+
+
यात्रा संस्मरण :

पुग्छन् खुमै, पुग्दैनन् कोर्चन

बाटोमा हामीलाई स्थानीय भरियाहरूले उछिन्थे। खच्चड र घोडाहरूले मान्छे र भारी बोकेर उकालो लागेको देखिन्थ्यो। हामी त ब्रोइलर भइसकेछौं, एकछिन हिंड्यो कि थाकिहाल्ने, गलिहाल्ने!

सन्दिप घिमिरे सन्दिप घिमिरे
२०८० माघ २७ गते ९:४९

अघिल्ला केही वर्षहरूमा पर्यटकीय गन्तव्य खुमै डाँडाको लोभलाग्दा भिडियोहरू टिकटकमा खुब भाइरल भए। विश्वमै चर्चित मार्दी हिमाल ट्रेलको पूर्वपट्टि पर्ने खुमै डाँडा आन्तरिक तथा बाह्य पर्यटकको लागि नयाँ अनि फरक गन्तव्य बन्दै आएको छ। माछापुच्छ्रे मोडल ट्रेक अन्तर्गत पर्ने यो रुट फरक यस किसिमले पनि छ कि मात्र ३६०० मिटरको कम उचाइबाटै पनि फाँटदेखि हिमालसम्मको यात्रा अनुभूति सँगाल्न सकिन्छ।

गएको हप्ता म र मेरा साथीहरू भएर खुमैसम्म जाने योजना बमोजिम काठमाडौंबाट पोखरातर्फ लागियो। हामी चार जना साथीहरू थियौं। अफिसको काम सकेर हामी जहाजबाट साँझपख पोखरा पुगियो र लेकसाइडमा रहेको होटल टुकीमा झोलाहरू बिसाएर बाहिर निस्कियौं।

लेकसाइड तुलनात्मक रूपमा काठमाडौंको ठमेलभन्दा सफा र शान्त लाग्छ मलाई। हामी बेलुकीपख लेकसाइडतिर टहलिंदै हिंड्यौं र केहीबेर पछि होटलमा आएर सुत्यौं।

भोलिपल्ट बिहान सबेरै उठियो। उठेर सबैले आ–आफ्नो झोला बोकेर होटलबाट चेकआउट गरियो। होटल अगाडि स्कर्पियोले कुरेर बसेको रहेछ। यसको तारतम्य सबै साथी मनिषले म्यानेज गरिदिएको थियो। हामीले ड्राइभर दाइलाई तातो चियामा थप १५ मिनेट जति भुलायौं। अनि लागियो हेम्जा हुँदै सेतीको तीरैतीर घाचोकतर्फ।

आज हाम्रो घुमाइसम्मको ट्रेक हुँदैथियो। करिब बिहानको ९ बजेतिर पोखराको उत्तरपट्टि पर्ने घाचोक बजार पुगियो। त्यहाँबाट माथि लाग्ने कच्ची बाटो मर्मत हुँदै गरेकाले हाम्रो यात्रा घाचोकबाटै सुरु गर्नुपर्ने भयो। जाँदै गर्दा बाटामा पर्ने टुसे, सरिपाखा जस्ता सुन्दर गाउँहरू हुँदै हामी चारै जना साथीहरू भरपुर ऊर्जा बोकेर उकालो हिंड्न सुरु गर्‍यौं।

जति माथि गयो वातावरण उति रमाइलो लाग्दै गयो। उत्तरपट्टिबाट माछापुच्छ्रे हिमालले शिर ठाडो पारेर हामीलाई नै हेरिरहेको हुन्थ्यो। हरेक पाइला पाइलामा गुराँसका छायाँहरू हुन्थे। हिमालको चिसो बोकेर जङ्गलको बतासले हामीलाई शितलता दिइरहेको थियो।

एकोहोरो उकालो चढिरहँदा शरीर गर्मीले थाकिसकेको हुन्थ्यो। त्यहींमाथि बोकेका गह्रुंगा झोलाहरूले ठाउँ पायो कि टुसुक्क बसिदिऊँ झैं लाग्थ्यो। बसेपछि त्यही झोलालाई सिरान हाली एकैछिन भएपनि निदाइदिऊँ झैं लाग्थ्यो।

