+
+

क्यासिनो अब अन्तर्राष्ट्रिय सीमाबाट ५ किलोमिटर दुरीभित्र हुनुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २४ गते २०:००

२४ माघ, काठमाडौं । नेपालमा अब दर्ता हुने क्यासिनोले अन्तर्राष्ट्रिय सीमाबाट ५ किलोमिटर दुरी कायम गर्नुपर्ने भएको छ ।

प्रतिनिधिसभाबाट बुधबार पारित भएको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० ले पर्यटन ऐन–२०३५ मा संशोधन गरेको छ ।

यो ऐनले क्यासिनो सञ्चालन इजाजतपत्र दिन सकिने मापदण्डमा अन्तर्राष्ट्रिय दुरी ५ किलोमिटर तोकिएको छ । यसअघि यो दुरी तीन किलोमिटर मात्र थियो ।

क्यासिनो अब चारतारे र त्यसभन्दा माथिका होटलमा मात्र चलाउन पाइने छ । साथै, क्यासिनोले तोकेको सुरक्षा मापदण्ड पूरा गरेको हुनुपर्छ । संशोधित प्रावधान अनुसार नयाँ नियम सुरू हुनुअघि तीन किलोमिटर भित्र कानुन अनुसार इजाजत पत्र लिएकाको हकमा निरन्तर चलाउन पाइने छ ।

तर, चारतारे वा त्यसभन्दा माथिका होटलमा मात्र चलाउन पाइने मापदण्ड पूरा नभएका क्यासिनोले भने यो स्तर र मापदण्ड पूरा गरी ५ किलोमिटर भित्र स्थानान्तरण गर्नुपर्ने समेत नियम बनेको छ ।

स्थानान्तरणका लागि तीन वर्षको समय दिइने छ । पर्यटन ऐनमा यसअघि क्यासिनो सञ्चालनसँग सम्बन्धित प्रावधान थिएन । नियमावलीबाट क्यासिनो नियमन भइरहेको थियो । यसलाई परिच्छेदका रूपमा ऐनमा थप गरिएको छ ।

एक कम्पनीलाई एकभन्दा बढी क्यासिनो इजाजत नदिइने

नयाँ प्रावधान अनुसार अब एउटा कम्पनीले एकभन्दा बढी क्यासिनो सञ्चालनको इजाजत पाउने छैन । यसअघि एकभन्दा बढी क्यासिनो सञ्चालन गरेको भए २०८१ सालभित्र रोजेको कुनै एकमात्र क्यासिनो चलाउन अनुमति दिइने भएको छ ।

अन्य क्यासिनो समेत चलाउने भए २०८३ सालभित्र नयाँ कम्पनी स्थापना गरी छुट्टै चलाउन समेत दिइने भएको छ । यसरी क्यासिनो चलाउने कम्पनीले सरकारलाई तिर्नुपर्ने बक्यौता भने तिरेको हुनुपर्ने समेत नयाँ कानुनमा उल्लेख छ ।

क्यासिनोको इजाजतपत्रको अवधि एक वर्षको हुनेछ । इजाजतपत्र नवीकरण अवधि एक महिना बाँकी छँदै गर्नुपर्ने गरी प्रावधान राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?