+
+

एसीसी वुमन्स प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते ९:५२

२८ माघ, काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा भुटानलाई ८ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको छ ।

लगातार दोस्रो जितले नेपाल समूह डी मा शीर्षस्थानमा उक्लिदै क्वाटरफाइनल यात्रा लगभग पक्कापक्की बनाएको छ ।

जितको लागि ६६ रनको सामान्य लक्ष्य नेपालले ११.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍‍यो । नेपालकी ओपनर सीता रानामगरले ३७ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३२ रनमा नट आउट रहिन् । रुविना क्षेत्री २४ बलमा १ चौका र १ छक्कासहित १७ रनमा अविजित रहिन् ।

ओपनर कविता कुँवर ५ र कप्तान इन्दु बर्मा १ रनमा आउट भइन् । भुटानकी अन्जु गुरुङ र अन्जली घलेले एक/एक विकेट लिए ।

त्यसअघि बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ६५ रन बनाएको थियो । भुटानकी ओपनर न्गावांग चोडेनले ५० बलमा १ चौकासहित सर्वाधिक २५ रन बनाएकी थिइन् ।

छिरिङ जान्ग्मो ३५ बलमा १ चौकासहित १६ रनमा आउट भइन् । सीता रानामगरको फुलटस बलमा अघि बढेर सट खेल्ने धुनमा काजोल श्रेष्ठबाट स्टम्पिङ आउट भएकी थिइन् । कप्तान तथा विकेटकिपर डेचन वान्ग्मो २१ बलमा ३ चौकासहित १७ रन बनाउन सकेकी थिइन् ।

नेपालको जितमा कविता कुँवर, इन्दु बर्मा, सीता रानामगर र कविता जोशीले १-१ विकेट लिए । नेपालले पहिलो खेलमा हङकङलाई ८ विकेटले हराएको थियो । नेपालले अन्तिम खेल मंगलबार माल्दिभ्ससँग खेल्नेछ ।

१६ सहभागी टोली चार समूहमा छन् । हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । सेमिफाइनल हुँदै फाइनलमा पुग्ने दुई टोलीले यसै वर्ष हुने वुमन्स एसिया कप खेल्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?