बाटोमा हामीलाई स्थानीय भरियाहरूले उछिन्थे। खच्चड र घोडाहरूले मान्छे र भारी बोकेर उकालो लागेको देखिन्थ्यो। हामी त ब्रोइलर भइसकेछौं, एकछिन हिंड्यो कि थाकिहाल्ने, गलिहाल्ने! घनाजंगलको बीचबाट हामी उकालो लागिरहेका थियौं। न घामको उज्याल्यो भेटिन्थ्यो, न त खुला आकाश नै देखिन्थ्यो। जङ्गलै जङ्गल घना जङ्गल भित्रभित्रै हिंडिरहेका हुन्थ्यौं।

हामी २१६० मिटरको उचाइमा रहेको हिले कटेर २६४५ मिटरको उचाइमा रहेको चिचिम्ले भन्ने ठाउँ आइपुगेका थियौं। ओरालो लागेको मान्छे भेट्यो कि गोविन्दले सोधिहाल्थ्यो, ‘दाइ अब खुमै पुग्न कति घण्टा लाग्ला ?’ उनीहरूले हामीलाई सरसर्ती हेर्थे र भन्थे, ‘अरुलाई त अढाइ घण्टा हो तपैंहरूलाई चैं अझै ४ घण्टा लाग्ला!’

त्यो मान्छे सरासर ओरालो लागेपछि मैले उसको अनुमानमा थप दुई घण्टा थपिदिन्थें, किनकि हामीहरूको गति त्यस्तै सुस्त थियो।

बाटामा भेटिएका हरेक होटलहरू हाम्रा लागि बिसौनी चौतारी बने। बसेपछि मलाई चाहिं दूध चिया चाहिहाल्थ्यो। साथीहरू भने भोक अनुसारको भोजन खान्थे।

साँझ छिप्पिंदै थियो। हामी आजको बास बस्न खुमै पुग्न सकिंदैन भन्ने मलाई लागिरहेको थियो। साथीहरू हिंडाइले हायलकायल भइसकेका थिए। जति–जति दूरी छोटिन्थ्यो उति–उति ठाडा उकालाहरू आउन थालेका थिए।

साँझको ६ बजिसकेको थियो। माघको महिना लगभग रात नै परिसकेको थियो। माथिपट्टि मौदाने थुम्को देखियो। त्यही थुम्कामा एकछिन आराम गर्ने निधो गरियो। ढिलो–ढिलो गरी साथी सुजन पनि आइपुग्यो। सबै जना बसेर खाजा पानी खायौं। भर्खर अस्ताएको सूर्यले गर्दा वातावरण मनोरम देखिएको थियो। त्यो मनमोहक दृश्य र चियो हावाले हाम्रो थकान मेटाउँदै लग्यो। हामी फेरि हिंड्न सुरु गर्‍यौं।

करिब एक घण्टा हिंडेपछि एउटा होटल भेटियो। होटल रेस्ट क्याम्प रहेछ। आज हामी त्यहीं बास बस्ने निधो गरियो। त्यहाँबाट माथि डाँडामा बत्तीहरू बलेको देखिन्थ्यो। त्यही नै रहेछ खुमै डाँडा। तर हामी भने थप उकालो जान सक्ने स्थितिमा थिएनौं। एक त रात परिसकेको थियो भने अर्को हामी थकाइले आत्तिइसकेका थियौं। होटलवाला दाइको अनुसार त त्यहाँ पुग्न हामीलाई थप डेढ घण्टा लाग्ने रहेछ। साथमा न लाइट थियो न त गाइड। त्यो रात हामीले रेस्ट क्याम्पमै रेस्ट गरियो।

त्यसदिन हामी बसेको होटलमा पाहुनाहरू भनेकै हामी मात्रै भयौं। होटलको आतिथ्यता पनि पारिवारिक जस्तै भयो। होटलको दिदीले दिउँसो तलबाट उक्लँदा आफूहरूलाई भनेर ल्याएको लोकल भाले हामीलाई पनि भाग लगाइदिनुभयो। कफीको झोलदेखि कोदोको झोलसम्म उपलब्ध भयो।

हामीहरू चार जना मात्रै भएकाले उहाँहरू सँगै बसेर खाना खाइयो। सुत्नलाई कुनै कसर बाँकी नराखी हामीलाई पुग्दो सिरक र सिरानी उपलब्ध गराइदिनुभयो। भान्सामा नै ओछ्यान भएकाले कोठा न्यानो थियो। होटलको दाइ खुब फरासिलो हुनुहुँदोरहेछ। हामी जानी नजानी दोहोरी खेल्यौं, मादल बजाउँदै लोकभाकामा नै रमायौं।

