+
+

नेपालको खेल छाडेर दीपेन्द्रलाई फ्रेञ्चाइज लिग खेल्न मोन्टीले दिएको छुट

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३ गते २०:१०

३ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को पहिलो खेल दीपेन्द्रले गुमाए । लिग २ को टोलीमा भए पनि उनी फ्रेञ्चाइज लिग खेल्न युएई गएका कारण नामिबियासँगको खेलमा उपस्थित भएनन् ।

उनी गल्फ जायन्ट्सबाट इन्टरनेशल लिग टी–२० क्रिकेट प्रतियोगिता खेल्न शुक्रबार युएई गएका थिए । फाइनलमा पुग्न आज बिहीबार राति गल्फले दुबई क्यापिटल्ससँग खेल्दैछ ।

दीपेन्द्रको टोली फाइनलमा पुगेको खण्डमा शनिबार नेदरल्यान्ड्सविरुद्धको खेल पनि गुमाउने छन् । पराजित भएको खण्डमा भने नेदरल्यान्ड्सविरुद्ध दीपेन्द्र टोलीमा उपलब्ध हुनेछन् । क्यानडासँगको तीन ओडीआई खेलको सिरिजमा भने दीपेन्द्रलाई नेपालले विश्राम दिएको थियो ।

विश्वकप लिग २ को खेल छाडेर युएई जाने निर्णय दीपेन्द्र एक्लैको होइन । मोन्टी देशाईंको समर्थनमा नेपाल क्रिकेट संघले नै उनलाई युएई जान सहमति दिएको थियो ।

आगामी जुनमा अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकपलाई लक्ष्य बनाएर देशाईले दीपेन्द्रलाई त्यो अवसर दिएको पारस बताउँछन् ।

‘कोचले के भन्नुभयो भने यो वर्ष हामी विश्वकप खेल्दैछौं । उसलाई अन्तर्राष्ट्रिय एक्सपोजरको यो अवसर एकदमै आवश्यक हो । ५० ओभरमा अहिले दीपेन्द्र हाम्रो महत्वपूर्ण खेलाडी हो । तर अरु खेलाडीमा पनि ब्याक गर्नुपर्छ । मौका दिनुपर्छ । एउटै खेलाडीमा निर्भर हुनु हुँदैन’, पारसले मोन्टीको भनाइ सुनाए ।

टिम व्यवस्थापनले र विशेषत मुख्य प्रशिक्षकले नै अरु खेलाडीमा पनि विश्वास गरेकाले दीपेन्द्रलाई युएई जान दिएको पारसले स्पष्ट पारे ।

‘लिग–२ महत्वपूर्ण सिरिज हो । तर अहिले हामी सुरुवात गर्दै छौं । अहिले हामीलाई धेरै जोखिम छैन,’ पारसले भने, ‘जोखिम छ भने पनि त्यो टिम म्यानेजमेन्टले हामी अरु खेलाडीहरुमा पनि विश्वास गर्छौ्र भनेर भनेपछि यो निर्णय लिएका हौं ।’

मोन्टीले पूर्ण जिम्मेवारी लिन्छु भनेपछि अप्रुभल लिएर दीपेन्द्र गएको पारस बताउँछन् ।

गल्फ जायन्ट्सबाट लिग खेलेका नामिबियाका कप्तान जेराल्ड इरास्मस राष्ट्रिय ड्युटीमा फर्किदै बिहीबार नेपाललाई ४ विकेटले हराउन उत्कृष्ट बलिङ गरे । प्रमुख ब्याटर भए पनि चोभार एन्डबाट पार्टटाइम अफस्पिन गर्दै इरास्मसले ८.१ ओभरमा २८ रन खर्चेर ५ विकेट लिएका थिए ।

