+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

बागमतीमा सांसदका योजनामा बजेट दिने विषयमा अझै विवाद, ४ महिनादेखि प्रदेशसभा ठप्प

 विपक्षी दलसँग बजेटमा योजना समेट्ने लिखित सहमति गरेको सरकारले सांसद विकास कोषको बजेट कार्यान्वयन नगर्न सर्वोच्चले दिएको अन्तरिम आदेश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुझाव देखाएर बजेट दिन नसक्ने बताउँदै आएको छ ।

नविन तिमिल्सिना नविन तिमिल्सिना
२०८० माघ १७ गते १४:०५

१७ माघ हेटौंडा। चालू आर्थिक वर्ष २०८०/८१ को बजेटमा सांसदका योजना समावेश गर्ने विषयमा बागमतीमा सरकार र विपक्षी दलबीच अझै संघर्ष चलिरहेको छ ।

सरकारले अब सांसदको योजना बजेटमा समावेश गर्न नसकिने बताएको छ भने विपक्षी दल नेकपा एमाले राप्रपाले भने समावेश गर्नैपर्ने अडान लिएका छन् । यही विवादका कारण प्रदेशसभा बैठक पनि चार महिनादेखि अवरुद्ध छ ।

गत १ असारमा प्रदेश सरकारले ६२ अर्ब ७० करोड रुपैयाँको बजेट ल्याएपछि विपक्षी दलहरु एमाले र राप्रपाले पूर्वाग्रही भएको आरोप लगाउँदै प्रदेशसभा निरन्तर अवरोध गरेका थिए । उनीहरुको अवरोधका कारण प्रदेशसभामा १२ असारमा सुरु भएको बजेटमाथिको छलफल प्रभावित भएको थियो ।

बजेटमा भेदभाव गरिएको र प्रभावशाली नेताहरुले आफ्नो गृहजिल्लामा मात्रै बजेट थुपारेको आरोप लगाउँदै एमाले र राप्रपाले १२, १३ र १७ असारको प्रदेशसभा बैठक अवरुद्ध गरेपछि सत्तापक्ष र विपक्षी दलबीच संवाद भएको थियो ।

त्यस क्रममा २० असारमा एमाले र राप्रपाका सांसदले छनोट गरेका केही योजनामा बजेट विनियोजन गर्ने सहमति भएको थियो । त्यसपछि २१ असारमा बजेटमाथि छलफल सकेर पारित गरिएको थियो ।

एमालेका एक नेताका अनुसार एमालेले ४० करोड र राप्रपाका २२ करोडका योजना बजेटमा समावेश गर्ने सहमति थियो । ‘रसुवालगायतका केही जिल्लामा हाम्रा माननीयहरु हुनुहुन्न । तीबाहेकका जिल्लामा योजना माग गरिएको थियो, प्रतिसांसद करिब डेढ करोडका हिसाबले योजना पठाइएको थियो’, एमालेका एक सांसदले भने ।

उनका अनुसार अधिकांश योजनाहरु सडक, पुलजस्ता भौतिक पूर्वाधारसँग सम्बन्धित छन् । राप्रपाका एक सांसदका अनुसार प्रतिसांसद करिब १ करोड ७० लाखको हिसाबले २२ करोडको योजना माग गरिएको छ । ‘त्यो योजना सरकारले कार्यान्वयन गरेन’, ती सांसदले भने ।

राप्रपाले सांसदहरुले आफ्नो निर्वाचन क्षेत्र भन्दा बाहिरको योजना छनोट गर्नुपर्ने नियम बनाएको थियो । राप्रपाका ती सांसदले भने, ‘नियम पालना भएको भए राप्रपाबाट निर्वाचित सभामुख भुवनकुमार पाठकका योजना सिन्धुलीमा कार्यान्वयन हुने थियो’, उनले भने ।

नेपाल मजदुर किसान पार्टीका प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले आफूले भने बजेट तोकेर नमागेको तर भक्तपुरमा बजेट कम भएकाले पठाउन आग्रह गरेको बताए ।

‘हामीले यति करोडको योजना चाहिन्छ भनेर मागेनौं । सरकारसँग वार्तामै थियौं तर, बजेट शून्य पार्नु हुँदैन भनेर समान बजेट बाँडफाँडको विषय उठाएका थियौं’, उनले भने ।

अख्तियारको सुझाव र सर्वोच्च अदालतबाट सांसद विकास कोषको सम्बन्धमा दिइएको आदेशका कारण विपक्षीका योजना कार्यान्वयनमा कठिनाइ भएको नेकपा मओवादी केन्द्र बागमतीका मुख्य सचेतक रत्न ढकालले जानकारी दिए ।

विपक्षी दलसँग बजेटमा योजना समेट्ने लिखित सहमति गरेको सरकारले सांसद विकास कोषको बजेट कार्यान्वयन नगर्न सर्वोच्चले दिएको अन्तरिम आदेश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुझाव देखाएर बजेट दिन नसक्ने बताउँदै आएको छ ।

