+
+
यात्रा संस्मरण :

ऐतिहासिक जोर घण्ट जोगाएर बसेको अनकन्यामाई पुग्दा

प्रेम बास्तोला, राजु झल्लुप्रसाद प्रेम बास्तोला, राजु झल्लुप्रसाद
२०८० माघ २३ गते १२:१२

पछिल्लो समय देशका विभिन्न स्थान घुमेर त्यहाँको अध्ययन-अवलोकन गर्ने नियमित कार्य झैं बनेको छ हामी दुईभाइको । केही समय पहिले हामी बर्दिया राष्ट्रिय निकुञ्ज घुमेर आएका थियौं । त्यहाँबाट फर्किएको भोलिपल्ट (गत पुस १९ गते)  छिमेकी जिल्ला धादिङको ज्वालामुखी गाँउपालिका भ्रमण गर्ने योजना बनायौं । जसै योजना बन्यो, हामी त्यसतर्फ लम्किहाल्यौं पनि । कलंकीबाट धादिङबेसी जाने बस चढ्यौं ।

दुई दिन धादिङ सदरमुकाममै बसियो । त्यसपछि बल्ल ज्वालामुखी गाउँपालिकातिर लाग्यौं, जहाँ सहयात्री राजेन्द्र भट्ट (राजु झल्लुप्रसाद)को घर समेत छ ।

धादिङबेसीबाट दिनको एक हजार भाडा तिर्नेगरी टु-२० पल्सर बाइक भाडामा लिएर हामी लाग्यौं ज्वालामुखी गाउँपालिका क्षेत्र । मोटरसाइकल बाटोमा बिग्रिएर हैरान भएपनि बनाउँदै अगाडि बढ्यौं । अनि पुग्यौं उखुबारी भट्टगाउँस्थित राजु भाइको घर । भोलिपल्ट बिहानै उठेर ज्वालामुखी गाउँपालिकाको महत्त्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र अनकन्यादेवीको थान (अनकन्या मन्दिर) दर्शन गर्न गयौं । पालिकाको केन्द्र साँधभञ्ज्याङबाट करिब १० किमी दूरीमा रहेको अनकन्या मन्दिरको रोचक किंवदन्ती, ऐतिहासिक पृष्ठभूमिसहित पृथक भौगोलिक विशेषताका कारण यसको पर्यटकीय महत्व उच्च रहेको रहेछ । तर यस मन्दिर धार्मिक भक्तजन, इतिहासका विद्यार्थी एवं आन्तरिक तथा बाह्य पर्यटकमाझ अपरिचित रहेको पाउँदा भने दु:ख लाग्यो ।

मन्दिरको ऐतिहासिकता र धार्मिक महत्वलाई ध्यानमा राखेर यसको विकास गरी प्रचारप्रसार गर्न सकेको खण्डमा यही मन्दिरमा आउने पर्यटकहरूबाट ज्वालामुखी गाउँपालिको गतिलो दीर्घकालीन आम्दानीको स्रोत बन्ने देखियो । तर जिल्लाका भैरवीकोट, त्रिपुरासुन्दरी माई (सल्यानटार), जलमुखी मन्दिर, मैधीकोट खड्गदेवी, बसाह ढोला मण्डली माईको तुलनामा यो मन्दिर ओझेलमै रहेछ ।

मन्दिरको किम्बदन्ती 

करिब एक हजार मिटरको उचाइमा रहेको यो मन्दिर चैनपुरको सालवास बजारबाट उत्तर-पश्चिमतर्फको डाँडो (चैनपुरकोट)मा अवस्थित छ । मन्दिरको नामको विषयमा रोचक किंवदन्ती रहेछ । चैनपुरका लेखनाथ लोहनीले हामीलाई बताएअनुसार, जाडोको समयमा एकजना स्थानीय गिदेल मगरको घरमा मानिसहरू गफिंदै आगो तापिरहेका थिए । अनायास अगुल्टोमा आगो पड्कियो र बाहिर निस्कियो । आगो पड्केर नजिकै खरानी खस्ने सामान्य कुरा हो, तर त्यसपटक आगोको झिल्को बाहिर आँगनसम्म पुग्यो । मानिसहरू चकित भए र बाहिर निस्किए । आगो खसेको ठाउँमा खरानी नभएर एउटा अनौठो शिला फेला पर्‍यो । मानिसहरूले यसलाई देवी शक्ति माने । सपनामा त्यस घरका मूलीले देवीको दर्शन पाए । आफूलाई उच्च स्थानमा राखेर पूजाआजा गरे सबैको भलो गर्ने कुरा देवीले भनिन् । भोलिपल्ट मगर बुढाले सपनाको कुरासमेत सुनाए । सबैले मिलेर शिलालाई उच्च स्थानमा (हाल रहेको स्थानमा) लगे । अँगेनाबाट निस्केकी हुनाले उनीहरूले यसैलाई अनकन्ये देवी भन्ने नाम राखे र पूजाआजा गर्न थाले । अनकन्येबाट अपभ्रंश भएर यसबेला यो मन्दिरलाई ‘अनकन्यादेवीको थान अर्थात् अनकन्या मन्दिर’ भन्ने गरिन्छ ।