‘१६ वर्षे उमेरैमा मैपनि झिल्के हुँदो हुँ…’ भन्दै मैले मादल बजाउने, साथी सुजनले स्वरमा स्वर मिलाउने। साथीहरू गोविन्द नाच्न र प्रमेस फोटो भिडियो खिच्न थाल्थे। दिउँसोभरिको थकान होटलको त्यो पारिवारिक बसाइले भुलाइदियो। हामी खाना खाईवरी राति १० बजेतिर सुत्यौं।

हामीहरू सुतेको देखेर होटलवाला दाइ आउनुभयो र नजिकै टेबुलमा टर्च लाट र थर्मसमा तातोपानी राखिदिनुभयो। दाइले भन्नुभयो, ‘भाइहरू सकेसम्म भोलि बिहानै ५ बजे नै उकालो लाग्नुहोला। माथि खुमै पुगेर सनराइज हेर्न भ्याउनुहुन्छ। अझ सक्नुहुन्छ भने त कोर्चन नै पुगे राम्रो हो, तर के गर्ने यहाँसम्म आएर पनि धेरैजसो मान्छे पुग्छन् खुमै, पुग्दैनन् कोर्चन।’

मलाई राति निद्रा पर्न सकिरहेको थिएन। साथीहरूलाई डिस्टर्ब होला भनेर नचली सुतिरहें। पटक्कै निद्रा परेन। गोविन्दले खोकेको आवाज आयो अनि सुस्तरी बोलाएँ, ‘ओई निदाछैनस् ?’ उसले भन्यो, ‘अहँ निद्रा लागेछैन हेर्न, अनि भनेसि तँ पनि निदाएनस् ?’ हामी बोलेको सुनेर प्रमेस पनि फ्रेस बोलीमा उठेर बोल्यो, ‘म पनि निदाएकै छैन यार!’ तीनै जना हाँसियो। साथी सुजन भने मेरो छेउमा घुरिरहेको थियो।

गोविन्दले भन्यो, ‘हामी ननिदाउनी, त्यो किन निदाउनी। ओई सन्दिप त्यसलाई पनि उठा।’ मैले सुजनलाई घचेट्दै उठाएँ, केटो पनि उठ्यो। घडी हेरेको २ बजेको रहेछ। मध्यराति हल्ला गर्न थाल्यौं। उता होटलवाला दाइले भाइहरू सुत्नुस् न भनेको आवाज पल्तिरको कोठाबाट सुनियो।

‘हामीलाई त निद्रा परेन दाइ’ भन्दै गोविन्द हाँस्न थाल्यो। निद्रा पिटिक्कै पर्ने छाँट थिएन। अब यसै बस्न भन्दा हिंडम् भन्ने निष्कर्ष निकालेर हामी करिब बिहान तीन बजेतिर लाइटको भरका बाटो छिचोल्दै उकालो लागियो।

हामीले हाम्रा गह्रुंगा झोला होटलमै छोडेर निस्केका थियौं। मैले भने सानो झोला पनि एक्स्ट्रा ल्याएको हुनाले मेरो अत्यावश्यक थोरै सामान म आफैंले बोकेको थिएँ। उता तीन जना साथीहरूले भने आलो पालो बोक्ने सहमतिमा सबैको सामान गोविन्दको झोलामा बोकेका थिए।

हिंडेको १० मिनेट जति त ठिकै थियो, त्यसपछि तीन जना साथीहरू बीच विवाद भयो, झोला अब कसले बोक्ने ? त्यसपछि कसकसले कति बेर बोक्ने भनेर। हिंड्दै गर्दा थकाइ लाग्न पनि सुरु हुँदैथियो।

म सबैभन्दा अगाडि थिएँ भने सबैभन्दा पछाडि गोविन्द थियो। टर्च लाइट भने सुजनले बोकेको थियो। म अघिअघि अरु पछिपछि थिए। यस्तैमा प्रमेस र सुजन एकआपसमा सुस्तरी कोर्चनसम्म नपुग्ने खुमैबाटै फर्कने भनी सल्लाह गरेको सुनें। अब रिसाउने पालो मेरो आयो।

