+
+
विचार :

माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले जगाएका आशा र अनुत्तरित प्रश्न

केन्द्रीय समितिको बैठकले केही आशा थपिदिएको छ तर केही प्रश्नहरू अनुत्तरित नै छन् । तल कोही बस्न नमान्ने, माथि कोचाकोच गर्ने । यो विरोधाभाष अन्त्य जरुरी छ ।

निर्मल आचार्य निर्मल आचार्य
२०८० फागुन १ गते १३:२१

२०७९ साउन १७ देखि २१ सम्म माओवादी केन्द्रको आठौं केन्द्रीय समितिको चौथो पूर्ण बैठक बसेको थियो । विभिन्न अन्योल र निराशाको बिचबाट गुज्रिरहेको माओवादी आन्दोलनमा कहिं न कहिं ब्रेक थ्रुको जरुरी थियो । पछिल्लो सरकार गठन र यसले चालेका सु–शासनको अभियानको रापतापका बीचमा सञ्चालित चौथो बैठकले केही रक्तसञ्चार गर्यो ।

जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको नाममा विशेष अभियान सुरु गर्ने दूरगामी निर्णय भयो । तर पनि अभियानको सफलताको विषयमा सबै आश्वस्त नभइसकेको अवस्था थियो । अध्यक्ष प्रचण्ड सहित सबै केन्द्रीय तहका नेतृत्व वडा स्तरमा पुग्ने निर्णयलाई अविश्वसनीय मानियो । फेरि पनि अध्यक्ष कमरेडको स्पिरिटमा सिङ्गो केन्द्रीय समिति पूर्ण सहमत भयो । सिंगो हलले अभियानलाई पूर्णतः सफल पार्ने प्रतिबद्धता व्यक्त गर्यो ।

तयारीको काम पूरा गरी गत भदौ १६ मा देशव्यापी सबै ६७४३ वडामा अभियान उदघाटन गर्ने लक्ष्य लिइयो । सबै वडामा नभए पनि बहुमत वडामा अभियानको उत्साहजनक उद्घाटन भयो । अध्यक्ष प्रचण्ड नै वडामा सहभागी भई अभियानमा सहभागी हुँदा देशव्यापी रूपमा एउटा सकारात्मक ऊर्जा पैदा भयो । अभियान सफलताको मियो गाडियो । देशव्यापी उत्साहको लहर पैदा भयो ।

अभियानको बीचमा नेपाली समाजमा मनाइने महत्वपूर्ण चाडपर्व परे । समय कम हुने महसुस गरी अभियानमा एक महिना थप गरियो । केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीलाई अन्तरजिल्ला र प्रदेश सदस्यहरूलाई अन्तर पालिकामा जिम्मेवारी दिइएको अभियानले देश र प्रवासमा समेत ठूलै हलचल ल्याइदियो ।

नेपाली समाजमा जबर्जस्त रूपमा स्थापित माओवादी सकियो, बिग्रियो, हुँदैन भन्ने जस्ता भाष्यका बीचमा अभियान अगाडि बढ्यो । बिस्तारै टोल बस्तीमा बसेका कार्यकर्तामा उत्साह पैदा हुन थाल्यो ।

पार्टी संगठनको चुस्तताको लागि विधान अधिवेशनको आधार तयार भएको छ र त्यो जनयुद्ध दिवस फागुन १ गतेकै दिन सुरु  भएको छ ।

अभियान रफ्तारमा बढ्दै गर्दा एकातिर सरकारले चालेका सु–शासनका कदमले उत्साह थप्यो भने अर्कोतिर विभिन्न अभियोग र आरोपमा माओवादी आन्दोलनमा सहभागी नेता कार्यकर्ताको नाम जोडिंदा बीचमा केही शिथिलता आयो ।

यो विरोधाभाष अवस्थालाई साम्य पारी जिल्लामा अभियानलाई निरन्तर दिन निकै नै अप्ठ्यारो परेको कुरा यो पङ्क्तिकारले पनि प्युठान जिल्लाको अभियान इञ्चार्जको रूपमा खट्दै गर्दा महसुस गरेको हो । फेरि विभिन्न उपायले माहोल बनाउँदै अभियान अगाडि बढ्यो ।

अभियानका क्रममा मूलतः चार प्रवृत्ति देखिए । पहिलो, अभियानमा दिलोज्यानले खट्ने, दोस्रो अधा मनले खट्ने, तेस्रो खट्दै नखट्ने र चौथो अभियानलाई सक्रिय असहयोग गर्ने । यो अवस्थाको बीचबाट अभियान मूलभूत रूपमा सफल भयो । अभयिानले एकातिर माओवादी सकिएको होइन फेरि जाग्यो भन्ने सन्देश गएको छ भने पार्टीभित्र खट्ने र नखट्ने नेता–कार्यकर्ताको पहिचान भएको छ ।