अनकन्ये देवीले आफूलाई चैनपुरको सबैभन्दा माथिल्लो भाग (शिर)मा राखेर पूजा गर्नु भनेअनुसार चैनपुरकोटमा रहेका बस्तीलाई अलिक तल (सालवास) बजारछेउ सारेर देवीलाई कोटमा राखिएको विश्वास गरिन्छ । बस्ती सारेपछि हालको स्थानमा गिंदेल मगर समुदायले नै मन्दिर स्थापना गरी आँगोबाट उछिट्टिएको ढुंगालाई मूर्ति बनाएर पूजाआजा गर्न थालिएको ९२ वर्षीय (यसअघिका पुजारी) गोमानसिंह गिंदेल मगरले सुनाए ।

९२ वर्षीय गोमानसिंह गिंदेल मगर

हाल उनका छोरा जग बहादुर गिंदेल मगर मन्दिरका पुजारी छन् भने पुरोहितको कर्म स्थानीय खोपराज लोहनीले गर्दै आएका रहेछन् । अनकन्या देवी मन्दिर निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ लोहनी रहेछन् ।

मन्दिर क्षेत्रको वर्तमान भौगोलिक संरचनाले हाल मन्दिर रहेको  स्थानमा पहिला  मानव बस्ती रहेको हुनसक्ने संकेत हामीसँगको भेटमा ९२ वर्षीय गोमानसिंहले गरे ।  वर्तमान पुजारी जगबहादुरले २०३५ सालसम्म हाल मन्दिरदेखि मुन्याड रहेको ठाडो बान्धननिर आफ्नो घर रहेको हामीलाई जानकारी दिए ।

विशेष पूजापाठ

अनकन्यादेवी मन्दिरमा दशैंको पन्ध्र दिनसम्म विशेष पूजाआजा हुने गर्दो रहेछ । यसबेला धार्मिक भक्तजनहरूको भीड लाग्छ । मन्दिर परिसरमा कोजाग्रत पूर्णिमाको अघिल्लो दिन अर्थात् चतुर्दशीका दिन धूमधाम मेला लाग्ने गरेको र अहिले बिस्तारै हराउँदै गएको पनि पुजारीबाट बुझ्न पाइयो । ज्येष्ठ शुक्लको कुनै एउटा दिन तिथिमिति जुराएर विशेष मेला समेत लाग्ने रहेछ ।

हामीले मन्दिरको विषयमा जानकारी लिने क्रममा मन्दिरमा पुस्तौंदेखि स्थानीय मगर समुदायका पुजारीहरूले दैनिक रूपमा पूजाआजा गर्दै आइरहेको पायौं । हाल जगबहादुर गिंदेल मगर मन्दिरका पुजारी हुन् । कान्छा छोरा दलबहादुरसँग बसिरहेका जगबहादुरले हामीसँग पुरानो दिन सम्झिंदै भने, ‘उतिबेला लाठको खान्की ५२ थियो । टोली ल्याएर उठाउन आउँदाखेरि २४ रूप्पे कोटको लागि खर्च छोड्थ्यो । त्यो २४ रुप्पेले अगेर पूजा खर्च पुर्‍याउँथे । त्यो नि हरायो । जिम्बुवाल उठेपछि खर्च आएन अनि चन्दा उठाउन थाले । चन्दा पनि अगेर गच्छे हेरीहेरी मोहोर, रुपैयाँ यस्तै उठाउँथे । चन्दा उठाएर पूजा गर्न थालेपछि पञ्चायतीमा गयो । पछि पञ्चायतीमा गएपछि सक्नेले दिंदै गए र पूजा चलाउँदै गयौं । त्यही पैसालाई ब्याजमा लगायौं, ब्याजले पुग्दै गयो । २६ हजार उतिबेला उठेको थियो । अहिले दुई-तीन लाख पुग्या छ रे भन्ने सुनेको छु । मलाई ठ्याक्कै थाहा अहिले केके गरिराछन् भनेर । कान पनि सुन्दिनँ, मन्दिर जान पनि सक्दिनँ ।’