टस हारेर पहिला ब्याटिङ थालेको नेपाल ४१.१ ओभरमा १३२ रनमा अल आउट भएको थियो । जुन योगफल घरेलु मैदानमा नेपालको ओडीआईमा बनाएको हालसम्मकै कम थियो । यसअघि घरेलु मैदानमा नेपालको कम योगफल ओमानसँग २०२० र युएईसँग २०२२ मा १७९ रन थियो । टियु क्रिकेट मैदानमा नेपालको २०२२ नोभेम्बरदेखि लगातार १५ खेलको जितको यात्रा पनि टुगिएको थियो ।

जेराल्ड नामिबियाको टोलीमा फर्किएपछि ्र उनको स्थान लिन दीपेन्द युएई गएको बुझिएको छ । तर गल्फले आधिकारिक रुपमा पुष्टि गरेको छैन । दीपेन्द्र सम्मिलित गल्फमा वेस्टइन्डिजका शिम्रन हेटमायर, इंग्ल्यान्डका जेम्स भिन्स, क्रिस जोर्डन, जेमी ओभरटन र अष्ट्रेलियाका क्रिस लिन जस्ता खेलाडी छन् ।

लिग चरणको अन्तिम खेल आबुधाबी नाइट राइडर्स र पहिलो क्वालिफायर एमआई इमिरेट्सविरुद्ध दीपेन्द्रले खेल्ने मौका भने पाएनन् ।

गत अक्टोबर ३० मा आईसीसी टी–२० विश्वकप एसिया क्वालिफायरमा सिंगापुरविरुद्ध अभ्यास गर्नेक्रममा दीपेन्द्रको खुट्टामा चोट लागेको थियो । दीपेन्द्रले कम्तिमा एक महिना खेल गुमाउने बुझिएको थियो ।
तर विश्वकपमा पुग्न निर्णायक सेमिफाइनलमा युएईविरुद्ध नोभेम्बर ३ मा सबैलाई आश्चर्य पार्दै आफ्नो करिअरनै जोखिममा पारेर खेलेका थिए । नेपालका म्याच विनर अलराउन्डर दीपेन्द्र खेल्दा विपक्षी पनि दबाबमा पर्ने गर्दछन् ।

दीपेन्द्र नहुँदा टोलीमा सन्तुलन नभएको भनाइलाई मोन्टी अस्वीकार गर्दछन् । ‘यसमा कुरामा म सहमत छैन । ओडीआई खेलमा ब्याटिङ ८–९ नम्बरसम्म छ । सन्तुलनमा कुनै प्रश्न छैन,’ नामिबियासँगको खेल हारेपछि मोन्टीले भने, ‘सुरुवाती ३० बल योजना अनुसार गएन । गएको भए फरक हुनसक्थ्यो । १३० को लक्ष्य रक्षा गर्दा ६ विकेट उनीहरुको गुमेको थियो । यदि मध्यक्रममा दुई महत्वपूर्ण साझेदारी गरेको भए २३०÷४० को स्कोरमा पुग्न सक्थ्यौं । त्यो आज विजयी योगफल हुनसक्थ्यो ।’

दीपेन्द्रको स्थानमा नेपालले अर्का अफस्पिन अलराउन्डर पवन सर्राफलाई मौका दिएको छ । क्यानडासँगको सुरुवाती दुई खेलमा पवनले १५ र १४ रन बनाउँदा १–१ विकेट लिएका थिए ।

क्यानडासँगको तेस्रो खेलमा भीम सार्की र अनिलको शतकमा नेपाल ९ विकेटले विजयी भएपछि पवन ब्याटिङमा जानु परेको थिएन ।

पवनले नामिबियासँग १२ रन बनाउँदा ७ ओभरमा २२ रन खर्चेर विकेट लिन सकेका थिएनन् ।

नेपालले दोस्रो खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । त्यसपछि बुधबार नामिबिया र त्यसको ४ दिनपछि आइतबार नेदरल्यान्ड्ससँग खेल्नेछ । त्यसको एक दिनपछि नेपालले त्रिकोणात्मक ओडीआई सिरिज यिनै दुई टोलीसँग खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?