अभियानले पार्टी निर्माणको नयाँ आधार तयार बनाएको छ । समाजवादका लागि नयाँ आन्दोलनको अभियानको आधार तयार भएको छ भने विचार संश्लेषणको लागि विशेष महाधिवेशनको मजबुत आधार पनि तयार भएको छ । पार्टी संगठनको चुस्तताको लागि विधान अधिवेशनको आधार तयार भएको छ र त्यो जनयुद्ध दिवस फागुन १ गतेकै दिन सुरु भएको छ ।

शान्ति प्रक्रियामा आएदेखि माओवादीले एकअर्कालाई आरोप र प्रत्यारोप लगाउने काम निकै नै भयो । माओवादीहरू आधुनिक यदुवंशी जस्ता देखिए । अहिले अध्यक्ष प्रचण्डले आह्वान गर्नुभएको छ कि आरोप प्रत्यारोप मात्र होइन, गहन छलफल गरौं र काम पनि गरौं । लामो समयपछि गम्भीर छलफल र काम सँगै गर्ने परिपाटीको सुरुवात भएको छ । यो निकै नै सुखद पक्ष हो ।

काम र कुरा सँगसँगै अघि बढाउने बलियो आधार पाँचौं केन्द्रीय कमिटीको निम्न निर्णयलाई लिन सकिन्छ । यो निर्णय माओवादी आन्दोलनमा अर्को कोशेढुंगा सावित हुनेछ ।

अभियानमा १०० प्रतिशत खट्नेलाई बधाई पत्र, ६० भन्दा बढी ९० प्रतिशतसम्म खट्नेलाई धन्यवाद पत्र, १५ देखि ६० प्रतिशत खट्नेलाई सतर्कता पत्र । १५ प्रतिशतभन्दा कम खट्नेलाई– स्पष्टीकरण पत्र र कारबाही । यो निर्णय पक्कै पनि दूरगामी महत्वको हुनेछ ।

माघ २८ र २९ गते काठमाडौंमा बसेको केन्द्रीय समितिको पाँचौं पूर्ण बैठकले अभियानलाई राजनैतिक, सांगठनिक र वैचारिक रूपमा निरन्तरता दिने पनि निर्णय गरेको छ । राजनीतिक रूपमा तराई मधेस केन्द्रित अभियान, हिमाल–पहाड–तराई जोड्ने अभियान, ठूला सहरहरूमा विशेष सम्बन्ध सुधार अभियान सन्चालन गर्ने निर्णय भएको छ भने विचार संश्लेषणको अभियानका लागि सेल, टोल, वडा, पालिका सम्मेलन गर्दै समयमै विशेष महाधिवेशन गर्ने निर्णय भएको छ ।

अभियायानको मूल स्पिरिट बहसबाट बहससम्म होइन, मर्यादित छलफल गर्दै काम पनि समयमै सम्पन्न गर्ने भन्ने रहेको छ । अभियानको लक्ष एक्लै चुनाव लड्ने तयारी र समाजवादको आधार तयार पार्ने भन्ने रहेको छ ।

पछिल्लो समयमा माओवादी आन्दोलनको मूल समस्याको रूपमा संगठनात्मक समस्या देखापर्न आएको छ । कमिटीहरूको संख्या, कार्यक्षेत्र, जिम्मेवारी, मूल्याङ्कन, पुरस्कार र दण्डको विधि पूरै हराएको छ । यद्यपि जनयुद्ध दिवसको पूर्वसन्ध्यामा बसेको केन्द्रीय समितिको पाँचौं पूर्ण बैठकले केही आशा थपिदिएको छ । तर पनि केही प्रश्नहरू अनुत्तरित नै छन् ।

तल कोही बस्न नमान्ने, माथि फेरि कोचाकोच गर्ने । यो विरोधाभाष अन्त्य गर्न जरुरी छ । सेल, टोल, वडा, पालिका, जिल्ला, प्रदेश हुँदै केन्द्रीय महाधिवेशनमा जाँदा पुनः पुरानो रोग उब्जने छ । सबैले प्रदेश र केन्द्र ताक्ने । नपाउँदा वा निर्वाचित हुन नसक्दा पुनः भागडौड मच्चिने समस्या आउने छ ।

यसको समाधानका लागि कि त विधानमा किटान भएको संख्या अनुसार आयोजक कमिटी बनाउने, नभए माथिबाट अधिवेशन गर्दै तल जाने । यदि यसो गर्न सकिएन भने पुरानै रोग बल्झिने छ र फेरि विधान मिच्ने प्रक्रिया सुरु हुनेछ । यदि यसो भयो भने यो दुर्भाग्यपूर्ण हुनेछ ।

आशा गरौं, उचित निकाससहित वस्तुवादी निर्णय हुनेछ । संगठनमा परेको यो मस्के गाँठोलाई सही तरिकाले फुकाउन सके माओवादीलाई कसैले रोक्न सक्दैन । अन्यथा यही संगठनात्मक मस्के गाँठो गलपासोमा रूपान्तरण हुनेछ र माओवादीलाई कसैले बचाउन सक्ने छैन । विधान अधिवेशनमा यो यक्ष प्रश्नको जवाफ खोज्न सके मात्र माओवादीकै नेतृत्वमा समाजवादको यात्रा सम्भव हुनसक्छ ।

(आचार्य माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?