९२ वर्षीय गिंदेलले मन्दिरको छाना खरको भएको र पछि आफूहरूले जस्ता ल्याएको र अहिले ५-७ लाख पैसा आएको हल्ला सुनेको समेत बताए । मगरलाई पुरोहित गुरुदत्त लोहनी (लेखनाथ लोहनीको बुबा) पुरोहित रहेको थाहा रहेछ । गुरुदत्त पण्डितको समयमा उनकै खलकका मुखिया हस्तबहादुरले पूजा गर्दथे, उनका छोराले नमानेपछि आफूलाई पूजा गर्न अह्राएको गुरुदत्तले बताए ।  अहिले उनी नसक्ने भएपछि छोराले गर्दै आएका रहेछन् । उतिबेला नगरा बजाउने कटुवाल चाहिं कान्छो दमै (दले दमाईं) थिए, अहिले उनका नातिले गरिरहेको उनले जानकारी दिए ।

मन्दिरको शिला र गणेश एवं कालीको मूर्ति चोरी भएको प्रसंगको कुरा पनि उनले उप्काए । उनले पूजा गर्न थालेपछि आगोमा भेटिएको शिला पनि चोरी भएको थियो रे । विष्णुदत्त सुब्बाले चढाएको कालीको र हिरालाल छत्कुली सुबेदारले गणेशको मूर्ति पनि चढाएका थिए । ती मूर्तिहरू पनि चोरी भए । शिला र मूर्ति चोरी भएपछि बुढीगण्डकीमा गएर शिला ल्याएर थपना गरेर फेरि पूजा सुरु गरेको उनले सुनाए । मन्दिरमा रहेको पुरानो घण्ट बलभद्र छत्कुली डिट्ठाले चढाएका हुन् । यस मन्दिरको गुठी चाहिं रहेनछ । गुठीमा लैजानुपर्छ भन्ने कुरा आफूहरुलाई थाहा नभएको पनि उनले सुनाए ।

दुई सय वर्ष पुरानो जोर घण्ट

४०० वर्ष पुरानो मानिने यो मन्दिरमा आजभन्दा २०० वर्षअघि चढाइएका दुईवटा घण्टा अझ सुरक्षित छन् । ज्वालामुखीका ऐतिहासिक महत्त्व बोकेको मैधीकोटमा घण्टसहितको मूर्ति र ज्वालामुखीमा घण्ट चोरी भइसक्दा पनि यस मन्दिर क्षेत्रमा भने सय वर्ष पुरानो घण्ट यद्यपि देख्न पाउँदा हामी हर्षित भयौं ।  जसले मन्दिरको प्राचीनतालाई दर्शाइरहेको थियो । तर उत्पत्ति हुँदाको शिला भने यहाँबाट पनि चोरी भइसकेको रहेछ । माओवादी द्वन्द्वकालमा उक्त शिला चोरी भएको पूर्वपुजारी ९२ वर्षीय गोमानसिंहले सुनाए ।

पूर्वाधार निर्माणमा गाउँपालिका चुक्यो

मन्दिरको दर्शनपछि गाउँपालिका अध्यक्ष यामनाथ दनैलाई पनि भेट्यौं । उनले अनकन्यादेवी मन्दिर मात्र नभई ज्वालामुखी गाउँपालिका नै धार्मिक र ऐतिहासिक पर्यटनको सम्भावना बोकेको पालिका रहेको सुनाए । तर त्यअनुसार पूर्वाधार निर्माणमा भने पालिका चुकिरहेको उनले स्वीकारे पनि । यहाँका ऐतिहासिक, सांस्कृतिक, धार्मिक एवं प्राकृतिक थलोहरू, ग्रामीण जीवनशैली, मौलिक स्वाद जोगाई प्रचारप्रसार गरी पर्यटन विकास गर्न पालिका लागिपरेको उनले सुनाए ।

गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि ५० लाख रुपैयाँ बजेट छुट्टाएको र बसाह ढोला मण्डलीमाई, खड्गदेवी मैधीकोट, खरीकोट (त्रिपुरासुन्दरीमाईको थान), अनकन्यादेवी र जलमुखीमाई गरी पाँचवटा मन्दिरमा १०-१० लाखका दरले वार्षिक बजेट विनियोजन गरी पर्यटकीय पूर्वाधार विकासमा काम गरिरहेको उनले बताए ।

मनै लोभ्याउने प्राकृतिक तथा जैविक विविधता

अनकन्या मन्दिर परिसरबाट उत्तरमा माछापुच्छ्रे, धौलागिरि, मनास्लु, गणेश, पाविल, पाल्डोरजस्ता हिमशृंखलाको सुन्दर दृश्य देख्न सकिन्छ । साथै कलकल बगिरहेको आँखुखोला, बुढीगण्डकी नदी, नेपालकै दोस्रो ठूलो टार ‘सल्यानटार’ र राम्रा तरेली परेका धादिङका मनोरम पहाडहरू, हिमालको काखबाट झरेको ठूलो पानीको धारा ‘घोडापुच्छ्रे धारा’ देख्न सकिन्छ ।

अनकन्यादेवी मन्दिर वरपरका वनमा साल, सल्ला, अस्ना, कटुस, चाँप, चिलाउने, साज, गुराँस, खर्सु (खस्रेतो), टाँकी, सिमल, बर्रो, सिरिस प्रजातिका रुखबिरुवाहरू पाइन्छन् । वनका केही स्थानमा चितुवा, भालु, मृग, हरिण, बाँदर, ढेडु, खरायो, दुम्सी, घोरलजस्ता जनावर पनि देख्न सकिन्छ । कालिज, तित्रा, भ्याकुर, काग, कोइली, चिल, ढुकुर, भँगेरा, जुरेली जस्ता चराचुरुंगीको आवाज यहाँ सुन्न सकिन्छ ।

होटल र होमस्टे छैनन्

धार्मिक पर्यटनको अथाह सम्भावना भए पनि यहाँ पूर्वाधारको भने निकै कमी छ । खानबस्नका लागि यहाँ कुनै होटल छैनन् भने होमस्टे पनि सञ्चालनमा ल्याइएको छैन । सालवास बजारमा सामान्य किराना र खाजा-नास्ता पसलबाहेक अरू केही पाइँदैन ।

कसरी पुग्ने ?

काठमाडौंबाट एकै दिनमा थोरै खर्चमा पुगेर आउन सकिने ठाउँ हो अनकन्यादेवी मन्दिर । काठमाडौंबाट नौबिसे हुँदै मलेखु पुगेपछि उत्तर-पश्चिमतर्फको कालुपाण्डे राजमार्ग हुँदै धादिङ सदरमुकाम धादिङबेसी पुग्न सकिन्छ । धादिङबेसीबाट साँधभन्ज्याङ, पाल्पाभन्ज्याङ, हुलाकभन्ज्याङ हुँदै सालवास बजार पुगिन्छ । पाल्पाभन्ज्याङबाट करिब १० किलोमिटरको यात्रा गरेपछि ज्वालामुखी गाउँपालिका-७ को सालवास बजार आउँछ । यो बजारबाट उकालो डाँडो चढेसँगै १५ मिनेटको छोटो पैदलयात्राले अनकन्यादेवी मन्दिर पुर्‍याउँछ ।

अनकन्यादेवीको मन्दिर यात्रा भदौदेखि वैशाखसम्म गर्नु उपयुक्त हुन्छ । बर्खायाममा भने बाटो हिलाम्मे हुने भएकाले नजाँदा नै राम्रो हुन्छ । यहाँ जानका लागि आफ्नो निजी सवारी साधन पनि प्रयोग गर्न सकिन्छ । प्रकृतिसँग रमाउँदै यात्रा गर्ने हो भने मोटरसाइकलको यात्रा झनै रोमाञ्चक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?