हिजो राति सुत्नुअघि सबै कोर्चन पुग्ने सल्लाहमा सुतेको अहिले आएर जान्न पो भन्छन् बा भन्ने लाग्यो र मैले केही पनि नबोली रिसलाई भित्रै गुम्स्याएर सरासर फर्केर उनीहरूलाई नहेरी एक्लै अगाडि लागें।

केटाहरूले मलाई पख् पनि भनेनन्। म पनि आफ्नै सुरमा गएँ है पनि भनिनँ। शीतयुद्ध पर्‍यो हामीबीचमा। कोर्चन पुग्ने कि नपुगी खुमैबाटै फर्कने भन्ने विषयमा। म एक्लै भए पनि जसरी पनि कोर्चन पुगेरै फर्कन्छु भनेर फटाफट आकाशमा चम्किरहेका ताराहरूको उज्यालोको भरमा एक्लै उकालो लागें।

बाटो एकलास थियो। रात शून्य। माथि आकाशमा ताराहरू चम्किरहेका थिए भने पर कोसौं पर तल पोखरा चम्किरहे झैं देखिन्थ्यो। म आकाश र पातालको बीचबाट यात्रा गरिरहेछु जस्तो लागिरह्यो। मलाई माथि पुग्नु छ निकै माथि। लाग्थ्यो माथि स्वर्ग छ। जहाँ कोर्चन छ जसको शिर नै हिमालय पर्वत हो।

पृथ्वीको आफ्नै गति छ। कुनै देशमा सूर्य अस्ताउँदै छ भने मेरो देश उदाउँदो सूर्यको स्वागतमा पर्खिरहेको छ। म उही उदाउँदो सूर्योदयलाई कोर्चनको टुप्पोबाट स्वागत गर्नेछु। म यही अठोटका साथ साथीहरू छोडेर अगाडि धेरै अगाडि बढिसकेको छु।

आकाशका ताराहरू झरिसकेका छैनन्। बिहान राति सवा तीन बजेतिरबाट जब म साथीहरूसित छुट्टिएर हिंडें, त्यतिबेला साथमा लाइट नहुँदा आफूले चालिरहेको पाइला भन्दा केही पाइला अगाडि मात्र देखेको हुन्थे। छेउतिर कस्तो छ ? भीर छ कि झाडी ? खोल्सा छ कि डाँडा ? मेसो पाउन कठिन थियो। म खुमै डाँडा पुगेर चारैतिरका होटल परिसरहरूमा आँखा डुलाएँ। कोही उठेकै रहेनछन्। मभित्र थोरै डर र थोरै साहस थियो, मिश्रित।

खुमै डाँडा पुगिसकेपछि माथि कोर्चन कसरी र कुन बाटो पुग्न सकिन्छ मलाई केही थाहा थिएन। फेरि अँधेरी रात कायमै रहेकाले गोरेटोहरू पनि स्पष्ट देखिएका थिएनन्। मैले खुमैमा रहेका हरेक होटलका आँगन आँगन पुगेर हेरें। कोही भेटिएनन्। कुन बाटो कताबाट अगाडि बढ्ने भनी म अलमलिइरहेको थिएँ।

यस्तैमा केही पर टर्च लाइटहरू बलेको देखें। म कस्सिंदै बत्ती बलेतर्फ लागे। तीन जना केटाहरू लाइट बोकेर होटलबाट निस्किएका रहेछन्। बिहानको करिब ४:३० भएको थियो होला। मैले उनीहरूलाई सोधें ‘कोर्चन जाने कताबाट हो?’ उनीहरूले आफूहरू बीच मुखामुख गर्दै मतिर हेरे। एक जनाले भने, ‘यतैबाट माथि लाग्ने हो दाइ। तपाईं एक्लै हो र ?’