बजेट रकमान्तर विरुद्ध अख्तियारमा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले त्यसो नगर्न सरकारलाई सुझाव दिएको थियो ।

अख्तियारको सुझाव र सर्वोच्च अदालतबाट सांसद विकास कोषको सम्बन्धमा दिइएको आदेशका कारण विपक्षीका योजना कार्यान्वयनमा कठिनाइ भएको नेकपा मओवादी केन्द्र बागमतीका मुख्य सचेतक रत्न ढकालले जानकारी दिए ।

मन्त्रिपरिषद्बाटै विपक्षीका योजना बजेटमा समेट्ने निर्णय गरेर हालसम्म पनि कार्यान्वयन नगरेको भन्दै एमाले र राप्रपा भने रुष्ट छन् । १७ मंसिरमा हेटौंडामा भएको सर्वदलीय बैठकमा मुख्यमन्त्री जम्कट्टेलसँग एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाको चर्काचर्की नै परेको थियो ।

जम्कट्टेलले अख्तियारको सुझाव पढेर सुनाउँदै बजेटमा भएका योजनामा सहमति जनाउन अनुरोध गरेका थिए । तर थपलियासहित विपक्षी दलका सांसदले सरकारले बजेट निर्माण गर्दाको त्रुटि सच्याएर नयाँ योजना समावेश गर्नुपर्ने अडान लिएका थिए । त्यसै क्रममा चर्काचर्की परेपछि सभामुख भुवन कुमार पाठकको अध्यक्षतामा बसेको सर्वदलीय बैठक छोडेर मुख्यमन्त्री जम्कट्टेल हिँडेका थिए ।

बिना निश्कर्ष टुंगिएको सर्वदलीय बैठक मुख्यतः संसदीय समितिको सभापति चयनका लागि छलफल गर्न बोलाइएको थियो । तर, बैठक बजेटकै विषयमा केन्द्रित भएपछि मुख्यमन्त्री र विपक्षी दलका नेताबीच चर्काचर्की भएको हो ।

सरकार र विपक्षी दलबीच बजेटकै विषयमा गत असारयता ३ पटक वार्ता भए पनि सहमति नजुटेको एमाले बागमती प्रदेश संसदीय दलका नेता मुख्य सचेतक मधुसुदन पौडेलले जानकारी दिए ।

पछिल्लो पटक २४ पुसमा हेटौंडामै भएको वार्तामा सरकार विगतका सहमति पालना गर्न सकारात्मक देखिएको तर व्यवहारमा भने कार्यान्वयन नगरेको उनले बताए ।

‘असारमा बजेट पास गराउने बेलामा भएका सहमति पालना भएन । त्यतिबेला बजेट असन्तुलित भयो भनेका थियौं’,  मुख्य सचेतक पौडेलले भने, ‘मन्त्रिपरिषद्ले निर्णय गरेपछि प्रक्रियामै अगाडि बढाइएन । सहमति कार्यान्वयन नभएसम्म सदन सहज सञ्चालन हुने स्थिति देखिँदैन ।’

राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले सरकारले सहमति कार्यान्वयन नगरे प्रदेशसभा सञ्चालन गर्न नदिने चेतावानी दिए । ‘सरकारले अझै सहमति पालना गरेको छैन । सहमति पालना नभएसम्म प्रदेशसभा सञ्चालनमा अवरोध गर्छौं’, थापाले भने ।

सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले विपक्षी दलहरुसँग कुरा मिलेपछि मात्रै प्रदेशसभा सञ्चालन हुने बताए । ‘उहाँहरुसँगको सहमति टुंगिएको छैन । गृहकार्य हुँदैछ’, श्रेष्ठले भने ।

तीन महिनादेखि प्रदेशसभा ठप्प

चालू आर्थिक वर्षको बजेट २२ असारमा पास गरेपछि प्रदेशसभा बैठक स्थगित गरिएको थियो । त्यसपछि १८ भदौमा बोलाइएको बैठक बस्दै नबसी स्थगित भयो । त्यसपछि २४ र ३० भदौ, १४, १५, २१ असोजमा बसेपछि प्रदेशसभा ठप्प छ ।

१५ असोजको बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट फिर्ता भएको विवादास्पद चिठ्ठा सम्बन्धी विधेयक प्रदेशसभामा पुनः ल्याएपछि एमालेले रोष्टम घेराउ गरेको थियो । नेवारी र तामाङ भाषालाई प्रदेशको कामकाजको भाषा बनाउने भन्ने विधेयक पास गरेर बर्खे अधिवेशन अन्त्य भएको थियो । २१ असोजदेखि भने प्रदेशसभाको बैठक बस्न सकेको छैन ।

सरकारले पहिलो र दोस्रो अधिवेशनमा १२ वटा विधेयक तथा ५ वटा अध्यादेश प्रदेशसभामा ल्याएको थियो । जसमध्ये ८ वटा विधेयक पारित भएको छ । बाँकी ४ वटा विधेयक प्रदेशसभाको समितिमा छलफलका क्रममा रहेको प्रदेशसभा सचिवालयका कानुन अधिकृत मनोज गुप्ताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?