामाङको भनाइ छ ।

नौ अर्ब लिटर पानी जम्मा हुन्छ भनिएको तालमा आउने पानीको स्रोत जम्मा १ अर्ब २६ करोड १४ लाख ४० हजार लिटर हो भने बाँध भरिन चाहिने बाँकी ७ अर्ब ७३ करोड ८५ लाख ६० हजार लिटर पानी नागमती परियोजनाले कहाँबाट ल्याउँछ ? खोजेर पानी ल्याएर जलभण्डार भर्न सक्छ ? हैन, के आधारमा परियोजना तय गर्छन् मान्छेहरू !

त्यसकारण, यो परियोजना एकातिर पूर्णतः असफल हुने देखिन्छ भने कथंकदाचित क्लाउड ब्रस्ट भएर आएको भलबाढीले ताल भरिएको अवस्थामा पनि तालको संरचनाले पानीको भार थेग्न कठिन हुनेछ । पानीका स्रोत विना ताल भरिन सकेन भने परियोनाको मूल उद्देश्य नै असफल हुन पुग्यो । अनि ताल भरिएर विस्फोट भएको अवस्थामा त्यसले राजधानीमा खतरा ल्याउन सक्ने सम्भावना छ । ताल विस्फोट भएका अवस्थामा बाग्मती किनाराका धेरै बस्तीहरू जोखिममा पर्नेछन् । यसले गर्दा यो परियोजना शंकाको घेरामा परेको हो ।

लेखकको बारेमा
श्रवण शर्मा

शर्मा राइट्स अफ नेचर अभियानमा संलग्न छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?