म उनीहरूको नजिक पुग्दै भनें, ‘हो हो म एक्लै हो, रेष्ट क्याम्पबाट आएको।’

उनीहरू मेरा नयाँ साथी बनिसकेका थिए। अर्को साथीले भन्यो, ‘दाइलाई मान्नै पर्छ यार राति राति एक्लै यहाँसम्म आइदिनी!’ म मुस्कुराएँ मात्रै।

तिनीहरू फेरि केही कुरामा अलमलिए जस्तो गरे। म भने नअलमलिकन बाटो थाहा भइहाल्यो अब सरासर नरोकिइकन अगाडिको गोरेटो पछ्याउँदै अगाडि बढ्न थालें। मलाई मनमा के थियो भने आजको सूर्योदयलाई म कोर्चनबाट स्वागत गर्नेछु।

केही पर पुगेपछि एउटा सानो थुम्का पार गर्ने बित्तिकै करिब १५-२० केटाकेटीहरू हात–हातमा टर्च लाइट बोकेर अल्लमलिरहेको भेटिए। मलाई धेरै आड भयो। डर हरायो, ऊर्जा भरिएर आयो।

एक खेप थकाइ सकिएर अर्को यात्रा सुरु हुन लागे जस्तो भयो। म त्यो भीडको नजिक पुगें। एकजनालाई सोधें, ‘तपाईंहरू किन अल्मलिएर रोकिएको ?’ एक जना भर्खरको केटाले मतिर लाइट बालेर हेर्दै भन्यो, ‘बाटोमा आइस जमेको रहेछ दाइ पार गर्नै कठिन छ चिप्लो भएर। दायाँ–बायाँ भीर पनि भएकाले छिचोल्न गाह्रो छ।’

म पनि त्यही भीडमा अलमलिएँ। केही बेरसम्म पनि बाटो नखुलेपछि विस्तारै भीड छिचोल्दै अगाडि पुगें। अगाडि रहेकाहरूले मलाई नियालेर हेरे। मैले पनि सबैलाई हेरें, कसैको अनुहार ठम्याउन सकिने खालको थिएन। मैले भने, ‘खै खै म ट्राई गर्छु एकपटक!’

एकजना भाइले भन्यो, ‘दाइ विस्तारै है हतार नगरिकन। बरफमा जुत्ता चिप्लिन्छ, ढुङ्गामाथि चैं नटेक्नुहोला।’

म मेरा आफ्ना साथीहरू छोडेर हिंडेको मान्छे। साथीहरू सुजन, गोविन्द, प्रमेस आउँदै होलान् कि हिंड्न नसकेर फर्किए होलान् ? मलाई केही जानकारी छैन।

अब यहाँ आइपुग्दा मेरा नयाँ साथीहरू बनेका छन्। पोखरा डब्लुआरसी कलेजमा इन्जिनियरिङ पढ्ने विद्यार्थीहरूको ग्रुप मेरो साथी हुन पुगेका छन्। अब यिनै मेरो पथप्रदर्शक र सहारा भए।

मैले हिउँ जमेर चिप्लो भएको बाटो क्रस गर्न भनी सुर कसें। अन्य साथीभाइहरूले मतिर लाइट फोकस गरे। सबैले मप्रति ठूलो आश र भरोसा राख्दै चनाखो भएर हेरे।

मैले विस्तारै आफ्नो जुत्ताले आइस जमेको ठाउँमा मात्रै के टेकेको थिएँ, लरर्र चिप्लिएँ। मैले च्याप्प छेउको घाँस समाएँ। बाह्र पन्ध्र वटा टर्च लाइट ममाथि फोकस थियो। सबैले सतर्क मुद्रामा मलाई हेरे। मैले उनीहरूलाई सबै ठिक छ, नडराउ भने। सबैको आश ममाथि थियो।

मैले विस्तारै ट्रेकिङ स्टिकलाई जमेको आइसमा कोप्दै जुत्ताहरूले माटाको भित्ताको काप-कापमा टेक्दै छेउमा भेटिएका घाँस र झारहरूलाई समाउँदै विस्तारै विस्तारै बसी–बसी अघि सरें।

अरुहरू पनि विस्तारै मेरो पछिपछि मैले कहाँ कहाँ टेकें र कसरी अगाडि बढिरहेको छु विचार गर्दै मेरो पछि लागे। मृत्युरेखा जस्तै गोरेटो पार गर्न करिब दश मिनेट जति लाग्यो। मैले जब अन्तिम गल्छी पार गरें, पारिबाट सबैले ‘क्रस-क्रस’ भन्दै चिच्याउन थाले। रमाउन थाले।

त्यसपछि सबैले विस्तारै त्यो बाटो क्रस गरे। मैले जहाँ जहाँ टेकें र जुन जुन झारपात समाएँ सबैले त्यही त्यही झार समाउँदै बाटो पार गरे। म त्यहाँ भएका सबैका लागि साहसी भएँ, सबैका लागि पथप्रदर्शक पनि। अब म सबैको दाइ भएँ।

