+
+

मौद्रिक नीति समीक्षाले साथ नदिँदा सेयर बजारमा उच्च गिरावट

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १ गते १५:२८

१ फागुन, काठमाडौं । मंगलबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३०.५६ अंक घटेको हो । सो अंकको कमीपछि नेप्से २०७० अंकमा कायम भएको छ । मौद्रिक नीतिको समीक्षाले बजारका लागि सकारात्मक विषय समेट्ने आश गरेका लगानीकर्ताले सो अनुरुप नआउँदा मंगलबार बिक्री चाप बढ्न गयो ।

मौद्रिक नीति समीक्षाले सेयर धितो कर्जा रकमको सीमामा केही सहजता ल्याउन सक्ने, ठूला कर्जामा पनि जोखिमभार घट्न सक्ने कतिपयको अनुमान थियो । हाल व्यक्तिगत लगानीकर्ताले बैंकहरुबाट १५ करोडसम्म मात्रै सेयर कर्जा पाउँछन् भने ठूलो सेयर कर्जाको जोखिमभार १२५ प्रतिशत छ ।

मौद्रिक नीति समीक्षाले ती विषयलाई केही पनि सम्बोधन गरेन । अर्कोतर्फ मौद्रिक नीति समीक्षाले झन् संस्थाहरूले बढी ब्याज पाउनेगरी नीतिगत व्यवस्था गरिदियो ।

व्यक्तिगत मुद्दतीमा भन्दा संस्थागतलाई २ प्रतिशत विन्दु कम ब्याज दिनुपर्ने व्यवस्था रहेकोमा सोमबारको मौद्रिक नीतिले यस्तो ब्याज अन्तर १ प्रतिशत विन्दुमा झारिदियो । यसले गर्दा संस्थाहरूले बैंकमा मुद्दती निक्षेप जम्मा गर्दा धेरै ब्याज पाउने वातावरण बनेको छ ।

बैंकहरुले सोमबार बिहान ब्याज घटाएर सूचना सार्वजनिक गरेपछि सो दिन बजार १५ अंक बढेको थियो । बैंकहरुले ब्याजदर घटाउँदै गए पनि राष्ट्र बैंकको मौद्रिक नीतिले ब्याजदर घटाउन साथ नदिएपछि सेयर बजारमा प्रभाव देखिएको हो । सोमबार साँझ आएको मौद्रिक नीतिले नीतिगत दरहरुलाई पनि यथावत राखिदियो ।

मंगलबार बजारमा सबै क्षेत्रका सूचकहरु घटेका छन् । बैंकिङ १.०९, विकास बैंक २.४०, फाइनान्स २.२०, होटल तथा पर्यटन १.८०, हाइड्रोपावर ०.५८, लगानी २.०६, जीवन बीमा १.७५, उत्पादन १.०३, माइक्रोफाइनान्स १.५५, निर्जीवन बीमा १.८०, अन्य २.२७ र ब्यापार समूह ०.५२ प्रतिशत घटे ।

कुल ४० कम्पनीको मूल्य बढ्दा २०३ को घट्यो भने ५ को स्थिर रह्यो । यस दिन बोटलर्स नेपाल, समाज लघुवित्त, सुपरमाइ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।
जोशी हाइड्रोपावरको ८, मैलुङखोला जलविद्युत्को ६.८८, दोर्दीखोलाको ६.७ प्रतिशत मूल्य बढ्यो । गुराँस लघुवित्तको ९.७, कर्णाली विकास बैंकको ५.८, सिर्जनशील लघुवित्तको ४.९२ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, सोनापुर सिमेन्ट, तमोर, सगरमाथा जलविद्युत् कम्पनी र जोशी हाइड्रोपावर क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?