+
+

दुई मुख्य राजस्व कार्यालयका प्रमुख परिवर्तन, बजेट महाशाखा प्रमुख पनि फेर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २० गते २३:३३

२० माघ, काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले दुई प्रमुख राजस्व कार्यालयहरु आन्तरिक राजस्व विभाग र त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुखहरु परिवर्तन गरेका छन् । 

मन्त्री महतले शुक्रवार केही सहसचिवको सरुवा गर्दै आन्तरिक राजस्व विभागको महानिर्देशकमा भुपाल बराललाई पठाएका छन् । त्यस्तै त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखमा सेवन्तक पोखरेलको सरुवा भएको छ ।

आन्तरिक राजस्वका महानिर्देशक दीर्घराज मैनालीलाई सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रमुख बनाइएको छ । त्रिभुवन ‍विमानस्थल भन्सारका प्रमुख डा. टोकराज पाण्डेलाई मन्त्रालयमा लगी प्रशासन महाशाखा प्रमुख बनाइएको छ । पाण्डे गत साउनमा मात्रै सो कार्यालयमा गएका थिए ।

आन्तरिक राजस्वको महानिर्देशक बनेका बराल अधिकृत र उपसचिव हुँदा राजस्वमा काम नगरे पनि सहसचिव भएपछि भने राजस्वसम्बन्धी विभिन्न जिम्मेवारीमा बसेर काम गरेका थिए । उनले अर्थ मन्त्रालयको राजस्व महाशाखा प्रमुख भएर काम गरिसकेका छन् भने त्यसअघि राजस्व अनुसन्धान विभागको प्रमुख भएर पनि काम गरेका थिए । त्यसअघि ३ नम्बर राजस्व कार्यालयको प्रमुख भएर पनि उनले काम गरेका थिए ।

अहिले भने उनले मन्त्रालयको वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुखका रुपमा काम गरिरहेका थिए 

राजस्व प्रशासनमा बसेर लामो समय काम गरेका मैनाली आन्तरिक राजस्व विभाग जानुअघि पनि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रमुख थिए । कार्यालयमा गएको चार महिनामै उनलाई गत वर्ष १५ मंसिरमा आन्तरिक राजस्व विभागको महानिर्देशक बनाइएको थियो । उनले त्यहाँ १४ महिना काम गरे । 

मैनालीले राजस्व अनुसन्धान विभागको महानिर्देशक तथा कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिवका रुपमा पनि काम गरेका छन् । उपसचिव हुँदा पनि मैनाली आन्तरिक राजस्व विभागमा बसेर काम गरेका थिए । 

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुख बनेका पोखरेल राजस्वकै क्याडर हुन् । उनी भन्सार विभागको उपमहानिर्देशकका रुपमा काम गरिरहेका थिए । उपसचिव हुँदा उनले अर्थ मन्त्रालयको राजस्व महाशाखामा बसेर पनि लामो समय काम गरेका थिए ।

यसका अतिरिक्त भन्सार विभागको उपमहानिर्देशकमा राजु पाण्डेलाई पठाइएको छ । उनी आन्तरिक राजस्व विभागको महानिर्देशक थिए ।

त्यस्तै मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रहेका महेश आचार्यलाई नीति विश्लेषण महाशाखाको प्रमुखमा सरुवा गरिएको छ । सहसचिव बाबुराम सुवेदी सेवा निवृत्त भएपछि सो महाशाखा प्रमुखबिहीन थियो । 

भुपाल बरालको सरुवा भएपछि रिक्त भएको वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुखमा नारायण रिसाललाई सरुवा गरिएको छ ।

बजेट महाशाखामा को आउला?

अर्थमन्त्री महतले बजेट महाशाखा प्रमुख पनि फेर्ने तयारी गरेका छन् । अहिले सहसचिव उत्तरकुमार खत्रीले महाशाखाको नेतृत्व गरिरहेका छन् । खत्रीले त्यहाँबाट सरुवा चाहिरहेको र मन्त्री महतले पनि उनको ठाउँमा अरु कसैलाई ल्याउन चाहेको मन्त्रालय स्रोतले जनायो । 

मन्त्रालय स्रोतका अनुसार बजेट महाशाखाको प्रमुखमा महेश बराल र राजेश्वर ज्ञवालीमध्ये एक आउन सक्नेछन् । बरालले कर सुधारसम्बन्धी उच्चस्तरीय समितिमा बसेर काम गरिरहेका छन् । ज्ञवाली हाल महालेखा नियन्त्रकको कार्यालयमा छन् ।

महत मन्त्री भएलगत्तै उनले सहसचिवहरु उत्तर खत्री, भुपाल बराल, बाबुराम सुवेदीलगायतलाई मन्त्रालयमा ल्याएर विभिन्न जिम्मेवारी प्रदान गरेका थिए ।

चालू आर्थिक वर्षको बजेट निर्माणमा यही टिमले नेतृत्व गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?