त्यसपछि त्यति साह्रो अप्ठेरो बाटो कतै आएन। विस्तारै आकाशका ताराहरू पातला हुँदै गएका थिए। हाम्रा अगाडितिर धमिला सेता अटल हिमालहरू देखिन थालेका थिए। माथिबाट तल हेर्दा तीस चालीस वटा टर्च लाइट बलेका ट्रेकरहरूको लावालस्कर देखिन्थ्यो।

कोर्चनको नाङ्गो पहाड निकै ठाडो थियो। खुमै कटेर उकालो लागेको करिब डेढ घण्टा जतिमा म समुद्री सतहबाट ३६८२ मिटरको उचाइमा रहेको कोर्चन हाइटमा उभिएँ। आनन्द लाग्यो।

सीधा अगाडि माछापुच्छ्रे हिमाल उभिएको देखें। सायद उसले पनि उसको अगाडि म उभिएको देख्यो होला। फरक यत्ति थियो कि यो कुरा मैले महसुस गर्न सकें भने उसले सकेन।

सूर्योदय हुनुपूर्व बिहान ६ बजेतिर त्यहाँ करिब २२-२३ जना जति मान्छेहरू जम्मा भइसकेका थिए। कोही सूर्योदय रेकर्ड गर्न क्यामेरा सेट गर्दै थिए भने कोही रमाउँदै हिउँ खेल्न सुरु गरिसकेका थिए। म भने केही परपट्टि भीडबाट एक्लो भएर एक टकले अटल हिमाली दृश्य र त्यहाँको प्राकृतिक सुन्दरतालाई नजिकबाट नियालिरहेको थिएँ।

 

फराकिलो ढुङ्गामाथि बसेर माछापुच्छ्रेको शिखरमा देखिने बाघको आकृतिलाई नजिकबाट केलाइरहेको थिएँ। म एकसुरमा हिमाल र त्यहाँबाट बहिरहेको चिसो हावामा हराइरहेको थिएँ। यत्तिकैमा कसैले मलाई पछाडिबाट घचेट्यो।

फर्केर हेरेको गोविन्द रहेछ। साथी गोविन्दलाई कोर्चनको शिखरमा देख्दा निकै खुसी भएँ म। उसले ‘मलाई किन छोडेर आइस् ? किन एक्लै हिंडिस्’ भन्दै गाली गर्दै त्यहाँ जम्मा भएका मान्छेहरूको बीच भीडमा लगेर माफी माग्न लगायो।

मैलै हाँस्दै सबैको सामु गोविन्दसित माफी मागें। गोविन्दले पोखेको रिस र आवेग भित्र झल्कने हामीबीचको मित्रता देखेर अरुहरू पनि रमाइलो मान्दै हाँस्न थालें।

सूर्योदयको समय भयो। सूर्यको पहिलो किरण आँखै अगाडि उभिएका माछापुच्छ्रे, अन्नपूर्ण हिमालहरूमा पोखिन थाल्यो। सेता हिमालहरू राता हुँदै आए। पूर्वपट्टिको आकाशमा बादलका रेखाहरू रातो भएर फिजारिंदै आयो।

विस्तारै त्यही सुनौला रंगीन बादलका फाप्रेहरूबाट कलिलो रातो पिण्डरूपी सूर्यले नयाँ बिहानीको संकेत स्वरूप जन्म लिंदै गयो। सूर्यले आफ्ना किरणहरू हिमालहरूमा फिजाउँदै उठ्यो। हिमालहरू सूर्यको किरणसँगै सुनौला रंगीन बुट्टाहरूमा सजिंदै आए। हामी सबै त्यो रङ्गीन अद्भुत दृश्यले मन्त्रमुग्ध भएका थियौं। कोर्चन साँच्चिकै कोर्चन रहेछ।

त्यहाँको त्यो सुन्दर ३६० डिग्री भ्यू देखेर मेरो मनमा पुनः प्रश्न जन्मियो, ‘आखिर किन माछापुच्छ्रे मोडल ट्रेकमा आएका अधिकांश पदयात्रीहरू पुग्छन् खुमै, पुग्दैनन् कोर्चन ?’

           

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?