१६ चैत, हुम्ला । केही दिनअघि चंखेली गाउँपालिका–२ का अक नेपाली भिरबाट लडेर गम्भीर घाइते भए । उनलाई उपचारका लागि जिल्ला अस्पताल हुम्ला पुर्याइयो । तर अस्पतालले सिधै यहाँ उपचार सम्भव नहुने भन्दै अन्य अस्पतालका लागि रिफर गरिदियो । सुर्खेत लैजान आफन्तले सिमकोट विमानस्थल पुर्याए, तर विमानस्थलमै उनको प्राण त्याग गरे ।
चंखेली–४ की ३४ वर्षीया बास्ना शाहीलाई सुत्केरी बेथाले च्याप्दा परिवारले तत्कालै हुम्ला अस्पताल पुर्याए । हुम्ला अस्पतालले उनलाई पनि सिधै प्रादेशिक अस्पताल सुर्खेतमा रेफर गरिदियो ।
सिमकोट गाउँपालिका–४ बुराउँसेकी २५ वर्षीय अस्मिता बुढा (लामा) लाई पनि सुत्केरीका लागि जिल्ला अस्पताल हुम्ला पुर्याइँदा त्यसैगरी प्रादेशिक अस्पताल सुर्खेत रेफर गरियो ।
अस्पताल परिसरमा भेटिएकी सिमकोट–५ की बेलु रोकाया ५ वर्षीय छोराको उपचारमा आएकी थिइन् । तर, उपचार गर्ने चिकित्सक थिएनन् । छोराको स्वास्थ्यलाई लिएर उनी चिन्तित थिइन् । नर्सको भरमा उपचार भइहरेको थियो ।
सिमकोट गाउँपालिका –७ डाडाँफयाकी लालपुरी सुनारको छोरी बिरामी परिन् । उनी २ घण्टा पैदल हिँडेर जिल्ला अस्पताल हुम्ला पुगिन् । छोरीको स्वास्थ्य परीक्षण त भयो । तर रिपोर्ट त्यही दिन अस्पतालले दिएन ।
कर्णालीको पनि विकट हिमाली जिल्ला हुम्लाको जिल्ला अस्पतालका यी केही प्रतिनिधि घटना मात्रै हुन् । जिल्लाभरमै उपचारका लागि एउटै भएपनि यही एक जिल्ला अस्पताल त छ, तर यी माथिका उदाहरण जस्तै उपचार भने छैन ।
बिरामी अस्पताल आउँदा उपचार लगभग नपाउने अवस्था त छ नै, त्यसअघि नै रिफर हुनका लागि तयार पनि भएरै आउनुपर्ने अवस्था छ । अस्पतालमा न सहजै डाक्टर भेटिन्छन्, न पर्याप्त औषधि उपकरण ।
१५ शैयाको यो अस्पतालमा कहिल्यै दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक हुँदैनन्, जसले हुम्लेली जनताले उपचार पाउने सपना अधुरै रहने गरेको छ ।
जनस्वास्थ्य सेवा कार्यालय तथा अस्पतालका प्रमुख डा. उमाकान्त तिवारीका अनुसार अस्पतालमा ठुलै संख्यामा चिकित्सकीय दरबन्दी छ । उनका अनुसार नवौँ तहका विशेषज्ञ चिकित्सकका मात्रै तीनवटा दरबन्दी छन् । जसमा एक जना स्त्री तथा प्रसुती रोग विशेषज्ञ(गाइनालोजिस्ट), एकजना जनरल सर्जन र एकजना नशा तथा हाडजोर्नी रोग (अर्थोपेडिक्स) का दरबन्दी छन् । तर, यी तीनवटै दरबन्दी अहिले रिक्त छन् ।
यस्तै चारजना मेडिकल अधिकृत(आठौँ तह)का दरबन्दी छन् । सोही मध्येको एक आफू रहेको अस्पताल प्रमुख डा. तिवारीले बताए । उनले अध्ययन भने एमडीजीबी नै पूरा गरेका छन् ।
अन्य तीन जनाको पदपूर्ति भएपनि उनीहरू एकजना अध्ययन बिदा र एकजना सुत्केरी बिदामा छन् । अर्का एकजना पनि अहिले अस्पतालमा छैनन् ।
यस्तै अस्पतालमा एक जना मेडिकल अधिकृत निक साइमन नामक संस्थाबाट स्वयंसेवी र दुई जना छात्रवृत्ति करारका चिकित्सक छन् ।
एक जना डेन्टल सर्जन, ३ जना अहेब, ४ जना जनरल नर्सिङसहितका दरबन्दी पनि अस्पतालमा छन् । तर सधैँजसो यो दरबन्दी पूर्ण हुँदैन । कतिपय अवस्थामा एकजना पनि चिकित्सक अस्पतालमा नहुने अवस्था देखिने गरेको छ ।
अस्पताल प्रमुख डा. तिवारीले अस्पतालमा जनशक्तिको अभाव रहेको बताए । ‘विशेषज्ञ चिकित्सक त आउनै मान्नुहुन्न । यति दुर्गममा म मात्रै बसिरहेको छु,’ उनले भने, ‘अन्य साथीहरू पनि विभिन्न कामका सिलसिलामा आउनेजाने भइरहन्छ । जसले सेवामा कठिनाइ छ ।’
यद्यपि अस्पतालले दैनिक रूपमा इमर्जेन्सी सेवा, ल्याब सेवा, एक्सरे सेवा, भिडियो एक्सेरदेखि जिल्लामै सुत्केरी गराउने व्यवस्था मिलाउँदै आएको दाबी गरे ।
प्रतिक्रिया 4